पेट्रोलमा खुलेआम कालोवजारी : डेढ लिटर पेट्रोलको ४ सय ५० !

उपभोक्ताहरु कम परिमाणमा मिनिरल वाटरको वोतलमा गुणस्तरहिन पेट्रोल किन्न बाध्य

फाइल फोटो

सल्यान १८, साउन ।
सल्यानका मुख्य व्यापारीक केन्द्रहरुमा सञ्चालित पेट्रोल पम्प र डिजेल पम्पमा पेट्रोल पाईदैन्, मात्र डिजेल पाईन्छ । पेट्रोल पम्पमा पेट्रोल नहुँदा उपभोक्ताहरुले सास्ती पाउनुका साथै महगोंमा पेट्रोल किन्न बाध्य छन् । जिल्लामा चार वटा पेट्रोल पम्प सञ्चालित छन् तर तीन वटा पेट्रोल पम्पमा पेट्रोल छैन् । पम्पमा पेट्रोलको आपुर्ति नहुँदा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन् ।

खैरावाङ्गी माइँ पेट्रोल पम्प श्रीनगर, शारदा आयल व्यापार सेवा श्रीनगर र हिमालय आयल स्टोर वागचौरमा पेट्रोल छैन् । जिल्लाको पश्चिमी क्षेत्र सल्लीवजारमा रहेको यरी पेट्रोल पम्पमा भने करिब ३ हजार लिटर पेट्रोल रहेको सञ्चालकको भनाइ छ । जिल्लाका अरु पेट्रोल पम्पमा पेट्रोल छैन् तर स्थानिय किराना पसल तथा नास्ता पसलहरुमा भने पेट्रोल जति पनि पाइन्छ ।

कतिपय पेट्रोल पम्प सञ्चालकले भने पेट्रोल सकिएको भन्दै किराना पसलमा पठाउने गरेको समेत पाइएको छ । पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । पम्प सञ्चालकहरुले मनोमानी ढङ्गले पेट्रोलियम पदार्थ वितरण गर्ने गरेको बताउदैँ उनीहरुले समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न आवश्यक रहेको बताएका छन् ।

उपभोक्ताहरुले कम परिमाणमा मिनिरल वाटरको वोतलमा गुणस्तरहिन पेट्रोल किन्न बाध्य भएका छन् । खुलेयाम कालोबजारी गर्ने व्यवसायीले भने प्रति लिटर ५० रुपैयाँ देखि एक सय रुपैयाँ सम्म मुनाफा गर्दै आएका छ्न । बागचौरबाट सदरमुकाम खलंगा आउदैँ गरेका एक मोटरसाइकल चालकले डेढ लिटर पेट्रोलको ४ सय ५० रुपैँया तिरेको बताउनुभयो । ‘पम्पमा पेट्रोल पाइएला भनेर गए तर यहाँ पेट्रोल छैन्, बरु किराना पसलमा पाइन्छ भनेर पेट्रोल पम्पवालाले सिकाइ दिएपछि डेढ लिटर पेट्रोलको ४ सय ५० रुपैँया तिरे’ उहाँले भन्नुभयो ।

अर्का मोटरसाइकल चालकले सरोकारवाला निकायले ध्यान नदिदाँ उपभोक्ताहरु खुलेयाम ठगिने गरेको बताउनुभयो । ‘पेट्रोलको खुलेआम कालोवजारी भैरहेको छ, एक लिटर पेट्रोलको २ सय २५ रुपैँयामा किने’ उहाँले भन्नुभयो ‘गन्तव्यमा पुग्नै पर्ने बाध्यता हुन्छ, उनीहरुले मागेअनुसारको रुपैँया दिनैपर्छ ।’ जिल्लामा पेट्रोलियम पदार्थको सहज भएको समयमा खरिद गरेर राख्ने र अहिले अभाव हुँदा बढी मूल्य लिएर बिक्री गर्ने विचौलियाहरू समेत मौलाई रहेको भएपनि अनुगमन हुन नसक्दा त्यस्ता विचौलियाले प्रश्रय पाइरहेको उहाँको भनाइ छ ।

जिल्लामा पेट्रोलको अभाव भएपछि कतिपय सावरीसाधनहरू पेट्रोल राख्नको लागि छिमेकी जिल्ला पुग्ने गरेका छन् भने कतिपयले सवारीसाधन थन्क्याएर राखेका छन् । पेट्रोल पम्प सञ्चालकहरुभने माग अनुसारको पेट्रोल आयल निगमले नदिदा समस्या भएको बताएका छन् । जिल्लामा डिजेलको भने अभाव छैन् ।

हिमालय आयल स्टोरका सञ्चालक लाल बहादुर बस्नेतले आफ्नो पम्पमा झण्डै दश दिनदेखी पेट्रोल नभएको बताउनुभयो । ‘पेट्रोलको मेसिन बिग्रेको थियो, नयाँ जडान गर्न केही समय लाग्यो’ उहाँले भन्नुभयो ‘अहिले पेट्रोल छैन्, आयल निगममा माग गरेको तीन दिन भयो तर अझै पाईएको छैन् ।’
खैरावाङ्गी माइँ पेट्रोल पम्पका सञ्चालक भुवन राईले आफ्नो पम्पमा विगत तीन दिन देखी पेट्रोलको अभाव भएको बताउनुभयो । ‘डिजेल छ तर पेट्रोल छैन्, माग गरेका छौँ, तर आयल निगमले नदिदा समस्या भएको छ’ उहाँले भन्नुभयो । यस्तै शारदा आयल व्यापार सेवाका सञ्चालक टोपेन्द्र कुमार शर्माले पनि माग गरेको धेरै दिन भएपनि आयल निगमले पेट्रोल नदिदा समस्या भएको बताउनुभयो ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले भने पेट्रोलियम पदार्थको अभाव भएको वारेमा आफुहरुलाई जानकारी नआएको र यस बारेमा तत्कालै अनुगमण गरिने बताउनुभयो । ‘पेट्रोलको अभाव भएको सुनियो, यस्तो हुनुनपर्ने, उतैबाट नआएर होकि, व्यवसायीको चलाखी हो, जिल्लाका पेट्रोल पम्पको अनुगमन गर्छौँ, पेट्रोल भएर समेत अभाव सृजना गरेको भए कारबाही हुन्छ’ उहाँले भन्नुभयोे । उहाँले पेट्रोलियम पदार्थ मात्रै नभएर अन्य उपभोग्य वस्तुको समेत कालोबजारी भए तुरुन्तै कारबाही गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित