सल्यान १३, भदौँ ।
कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्वच्छ पानी पिउनु नागरिकको अधिकार भएको बताउनुभएको छ । उहाँले खानेपानीको अभावकै कारण नागरिकहरुले बर्षौदेखी दुख पाइरहेकाले स्वच्छ पानी पिउनु नागरिकको अधिकार भएको र त्यसका लागि राज्यले पहल गरिनुपर्ने बताउनुभएको हो ।
सोमबार जिल्लाको बागचौर नगरपालिका–२ मा रहेको बागचौर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । खानेपानीका विषयमा सरकारले ध्यान दिन आवश्यक रहेको बताउदैँ उहाँले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माणका विषयमा दायित्व बोध गर्दै आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उपभोक्ताहरुले पनि आफ्नो अधिकारका बारेमा सोच्नुपर्छ तर अधिकार खोज्दै गर्दा निर्माण भएका विकास निर्माणका कुराहरुलाई संरक्षण समेत गर्नुपर्ने उहाँको भनाइ छ । विकास निर्माणका सवालमा सम्पुर्ण राजनीतिक दल सबैसँग समन्वय गरि अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले खानेपानीको क्षेत्रमा जति समस्या र चुनौतीहरु छन् त्यति नै अबसरहरु पनि रहेको बताउनुभएको छ । सिमित श्रोतसाधन छन्, समस्या र आवश्यताहरु धेरै छन्, अब बागचौर नगरपालिका भित्र खानेपानीका क्षेत्रको समस्याहरुको पहिचान गरि अगाडि बढ्छौँ उहाँले भन्नुभयो हामी यस्ता लिफ्ट खानेपानी बनाउन प्रदेश सरकार र संघिय सरकारसँग विशेष पहल गर्नेछौं ।
कार्यक्रममा नगर उपप्रमुख सुम्निमा डिसी, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा लगाएतकाले बोल्नुभएको थियो ।
खानेपानी आयोजना निर्माण उपभोक्ता समितीका अध्यक्ष ज्ञानेश्वर केसीले यस आयोजनाबाट नगर भित्रका बागचौर बजार, थारमारे बजार, जिउँला, मिलन डाँडाका करिब ४ सय घरधुरी शुद्ध खानेपानीको पहुँचमा रहेको बताउनुभयो । कुल ३ करोड १६ लाखको डिपिआर मध्ये बहुबर्षिय आयोजना मार्फत हालसम्म १ करोड ९० लाख खर्च छ ।