छ करोड लगानीमा बाख्राको स्रोत केन्द्र स्थापना

सामूहिक बाख्रापालनमा लागेपछि बाख्रा जंगल चराउन लैजानुपर्ने दुःख हट्यो

सल्यान १६, साउन ।
सल्यानमा झण्डै ६ करोड रुपैँयाको लगानीमा बाख्राको स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशमा नै बाख्राको स्रोत केन्द्र स्थापना गर्ने उद्धेश्यले जिल्लाको शारदा नगरपालिका–५ रानीकोटमा करिब ६ करोड रुपैयाँ लगानीमा व्यावसायिक बाख्रापालन थालिएको हो । रानीकोटका २१ घरपरिवारले सामूहिक रुपमा बाख्रापालन गरेका हुन् ।

पहिले परम्परागत रुपमा एक्लाएक्लै बाख्रापालन गर्दै आएका स्थानियहरुले विगत तीन बर्षयता सामुहिक रुपमा बाख्रापालन गर्दै आएका हुन् । शुरुवातमा ५० लाख रुपैँयाबाट व्यावसाय शुरु गरेका युवाहरुको हाल ६ करोड रुपैँया लगानी पुगेको छ । राष्ट्रिय कृषि विकास कम्पनी मार्फत एक जना सेयर सदस्यले एक लाख रुपैयाँ बराबरको सेयर लगानी गरेर व्यावसाय सञ्चालन गरिएको कम्पनीका अध्यक्ष किरण शाहीले बताउनुभयो ।

यस कम्पनीमा अहिले १ सय ८० वटा बाख्रा रहेका छन् । ‘यहाँका सबै स्थानियले परम्परागत रुपमा जीवननिर्वाहका लागि बाख्रापालन गर्दै आएका थिए, जसले गर्दा स्थानियले सोचअनुसारको फाइदा लिन सकेका थिएनन्, अनि गाउँमा नै सामुहिक रुपमा बाख्रापालन गर्ने र बाख्राको स्रोत केन्द्र स्थापना गर्ने भनेर सोच वनायौँ, त्यही अनुसार स्थानियले आफसँग उपलब्ध स्रोतसाधन जस्तै पैसा, बाख्रा युवाहरुको श्रमको लगानी र जग्गा समेत सेयरका रुपमा राखेर कृषि व्यवसाय शुरु गरेका हौँ’ उहाँले भन्नुभयो ।

उहाँले सबै सेयर सदस्यलाई वरावर लगानी हुने गरी शुरुवातमा एक लाख रुपैँयाबाट व्यावसाय शुरु गरेको बताउनुभयो । ‘पैसा नहुने युवाहरु पनि आफुसँग जे छ, त्यसैको आधारमा सेयर सदस्य भएर व्यवसाय शुरु गरिएको हो’ उहाँले थप्नुभयो ‘सबैलाई समान अधिकारको सुनिश्चिता सहित केही खरी जातका र बाँकी सबै बोयर जातका बाख्रापालन गर्न थालिएको छ ।’

यस कम्पनीमा ७ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ‘यसलाई बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य हो, जसका लागि बाख्राको आधुनिक खोर निर्माण गरि घाँस खेती समेत गरिएको छ’ उहाँले भन्नुभयो ‘तीन सय बढी रोपनी जग्गामा विभिन्न प्रजातीका घाँस रोपिएको छ, ५० हजार बढी डाले घाँसका बोट रोपिएको छ ।’ उहाँले जिल्लामा बाख्रापालनको सम्भावना राम्रो रहेको बताउनुभयो ।

‘जिल्लामा उत्पादन हुने खसीवोकाको माग उच्च छ, हामीले यस कम्पनीलाई बाख्राको स्रोतकेन्द्रका रुपमा विकास गर्दै लगेका छौँ, ताकि भोलीका दिनमा बाख्रापालनको लागि बाख्रा खोज्दै अनेत्र जाने वाध्यता हटोस्’ उहाँले भन्नुभयो ‘उपयुक्त हावापानी र घाँसखेती हुनेभएकाले यस्तो खालको मोडेललाई प्रदेशभर विस्तार गर्न आवश्यक छ ।’

सामूहिक बाख्रापालनमा लागेपछि बाख्रा जंगल चराउन लैजानुपर्ने दुःख हट्नुका साथै आम्दानीको स्रोत पनि बढेको युवाहरुको भनाइ छ । विगतमा घरमा नै ४/६ वटा बाख्रापालन गर्दै आएका उनीहरु चराउनको लागि जंगल जानुपर्ने बाध्यता रहेको थियो । यसलाई बाख्रा श्रोत केन्द्रको रुपमा विकास गर्न खोर निर्माण र बाख्रा खरिद गर्न लगाएतका कार्यका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले आर्थिक एवम् प्राविधिक रुपमा सहयोग समेत गरेको छ ।

जिल्लाबाट बार्षिक रुपमा ५२ हजार बढी खसीवोका निर्यात भैरहेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले एक पालिका एक पशुबस्तु उत्पादन कार्यक्रम अन्र्तगत जिल्लाका पाँच पालिकामा बाख्रापालन र पाँच पालिकामा भैँसीपालनलाई जोड दिइएको बताउनुभयो । यसबर्ष जिल्लाभर किसानहरुलाई ४ सय ४७ वटा बाख्रा वितरण गरिएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित