सल्यानमा सर्पदंशको उपचार पाउनै मुस्किल

सर्पले डसेका विरामीहरु उपचारको लागि दाङ, नेपालगन्ज जानुपर्ने बाध्यता

सल्यान १३, साउन ।
सल्यान जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन् । सर्पको डसाई जस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ । सर्पले डसेमा तत्काल उपचार गराउनु पर्छ ।

ग्रामिण सडक, यातायातको सहज पहुँच नहुनु जस्ता कारण कतिपय विरामीको समयमा उपचार नपाएर ज्यान जाने गरेको पाइन्छ भने कतिपयले घरेलु औषधि उपचार तथा झारफुक गर्नतर्फ ध्यान दिने गरेका कारण पनि सर्पदंशका विरामी जोखिममा पर्ने गरेका छन् । यस्तो अवस्थामा सर्पले डसेको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरु बञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन् ।

विहीवार मात्रै जिल्लामा सर्पले डसेर एक वालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ भंगेरि घर भै हाल शारदा नगरपालिका–६ बरला बस्दै आएका १३ वर्षीय बालक अर्जुन बस्नेतको सर्पले डसेर मृत्यु भएको हो । आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसँगै सुतिरहेको अवस्थामा राति १० वजे सर्पले डसेपछि घरेलु उपचार गरि बिहान ५ बजे जिल्ला अस्पतालमा ल्याइ उपचार गर्दै गर्दा साढेँ बजे तिर ती वालकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

सर्पले डसेको सामान्य उपचार मात्र जिल्ला अस्पताल सल्यानमा गर्न सकिने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो । धेरै विषालु पर्सले डसेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने जिल्ला बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ, धेरै बिषालु सर्पले डसेको अवस्थामा र विरामीको जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन । त्यस्ता बिरामी आएमा प्राथमिक उपचारपश्चात् बाहिर रिफर गछौँ ।’

सर्पले डसेका बिरामीहरुका लागि एन्टिस्नेक भेनम औषधि आवश्यक पर्छ । तर जिल्लामा औषधि नहुदाँ सर्पले डसेका विरामीहरु उपचारको लागि दाङ, नेपालगन्ज जानुपर्ने बाध्यता छ । जिल्लामा बर्षेनी दर्जन बढी सर्पले डसेका विरामी हुन्छन् । तर जिल्लामा सर्पदंशको जोखिम कम भएको भन्दै अस्पतालले एन्टिस्नेक भेनम खरिद नगर्ने गरेको स्थानियको दावी छ ।

सर्पले डसेका विरामीको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । एक स्थानियले भन्नुभयो ‘यो समयमा ग्रामीण क्षेत्रमा धेरै समस्या छन्, खेतबारीमा काम गर्नै प¥यो, काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले डस्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ ।’ बर्खाको समयमा ओत लाग्न र आहाराको खोजीमा सर्प घरमा नै आउने भएकाले घरआँगन सफा गर्ने, सर्प बस्नेखालका प्वाँलहरु नराख्ने लगाएतका कार्य गरेमा सर्पबाट बच्न सकिने उहाँको बुझाइ छ ।

केही हदसम्म सावधानी अपनाउन सके सर्पको टोकाइबाट बच्न सकिने विज्ञहरु बताउँछन् । सर्पको टोकाइको सिकार किसान, बालबालिका र वृद्धवृद्धा हुने गरेका छन् । सरकारले जिल्लामा नै सर्प सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ ।

गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन । यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो छिटो अस्पताल जानु उपयुक्त हुने चिकित्सकको सल्लाह छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित