व्यावसायिक पशुपालनमा महिला सहभागिता बढ्दै

जिल्लाका केही महिलाले बाख्रापालन, केहीले भैँसीपालन त केहीले बंगुरपालन गर्न थालेका छन्

सल्यान २९, साउन ।
सल्यानमा पशुपालन तर्फ महिलाहरुको सहभागिता बढ्न थालेको छ । पशुपालनबाट नै व्यावसायिक बन्न सकिने र आम्दानी पनि राम्रो गर्न सकिने भएपछि जिल्लाका दश वटै पालिकाहरुमा पशुपालन तर्फ महिलाहरुको सहभागिता बढ्न थालेको हो । घरायसी र व्यक्तिगत सानातिना खर्च टार्नको लागि पुरुषकै भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि पनि महिलाहरु पशुपालनमा लाग्न थालेका हुन् ।

ठुलो लगानी गरेर व्यावसायिक बन्न नसके पनि घरखर्च चलाउन सक्ने गरेर पशुपालन गर्न थालेको उनीहरुको भनाइ छ । जिल्लाका केही महिलाले बाख्रापालन, केहीले भैँसीपालन त केहीले बंगुरपालन गर्न थालेका छन् । दिनभर घरैमा बसेर खेरजाने समयको सदुपयोग गर्दै पशुपालन व्यावसायमा आवद्ध भएपछि उनीहरुले आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छन् ।

छत्रेश्वरी गाउँपालिका ६ लान्ति निवासी पार्वती परियारले शुरुमा २ वटा बाख्रा खरिद गरेर बाख्रापालन शुरु गर्नुभएको थियो । तर अहिले उहाँसँग ४ वटा बाख्रा छन् । ‘केही बर्ष पहिले घरमा बाख्रा थिएनन्, बसेरै दिन बित्ने गर्दथ्यो, आफ्नो र घरायसी सानातिना खर्चको लागि पनि अरुको भर पर्नुपथ्र्यो’ उहाँले भन्नुभयो ‘अव अरुको भर पर्न नपरोस भनेर बाख्रापालन शुरु गरेकी छु, बर्षमा २ वटा खसी बेचे भनेपनि घरखर्च सजिलैसँग चल्छ ।’

उहाँले समयको पनि सदुपयोग हुने र आम्दानी पनि हुने भएकाले बाख्रापालन गर्न थालेको बताउनुभयो । शुरुवातमा बाख्रा किन्न समेत समस्या थियो, लक्षित बर्ग अन्र्तगतको वजेटबाट २ वटा बाख्रा खरिद गरेकी हुँ, यसपटक पशु कार्यालयको बजेटबाट बाख्राको खोर निर्माण गरिएको छ उहाँले थप्नुभयो बर्षेनी बाख्रा बढाउदैँ लैजाने सोच बनाएकी छु ।

बागचौर नगरपालिका ६ निवासी मनिषा बिकले पनि अहिले ३ वटा बाख्रापालन गर्दै आउनुभएको छ । व्यावसाय सञ्चालन गर्न पनि सजिलो र खर्चपनि कम लाग्ने भएकाले बाख्रापालन गर्न थालेको उहाँको भनाइ छ । ‘बिहान र साँझ घाँस काटेर दियो, दिनभर जंगलमा गएर चरिहाल्छन्, श्रम कम खर्च गर्नुपर्ने तर घरखर्च चलाउनको लागि राम्रो आम्दानी हुनेभएकाले बाख्रापालन गर्न थालेकी हु’उहाँले भन्नुभयो ।

उहाँले आगामी दिनमा बाख्राको संख्या बढाउदैँ लैजाने सोच रहेको बताउनुभयो । ‘बर्षमा २/३ वटा खसीबोका बेच्न पाइयो भने आफ्नो र घरखर्च चलाउन कुनै समस्या हुदैन्’ उहाँले भन्नुभयो ‘श्रीमानले कमाएको पैसा बचत हुन्छ र थप घरजग्गा जोड्न पनि सजिलो हुन्छ भन्ने सोचेकी छु ।’

दार्मा गाउँपालिका ४ निवासी बुदि केसीले पनि भैसीपालनबाट राम्रो आम्दानी भैरहेको बताउनुभयो । ‘एउटा भैँसी पाल्ने हो भने पनि दूधदहि बिक्री गरेर घरखर्च चलाउन सकिने रहिछ’ उहाँले भन्नुभयो ‘अहिले भैँसीको संख्या बढाएर तीन पुर्याएका छौँ, विदेश गएका श्रीमान पनि फर्केर भैसीपालनमा नै लाग्नुभएको छ, यहीबाट नै राम्रो आम्दानी गर्ने सोच बनाएका छौँ ।’

भुगोल र हावापानीले सल्यान उपयुक्त ठाउँ भएकाले यहाँका महिलाहरु पशुपालनमा आकृषित हुन थालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार पशुपालनमा राम्रो सम्भावना देखिएपछि जिल्लामा एक पालिका एक पशुवस्तु उत्पादन कार्यक्रम पनि सञ्चालन भैरहेको छ । स्थानियलाई पशुपालनमा आकृर्षित गर्ने उद्धेश्यका साथ निम्न आय भएका नागरिकलाई पालिका अनुसार भैसी र वाख्रा वितरण गरिएको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यसबर्ष जिल्लाभरका किसानहरुलाई ४ सय ४७ वटा बाख्रा वितरण गरिएको उहाँको भनाइ छ । जिल्लाबाट बार्षिक ५२ हजार भन्दा बढी खसीवोका निर्यात भैरहेका छन् भने बार्षिक २२ हजार ६ सय टन बढी दूध उत्पादन भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस