सल्यानी किविको ‘अर्गानिक ब्राण्ड’

किविको गुणस्तर निर्धारण गर्दै वजारीकरण गरिने

सल्यान ३२, असार ।
सल्यानमा उत्पादित किविको गुणस्तर निर्धारण गर्दै अर्गानिक ब्राण्डको रुपमा वजारीकरण गरिने भएको छ । कर्णाली प्रदेशद्धारा सञ्चालित अर्गानिक मिसन कार्यक्रम अन्र्तगत जिल्लामा उत्पादन भैरहेको किविको सहभागितामुलक गुणस्तर निर्धारण प्रणालीको मापदण्ड अनुसार अर्गानिक ब्राण्डका रुपमा वजारीकरण गरिने भएको छ ।

हाल जिल्लाको छत्रेश्वरी गाउँपालिका २ बुराँसे, बागचौर नगरपालिका ९ पाथिहाल्ना लगाएतका क्षेत्रमा उत्पादित किविलाई अर्गानिक रासायनिक मल र किटनाशक बिषादीको प्रयोग विना नै प्रांगारिक मलको प्रयोग गरेर उत्पादन गर्ने र अर्गानिक ब्राण्डका रुपमा वजारीकरण गर्ने तयारी गरिएको हो । जसअन्र्तगत पहिलो चरणमा बुराँसे र पाथिहाल्नामा उत्पादन भैरहेको किविलाई अर्गानिक किविको रुपमा वजारीकरण गर्ने तयारी गरिएको अर्गानिक मिसन कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत प्रविन आचार्यले जानकारी दिनुभयो ।

स्थानिय कृषकहरुको सहभागितामा उत्पादन भैरहेको किविलाई प्रांगारिक मल र जैविक बिषादीको प्रयोगमा बढावा दिदैँ उत्पादनमा बृद्धि गर्ने र वजारीकरणमा सहयोग गरिने उहाँको भनाइ छ । ‘सबै क्षेत्रमा रासायनिक मल र बिषादी प्रयोग गरेको तरकारी र फलफूल पाइन्छ, यसले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरिरहेको छ, त्यस्ता बस्तुको उत्पादन र प्रयोगमा कमी ल्याउनको लागि किविलाई पहिलो चरणमा छनौट गरेका छौँ’ उहाँले भन्नुभयो ।

उहाँले मानव स्वास्थ्यलाई फाइदा पुग्ने खालका अर्गानिक तरकारी र फलफूल उपभोग गर्न आग्रह गर्दै जिल्लामा उत्पादन भैरहेको किविलाई अर्गानिक ब्राण्डको रुपमा विकास गरिने बताउनुभयो । ‘कृषकहरुलाई किवि उत्पादनको लागि प्राविधिक ज्ञान, तालिम सँगै बिभिन्न निकायसँग समन्वय गर्ने र अर्गानिक ब्राण्डको रुपमा देशका बिभिन्न शहरहरुमा वजारीकरणमा गर्न सहयोग गर्ने लक्ष्य हो’ उहाँले भन्नुभयो ‘किविको लेवलिङ र प्याकेजिङमा पनि कार्यालयले सहयोग गर्छ ।’

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर करिब १६ हेक्टर क्षेत्रमा किवि खेती हुदैँ आएको छ । जिल्लामा उत्पादन भैरहेको किविलाई अर्गानिक ब्राण्डको रुपमा उत्पादन सँगै वजारीकरण हुने भए पछि किवि खेती गर्दै आएका कृषकहरु पनि खुसी भएका छन् ।

छत्रेश्वरी गाउँपालिका २ बुराँसेका तेज बहादुर योगीले किविखेती बाटै स्थानियले बर्षेनी तीन लाख देखी १२ लाख रुपैँयासम्म आम्दानी गर्दै आएको बताउनुभयो । यस क्षेत्रका एक सय १० घरधुरीले किविखेती गर्दै आएका छन् । ‘यहाँको आम्दानीको स्रोत भनेकै किवि हो, स्थानियको जीवननिर्वाह किवि खेतीबाट नै हुदैँ आएको छ’ उहाँले भन्नुभयो ।

उहाँले यस क्षेत्रमा करिब ८ हजार किविका बोट रहेको बताउनुभयो । ‘शुरुमा अन्नवाली खेती गर्दै आएका स्थानियले झण्डै एक दशकयता किवि खेती गर्दै आएका छन्, किविको फल र बिरुवाबाट पनि आम्दानी भैरहेको छ’ उहाँले भन्नुभयो ‘वजारीकरण गर्नकुनै समस्या छैन्, प्रांगारिक मलको प्रयोग गरेर उत्पादन भैरहेकाले भाउ पनि राम्रो पाइरहेको छ ।’

बागचौर नगरपालिका ९ पाथिहाल्नाका प्रेम प्रकाश शर्माले यसक्षेत्रका करिब एक सय बढी घरधुरीले किविखेती शुरु गरेको बताउनुभयो । ‘यहाँका स्थानियले करिब ३ हजार किविका बोट रोपका छन्, यो बर्षदेखी उत्पादन शुरु भैरहेको छ’ उहाँले भन्नुभयो ‘किविखेतीलाइ नै स्थानियले व्यवसायिक बनाउदैँ लगेका छन् ।’

यसैविच सहभागितामुलक गुणस्तर निर्धारण प्रणाली सञ्चालनको लागि जिल्ला स्तरीय पिजिएस समन्वय समिती गठन गरिएको छ । उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय समिती गठन गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस