सल्यानका १ सय ६७ जनप्रतिनिधिले अझै चुनाव खर्च विवरण बुझाएनन्

बन्गाडका मेयर, उपमेयर, समन्वय समितीका उपप्रमुख र सिद्धकुमाखका उपाध्यक्ष सहितका १ सय ६७ जनप्रतिनिधिले चुनाव खर्च विवरण बुझाएनन् ।


सल्यान १, भदौँ ।
स्थानिय तहको चुनावमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ । जिल्लाका दश स्थानिय तह र ८३ वटा वडाहरुमा गत बैशाखमा सम्पन्न चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालयमा अझै सम्म खर्च विवरण नबुझाएको पाइएको हो । पालिका चुनावमा पराजित भएका उम्मेदवारसँगै निर्वाचित उम्मेदवारले समेत खर्च विवरण बुझाएका छैनन् ।

विधि र कानुनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर पालिका चुनावमा उम्मेदवारी दिएका १ हजार ४ सय ८१ उम्मेदवार मध्ये झण्डै ७५ प्रतिशत उम्मेदवारले अझै खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र पालिका चुनाव ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा चुनाव खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाइसहित निर्वाचन कार्यालय समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

तर पालिका चुनावमा निर्वाचित जनप्रतिनिधिहरुले समेत खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पराजित र निर्वाचित गरेर ३ सय ७५ जनाले मात्रै खर्च विवरण बुझाएका छन् । जसमा २ सय ९१ जना निर्वाचित जनप्रतिनिधि र पराजित भएका ८४ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका हुन् ।

चुनावको मत परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्च विवरण पेश गर्न ताकेता गर्दा पनि केहीले मात्रै खर्च विवरण बुझाएको उहाँको भनाइ छ । जिल्ला समन्वय समिती, नगरपालिका र गाउँपालिका गरेर ४ सय ५८ जनप्रतिनिधि मध्ये १ सय ६७ जनाले खर्च विवरण बुझाएका छैनन् । जसमा बन्गाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकी र उपमेयर पुरुषोत्तम आचार्यले समेत खर्च विवरण बुझाउनुभएको छैन् ।

यस्तै जिल्ला समन्वय समितीका उपप्रमुख अशविर बुढाथोकी, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले पनि खर्च विवरण बुझाउनुभएको छैन । कार्यालयका अनुसार जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावल र दुई समस्यले मात्रै खर्च विवरण बुझाएका छन् । यस्तै शारदा नगरपालिकामा ७६ जना निर्वाचित र १२ जना पराजित गरेर ८८ जना, बन्गाड कुपिण्डे नगरपालिकामा एक जना निर्वाचित र १९ जना पराजित गरेर २० जना तथा बागचौर नगरपालिकामा ४७ जना निर्वाचित र १६ जना पराजित गरेर ६३ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।

यस्तै कपुरकोट गाउँपालिकामा निर्वाचित २४ जना र पराजित २ जना गरेर २६ जना, त्रिबेणी गाउँपालिकामा ३० जना निर्वाचित र ६ जना पराजित गरेर ३६ जना, छत्रेश्वरीमा २९ जना निर्वाचित र १२ जना पराजित गरेर ४१ जना, सिद्ध कुमाख गाउँपालिकामा १२ जना निर्वाचित र ६ जना पराजित गरेर १८ जनाले खर्च विवरण बुझाएका छन् । यस्तै दार्मा गाउँपालिकामा ३३ जना निर्वाचित र एक जना पराजित गरेर ३४ जना, कुमाख गाउँपालिकामा ७ जना निर्वाचित र २ जना पराजित गरेर ९ जना, कालिमाटी गाउँपालिकामा निर्वाचित २९ जना र पराजित ८ जना गरी ३८ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।

यस्तै ३ जनाले समयसिमा पछि खर्च विवरण बुझाएका छन् भने जिल्ला समन्वय समितीको निर्वाचनमा पराजित कसैले पनि खर्च विवरण बुझाएका छैनन् । ‘चुनाव सकिएको ३० दिन भित्रमा खर्च विवरण बुझाउनुपर्ने ऐनमा उल्लेख छ’ जिल्ला निर्वाचन अधिकारी भट्टराईले भन्नुभयो ‘तर अधिकांशले खर्च विवरण बुझाउनुभएको छैनन्, हामीले पटक पटक सुचना जारी गरेका हौँ, निर्वाचित जनप्रतिनिधिले समेत बेवास्ता गरेको देखियो ।’

आयोगले नगरपालिकाको मेयर र उपमेयरका लागि ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च सीमा तोकेको थियो । यस्तै वडाअध्यक्ष र सदस्यका लागि पनि खर्चसीमा तोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस