सल्यान पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाका १६ देखि २३ महिना भित्रका ३ हजार ५ सय ७७ बालबालिकाले पूर्ण खोप पाएका छन् ।

सल्यान २, भदौँ ।

सल्यान जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ देशकै ६८ औँ जिल्लाको रुपमा सल्यानलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि बुधवार जिल्लाको सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमका बिच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ देखि २३ महिना सम्मका ३ हजार ५ सय ७७ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । जसअनुसार शारदा नगरपालिकाका ५ सय ३६, बन्गाड कुपिण्डे नगरपालिकाका ५ सय ३३ र बागचौर नगरपालिकाका ५ सय १६ बालबालिकाले पूर्ण खोप पाएका छन् ।

यस्तै कपुरकोट गाउँपालिकाका २ सय १५, त्रिबेणी गाउँपालिकाका २ सय ४८, छत्रेश्वरी गाउँपालिकाका ३ सय ८९, सिद्ध कुमाख गाउँपालिकाका २ सय ११, कालिकाटी गाउँपालिकाका २ सय ३९, दार्मा गाउँपालिकाका ३ सय ४१ र कुमाख गाउँपालिकाका ३ सय ५१ बालबालिकाले पूर्ण खोप पाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो ।

‘पूर्ण खोपयुक्त घोषणाको लागि तयार पारेका सबै सुचक पुरा गरेका छौं, त्यसको आधारमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हौ’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठले भन्नुभयो ‘तर खोप अभियान भने निरन्तर नै चल्ने छ ।’ उहाँले आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिने र कोही पनि बालबालिका खोप लगाउन बाट नछुट्ने बताउनुभयो । बि.सं. २०७३ असार २५ गते जिल्लाको साविक दमाचौर गाविसबाट पुर्ण खोपयुक्त अभियान शुरुवात गरिएको थियो ।

यसअघि जिल्लामा १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमण गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । जिल्लाका सबै वडाहरुको अनुगमण गरि वडा हुँदै जिल्लाका १० वटै स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपश्चात जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । घोषणा सँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चितताका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

जिल्ला खोप समन्वय समितीका अध्यक्ष तथा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख अशविर बुढाथोकीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेतले अव जिल्लाका कुनैपनि बालबालिका खोपबाट बञ्चित नहुने बताउनुभयो । खोपको पूर्ण मात्रा नलगाउदाँ बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै उनीहरुको बृद्धि विकासमा समेत असर गर्ने भएकाले सरकारले तोकेबमोजिमको खोपको मात्रा सबै बालबालिकाले पाउनुपर्ने उहाँको भनाइ छ । जिल्लामा अव कोही पनि बालबालिका खोपको पहुँच बाहिर रहदैनन् भन्ने संकल्पका साथ सल्यान जिल्ला अगाडी बढेको उहाँले बताउनुभयो ।

यस्तै प्रदेशसभा सदस्य गुलावजंग शाहले कोरोना भाइरसका कारण देश आक्रान्त वनेको र मानव जनजीवन थप प्रभावित भएकाले खोपको महत्व अझै बढेको बताउनुभयो । आजका बालबालिका भबिष्यका कर्णाधार भएकाले उनीहरुको लागि पूर्णखोप अनिवार्य भएको र कोही बालबालिका पनि पूर्णखोपबाट छुट्न नहुने उहाँको भनाइ छ । यस्तै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले हरेक बालबालिकालाई बिभिन्न रोगको आक्रमणबाट बचाई स्वस्थ र तन्दुरुस्त बनाउन खोप अनिवार्य भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्का, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस