स्वास्थ्य संस्थामा औषधि अभाव : बिरामी आउँछन्, औषधि नपाएर फर्किन्छन्

file photo

सल्यान २९, असार ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिको चरम अभाव भएको छ । गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमा नै नपठाउदा यस गाउँपालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुमा औषधिको चरम अभाव भएको हो । अहिले स्वास्थ्य संस्थामा पुगेका विरामीहरु औषधि नै नपाएर खाली हात फर्किन बाध्य भएका छन् ।

स्वास्थ्य संस्थाहरुका सबै स्टोरहरु खाली भएका छन् भने स्वास्थ्यकर्मीहरु विरामी जाँच गरेर निजी क्लिनिकमा पठाउन बाध्य छन् । मौसम परिवर्तन सँगै ज्वरो, पखाला, आउमासी लगाएतका समस्या भएका विरामीहरु स्वास्थ्य संस्थामा जाने भएपनि जीवनजल समेत नहुदाँ उनीहरु निजी मेडिकलबाट महंगो मुल्यमा किन्न बाध्य भएका छन् । यहाँका केही स्वास्थ्य संस्थामा जीवनजल छैन त कसैमा व्रोफिन छैन् ।

स्थानिय रेमन्तजंग डाँगीले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको लापरवाहीले स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको बताउनुभयो । ‘लामो समयको खडेरीपछि बर्षात हुदाँ गाउँमा ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ, तर स्वास्थ्य संस्थामा औषधि छैन् भनेर सबै नागरिक निजि क्लिनिकमा उपचारको लागि जान्छन्’ उहाँले भन्नुभयो जाँच गर्न सरकारी जाने र औषधि किन्न निजि क्लिनिकमा जाँदा समस्या भएको छ ।’

प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा, स्वास्थ्य चौकी झिम्पे, स्वास्थ्य चौकी दमाचौर, स्वास्थ्य चौकी छाँयाक्षेत्र, आधारभूत स्वास्थ्य केन्द्र दहखोला लगाएतका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको हो । अहिले पालिका भित्रका स्वास्थ्य संस्थाहरुमा जीवनजल सहित पारासिटामोलको समेत अभाव भएको स्वास्थ्य संस्थाका इन्चार्जले बताँछन् । ५८ प्रकारका औषधि पाइनुपर्ने प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरामा करिब १५ प्रकारका मात्रै औषधि छन् । ति मध्ये अधिकांश औषधि सकिने अवस्थामा रहेको इन्चार्ज विर बहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार यहाँ जीवनजलको समेत अभाव छ । ‘झण्डै दुइ हप्ता देखी औषधि अभाव छ, जीवनजल समेत उपलब्ध छैन्, प्रेसर, ग्याँस्ट्रिक लगाएतका नियमित रुपमा औषधि सेवन गर्दै आएका सेवाग्राहीले औषधि पाएका छैनन्, आँखाकानमा राख्ने औषधि देखी ज्वरो, रुघाखोकीका बिरामीलाई दिने औषधि समेत छैन्’ उहाँले भन्नुभयो ‘करिब ९० प्रतिशत औषधि छैन्, दैनिक २०÷२५ जना विरामी आउँछन्, तर खाली हात फर्काउन बाध्य भएका छौँ ।’

स्वास्थ्यचौकी झिम्पेमा बच्चाको लागि आवश्यक वर्ने पारासिटामोल झोलको अभाव भएको र स्टक रहेका औषधिहरु पनि सकिने क्रममा रहेको इन्चार्ज शिशिर रिजालले बताउनुभयो । स्वास्थ्यचौकी दमाचौरका इन्चार्ज रुपक चन्दले विगतको तुलनामा यस पटक स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको बताउनुभयो ।

स्वास्थ्यचौकी छायाँक्षेत्रका इन्चार्ज गणेश चन्दले अत्यावश्यक पर्ने प्रेसर, एन्टिबायोटिक लगाएतका औषधिको अभाव रहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा स्टकमा राखिएका औषधिहरु सकिएको र जीवनजल, मलम आदीको पनि थोरै मात्रा बाँकी रहेको बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक पर्ने औषधि अभाव रहेको बताउनुभयो । औषधि खरिदका लागि झण्डै तीन महिना पहिले नै माग फारम भरेर टिप्पनी समेत उठाइसकेको अवस्थामा विविध कारणले गर्दा औषधि खरिद गर्न नसकिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप खनालले भने यही महिनामा नै औषधि आइपुग्ने बताउनुभयो । असारमसान्त भएकाले औषधि खरिदमा ढिलाइ भएको भएपनि यही महिनामा नै औषधि आइपुग्ने र औषधि अभावको समस्या समाधान हुने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस