सल्यान ३०, असार ।
सल्यानको बागचौर नगरपालिकाले करिब ८० करोड बराबरको वजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि यस नगरपालिकाले ७९ करोड ७९ लाख ७९ हजार बराबरको अनुमानित वजेट सार्वजनिक गरेको हो । विहीवार सम्पन्न नगरसभामा नगरप्रमुख जनकराज गौतमले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
जसमा चालू खर्च तर्फ रु. ४५ करोड ५० लाख ७० हजार र पुजीँगत खर्च तर्फ रु. ३४ करोड २८ लाख ९२ हजार विनियोजन गरिएको छ । नगरपालिकाको समग्र पूर्वाधार विकासमा रु. ११ करोड ७८ लाख ५२ हजार विनियोजन गरेको नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक विभेद न्यूनिकरण लगायतका क्षेत्रहरुलाई समेट्ने गरी समाजिक विकास तर्फ रु. ७ करोड ६६ लाख ६० हजार विनियोजन गरेको छ ।
यस्तै आर्थिक विकास तर्फ रु. ६६ लाख ८० हजार बजेट विनियोजन गरिएको छ । यस्तै नगरपालिका भित्रमा आइपर्ने विपत् व्यवस्थापन तर्फ रु. १ करोड विनियोजन गरेको नगरपालिकाले सुशासन, न्याय तथा कानुन, वन, वातावरण तर्फ रु. ४८ लाख ५० हजार बजेट विनियोजन गरेको जनाएको छ । गत असार १० गते नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको भएपनि आन्तरिक विवादका कारण वजेट सार्वजनिक भएको थिएन् ।