सल्यानको ‘शारदा नगरपालिका’ लाई डिजिटल नगरपालिका वनाइदैँ

सल्यान २७, साउन ।
सल्यानको शारदा नगरपालिकालाई प्रविधिमैत्री नगरपालिका निर्माण गरिने भएको छ । बढ्दै गएको प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्ने हेतुका साथ प्रविधिमैत्री नगरपालिका निर्माण गर्न थालिएको हो । जसका लागि ई–रिर्पोटिङ्गको कार्य थालनी गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

बि एण्ड् बि टेक ग्रुप सँगको सहकार्यमा नगरपालिकालाई प्रविधिमैत्री बनाउन लागिएको जनाइएको छ । तत्कालै देखी सञ्चालनमा आउने गरी मोबाइल एप्लिकेसनबाट ई–रिपोर्टिङ, ई–सिफारिस, स्मार्ट कार्ड, ई–हाजिरीको व्यवस्थापन गर्न लागिएको जनाइएको छ । पाँच बर्षमा सम्पुर्ण काम सम्पन्न गर्ने गरी केही महिनाअघि देखी मात्रै डिजिटल नगरपालिकाको कामको थालनी गरिएको जनाईको छ ।

जापानमा कार्यरत बिकास लम्साल, डेनमार्कमा कार्यरत बिमल कुमार केसी र फ्रान्समा कार्यरत युबराज पौडेलको प्राविधिक सहयोगमा नगरपालिकालाई प्रविधिमैत्री नगरपालिका निर्माण गर्न लागिएको हो । विहीबार जिल्लाको सदरमुकाम खलंगामा डिजिटल शारदा एप्लिकेसनको डेमो सार्वजनिक गर्दै बि एण्ड् बि मा कार्यरत बिकास लम्सालले नागरिकको सहजता र कर्मचारीको कार्यबोझलाई सहज बनाउनको लागि यस कार्यले सहयोग गर्ने बताउनुभयो ।

आगामी पाँच बर्ष भित्रमा शारदा नगरपालिकामा डिजिटल मोनिटरिङ, हेल्पलाइन, स्मार्ट हेल्थ प्रोफाइल आदीको व्यवस्था गरिने बताउनुभयो । ‘सरकारी कार्यालयमा काम गर्न समस्या भएको, प्रविधियुक्त नहुँदा ढिलासुस्ती भैरहेकाले पाँच बर्ष भित्रमा सबै काम सम्पन्न गर्ने गरी योजना निर्माण गरेका छौँ’ उहाँले भन्नुभयो ‘नगरपालिकाबासीले मोबाइल बाटै सबै काम गर्न पाउने व्यवस्था मिलाउदैँ छौँ, कर्मचारीले अनुहार देखाएर नै हाजिरी गर्ने व्यवस्था हुन्छ ।’

यस कार्यले नगरपालिकामा आएका सेवाग्राहीले सहजै रुपमा सेवा पाउने नगरपालिकाको दावी छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नागरिकको सहजताको लागी नगरपालिकाले शुरुवात गरेको कार्य महत्वपुर्ण भएकाले नागरिकको अपेक्षा अनुसार नै सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । छिटो, छरितो र स्तरीय सेवा पाउने आमनागरिकको अपेक्षा हुने भएकाले प्रविधिको प्रयोग गरेर नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ ।

डिजिटल शारदा नगरपालिका निर्माण गर्ने भनेर निति तथा कार्यक्रममा नै समाबेश गरिएको र सोही अनुसार कामको थालनी गरिएको नगरप्रमुख प्रकाश भण्डारीले बताउनुभयो । शुरुवातमा प्रविधि मार्फत रिपोर्टिङ गर्न मिल्ने र सबैले चलाउन मिल्ने गरि ई–रिपोर्टिङको डेमो सार्वजनिक गरिएको र अव तत्कालै कामको थालनी गरिने उहाँले बताउनुभयो ।

‘नगरवासी सबैलाई प्रविधिको पहुँचमा जोड्ने काम भैरहेको छ, खानेपानी, बिद्युत्त, सडक, लगाएतका तत्कालै देखापर्ने समस्याका बारेमा नागरिकले एप्लिकेशन मार्फत नगरपालिकामा रिपोर्टिङ गर्ने छन्, सोही अनुसार नगरको कुन वडामा कुन समस्या छ भनेर पहिचान हुने छ र तत्कालै काम सम्पन्न हुने छ’ उहाँले भन्नुभयो ‘घरमा नै बसेर नागरिकले आफ्ना गुणासा तथा समस्या नगरपालिकासम्म पु¥याउन सक्नेछन् ।’

उहाँले सामाजिक सुरक्षा भत्तालाई समेत स्मार्ट कार्ड मार्फत वितरण गर्ने गरी सोच बनाइरहेको बताउनुभयो । ‘यो नागरिकको घर छेउको सरकार हो, नागरिकले पाउने सबै सेवासुविधालाई छिटो र प्रभावकारी वनाउन लागिपरेका छौँ’ उहाँले भन्नुभयो ‘वडामा वा नगरमा आएर सामान्यतया कर तिर्न समेत लाइनमा लाग्ने परिपाटीको अन्त्य गर्छौ ।’

नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो । कार्यक्रममा नगरका सबै वडाअध्यक्ष, नगरपालिकाका कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस