सल्यान ३, साउन ।
सल्यानको ग्रामीण क्षेत्रमा धेरै गर्भवती महिला अझै पनि घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । स्थानीय, प्रदेश र संघ सरकारले ग्रामीण क्षेत्रसम्म स्वास्थ्य संस्थाहरू विस्तार गरेको दावी गरिरहँदा जिल्लाका विकट गाउँका गर्भवतीहरू अहिले पनि घरमै सुत्केरी हुन बाध्य छन् । यसरी सुत्केरी गराइँदा गर्भवतीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।
गर्भवतीहरू घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएता पनि भौगोलिक विकटता, स्रोत साधनको अभाव र जनचेतनाको कमीले विकट गाउँका गर्भवतीहरू घरमै असुरक्षित रूपमा बच्चा जन्माउन बाध्य भएका हुन् । सवारी साधनको अभाव, नियमित सवारी साधन सञ्चालन नहुने, सबै सवारी साधनहरूले गर्भवती र सुत्केरीलाई बोक्न नमान्ने लगायतका समस्याले गर्भवतीहरूको पहुँच स्वास्थ्य संस्थामा नभएको स्थानियको भनाइ छ ।
जिल्लामा घरमा नै सुत्केरी हुने दर शून्यमा झार्ने विभिन्न प्रयास गरेपनि अझै झर्न सकेको छैन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लामा घरमा नै सुत्केरी हुने दर अघिल्ला बर्षहरुको तुलनामा केही कमी आएपनि उल्लेख्य मात्रामा भने कमी आउन सकेको छैन् । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ४ हजार ४ सय ३५ महिला सुत्केरी भएकोमा ३ हजार ७ सय ६९ जना संस्थागत सुत्केरी भए ।
बाँकी १५ प्रतिशत अर्थात ६ सय ६६ जना महिला घरमा नै सुत्केरी भए । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभर ४ हजार ५ सय ६६ महिला सुत्केरी भएकोमा ४ हजार ७८ जना संस्थागत सुत्केरी भए । बाँकी १० प्रतिशत अर्थात ४ सय ८८ घर गर्भवतिहरु घरमा नै सुत्केरी भए । यस्तै यस बर्ष जिल्लाभर ३ हजार २ सय ६६ महिला सुत्केरी भएकोमा ३ हजार जना संस्थागत सुत्केरी भएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस आर्थिक बर्षमा पनि करिब ८ प्रतिशत अर्थात २ सय ६६ जना महिला घरमा नै सुत्केरी भएका छन् । ‘सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा लैजादैँ गर्दा विच बाटोमा नै सुत्केरी भएको खण्डमा तत्कालै आमा र बच्चालाई स्वास्थ्य संस्थामा लगियो भने संस्थागतमा गणना हुन्छ भने विचबाटो बाटै घर फर्किएको खण्डमा होम डेलिभरी मानिन्छ’ उहाँले भन्नुभयो ।
उहाँले होम डेलिभरीलाई शुन्यमा झार्ने गरेर काम गरिरहेको भएपनि त्यो सफल हुन नसकेको बताउनुभयो । ‘संस्थागत सुत्केरी हुन प्रोत्साहन गर्नुपर्छ, गर्भ जाँच देखी सुत्केरी हुन स्वास्थ्य संस्थामा आउदा समेत यातायात सुविधा सरकारले दिदैँ आएको छ’ उहाँले भन्नुभयो ‘घरमा नै सुत्केरी हुदाँ आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले होम डेलिभरीलाई कम गर्नु हाम्रो लक्ष्य हो ।’
उहाँले जिल्लामा वालविवाहका घटनामा पनि कमी आउन नसकेको बताउनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवति भएकोमा १ हजार ७ सय ५७ जना गर्भवति २० बर्षमुनिका थिए । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभर ६ हजार १९ महिला गर्भवति भएकोमा १ हजार ५ सय ९५ जना गर्भवति २० बर्षमुनिका थिए । यस्तै यस बर्ष ५ हजार ८ सय ५ जना गर्भवति भएकोमा १ हजार ३ सय ७१ जना २० बर्षमुनीका रहेका छन् ।
परिवारका सदस्य र स्वयम् महिलाहरूमा पनि सुत्केरी सेवा स्वास्थ्य संस्थाबाट लिन अनिवार्य छ भन्ने सचेतना नहुँदा घरमै सुत्केरी हुने संख्यामा कमी नआएको अधिकारकर्मी रामचन्द्र रेग्मीले बताउनुभयो । सुत्केरी प्रोत्साहन भत्ता समयमै उपलब्ध गराउन नसकेका कारण पनि परिवारका सदस्यहरूले गर्भवतीलाई स्वास्थ्य संस्था लैजान सक्रियता नदेखाएको उहाँको भनाइ छ ।
घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान नै जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका सबै ठाउँमा सुरक्षित सुत्केरी गृह निर्माण गरी सबै आमाहरूलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउन उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।