पोल आयो, बिजुली आएन्

३५ दशमलव ६१ प्रतिशत जिल्लावासी अझै विजुलीको पहुँच बाहिर

सल्यान ८, भदौँ ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ मा बिद्युतीकरणका लागि पोल गाडेको झण्डै ५ बर्ष भयो । बर्षौ पहिले गाडिएका ती पोलमा खिया लागेको छ । बेवारिसे अवस्थामा पोल ठडिएका छन् । तर अझै बत्ती बल्न सकेको छैन् । स्थानिय इन्द्र डिसीले पोल गाडेको लामो समय हुदाँ पनि माल्पे क्षेत्रमा बत्ती बल्न नसकेको बताउनुभयो ।

‘शुरुमा गाउँमा बिजुलीका पोल गाड्न थालेपछि स्थानिय निकैखुसी भएका थिए, अब अध्यारोमा बस्नु पर्दैन भनेर सबै उत्साहित थिए’ उहाँले भन्नुभयो ‘आजभोली भन्दाभन्दै झण्डै पाँच बर्ष बढी भयो तर गाउँमा बत्ती वलेको छैन्, गाडिएका पोलमा खिया लागेको छ ।’ उहाँले गाउँमा बिद्युतीकरण गर्न ढिलाइ हुदाँ नागरिकले झर्को र टुकिको भरमा जीवननिर्वाह गर्दै आएको बताउनुभयो ।

कालिमाटी गाउँपालिका वडा नम्बर ७ काप्रेचौरका टेक बहादुर बिकले घरमा सोलार राखेको झण्डै दश बर्ष बढी भएको छ । ‘घरमा बिजुली जडान गर्ने, टिभि हेर्ने, घरआँगन झिलिमिली बनाउने सपना थियो, तर भर्खर गाउँमा पोल गाड्न थालिएको छ’ उहाँले भन्नुभयो ‘पोल गाडेको ठाँउमा त बर्षौ सम्म बिजुली बलेको छैन् रे, हाम्रो गाउँमा झन् के छिटो विजुली आउँला र ?’

उहाँले गाउँमा बिजुली नहुदाँ बर्षौ देखी झर्को र टुकिको भरमा जीवननिर्वाह गर्दै आएको भएपनि पछिल्लो एक दशकयता मात्रै सोलार जडान गरिएको बताउनुभयो । ‘घरमा उज्यालो बनाउने र छोराछोरीको पढाइमा सहजताको लागि सोलार जडान गरेको हुँ’ उहाँले भन्नुभयो ‘विजुली आउने छाँट छैन्, सोलार पनि पुरानो हुदैँ गएकाले २/४ घण्टामा नै चार्ज सकिन्छ ।’ उहाँका अनुसार काप्रेचौरका ५ सय बढी घरधुरीमध्ये केही गाउँमा मात्रै बत्ती वलेको छ ।

जिल्लामा बिद्युतीकरणका लागि बर्षेनी करोडौँ रुपैँया खर्च हुदैँ आएपनि अझै जिल्लाका नागरिक बिजुलीको पहुँचमा पुग्न सकेका छैनन् । नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाका अनुसार जिल्लाका ३५ दशमलव ६१ प्रतिशत जिल्लावासी अझै विजुलीको पहुँच बाहिर रहेका छन् । कार्यालयका सुचना अधिकारी मदन भण्डारीले हालसम्म जिल्लाका ६४ दशमलव ३९ प्रतिशतमा मात्रै बिद्युतीकरण गरिएको बताउनुभयो ।

‘सबैलाई बिजुलीको पहुँचमा ल्याउनको लागि संघ, प्रदेश र स्थानिय तहले पनि काम गरिरहेका छन्, अहिले जिल्लामा बिद्युतीकरणको काम तिव्रगतिमा भैरहेको छ’ उहाँले भन्नुभयो ‘अबको केहीबर्षमा नै सबै नागरिकलाई बिद्युतको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।’ उहाँले बाफुखोलाका करिब ३ सय घरधुरी स्थानिय लघुजल विद्युतबाट लाभान्वित भएको भएपनि जिल्लाभर भने केन्द्रिय प्रशारण लाइन विस्तार गरिएको बताउनुभयो ।

२८ ग्राहक कालोसुचिमा

नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लामा समयमा नै बिद्युत महसुल नबुझाउने २८ ग्राहक कालोसुचिमा परेका छन् । उनीहरुबाट एक लाख ४९ हजार ८ सय ९७ रुपैँया ५३ पैसा उठन् बाँकी रहेको छ । यस्तै गतबर्ष कालोसुचिमा परेका ३ ग्राहकबाट ४३ हजार ४ सय ५४ रुपैयाँ ३५ पैँसा असुल गरिएको छ ।

यस्तै समयमा नै बिद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेर ३२ लाख ३२ हजार ३ सय ८२ रुपैँया ५० पैसा महसुल उठाइएको छ भने ६० दिनभन्दा बढी समयसम्म बिद्युत महसुल नतिर्ने ग्राहकबाट २९ लाख ८४ हजार ८ सय ३३ रुपैँया १ पैसा उठाउन बाँकी रहेको छ ।

जिल्लामा बर्षेनी नयाँ ग्राहकको संख्या थपिनेक्रम बढ्दै गएको छ । हालसम्म जिल्लामा १७ हजार ७ सय ४७ ग्राहक संख्या रहेको छ । जसमा गत आर्थिक बर्षमा मात्रै २ हजार २ सय ७४ नयाँ ग्राहक थपिएका छन् । यस्तै ७ सय ५५ ग्राहक यही महिनादेखी थप हुने प्रक्रियामा रहेका छन् ।

बिद्युत चुहावट ३ प्रतिशतले घट्यो

नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जिल्लामा बिद्युत चुहावट झण्डै तीन प्रतिशतले घटेको जनाएको छ । अघिल्लो बर्ष जिल्लामा १३ दशमलव ५५ प्रतिशत रहेको चुहावट गएकोबर्षमा घटेर १० दशमलव ९२ प्रतिशतमा झरेको छ । यस्तै बिद्युत चुहावट गर्ने ५ जनालाई कारवाही गरिएको छ । जसबाट ४८ हजार ७ सय ९३ रुपैँया असुल गरिएको कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस