किसानलाई मकै जोगाउनै मुस्किल : दिउँसो बाँदर, राती बदेंल !

दिनभर बारीका छेउमा बसेर टिन ठटाउदैँ पहरा दिदैँ आएका किसानले रातको समयमा बारीमै टहरा बनाएर बस्ने गरेका छन् ।

सल्यान १६, भदौँ ।
सल्यानका किसानलाई मकैँ जोगाउन मुस्किल परेको छ । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकैँमा दिउँसो बाँदर र रातको समयमा बदेंलले नष्ट गर्न थालेपछि किसानलाई बाली जोगाउनै मुस्किल परेको भएको हो । दिनभर बारीका छेउमा बसेर टिन ठटाउदैँ पहरा दिदैँ आएका किसानले रातको समयमा बारीमै टहरा बनाएर बस्ने गरेका छन् ।

समयमा नै बर्षात नहुदाँ ढिला गरेर मकैँ रोपेका किसान जंगली वन्यजन्तुले नष्ट गर्न थालेपछि चिन्तित भएका छन् । जिल्लाको कालिमाटी क्षेत्र, कपुरकोट क्षेत्र, कुमाख क्षेत्र, निगालचुला, झिम्पे, लेखपोखरा लगाएतका क्षेत्रमा किसानले लगाएको मकैँवालीमा बाँदर र बदेंलले क्षती गर्न थालेको हो । कतिपय ठाउँमा चरा, मुसा तथा दुम्सीले समेत मकैँवाली क्षति गरेको र बारी खाली देखिन थालेका किसान बताउँछन् ।

वन्यजन्तुकै कारण उत्पादन घट्न थालेपछि कतिपय बसाँई सर्न थालेका छन् भने कतिपयले बारी बाँझै छोड्न थालेका छन् । जिल्लाको कुमाख गाउँपालिका–४ का किसान चित्रनाथ योगीले मकैबाली जोगाउन बारीमै टहरा बनाएको बताउनुभयो । दिउँसोको समयमा बाँदर र रातको समयमा जंगली बदेंलले बारीमा लगाएको मकै नष्ट गर्न थालेपछि बारी छेउमै बनाइएको टहरामा पहरा दिइरहेको उहाँको भनाइ छ ।

कालिमाटी गाउँपालिका–७ की पवित्रा पुन अनिँदो बस्न थालेको एक महिना बढी भइसकेको छ । मकैबाली जोगाउन बारीमा टहरा बनाएर रातभर जाग्राम बसेपनि मकैबाली जोगाउन सकिएको छैन् । ‘दिउँसो बाँदर र राति बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ, बारीमा रोपेको मकै जंगली जनावरले नष्ट गरेपछि परिवार के ले पाल्ने भन्ने चिन्ता छ’ उहाँले भन्नुभयो ।

उहाँले जंगलको विचमा वस्तीहुदाँ चारैतिरका वन्यजन्तुहरु आहारा खोज्दै बस्ती आउने गरेको बताउनुभयो । ‘हाम्रो त यहाँको चारैतीर जंगल छ, रुख काट्न पाइदैन्, वन्यजन्तुको संख्या बढेसँगै बस्तीमा पस्न थालेका छन्, मकैँसँगै सिमी, भटमास केही बाँकी राख्दैनन्’ उहाँले भन्नुभयो ‘मकैँ रोपेदेखी भित्र्याउने बेला सम्म बारीमै डिउटी दिनुपर्छ ।’

कुमाखका किसान शिव बहादुर केसीले जंगलबाट बथानमा आउने बदेंल धपाउनै मस्कील हुनेगरेको बताउनुभयो । ‘बँदेलले मकैबाली पूर्ण रुपमा नोक्सान गरिसकेको छ’ उहाँले भन्नुभयो ‘रातभर पहरा दिने गरेपनि जंगलबाट बथानमा आउने बँदेल धपाउनै मुस्कील हुने गरेको छ ।’ मकैको घोगा लाग्ने बेलादेखि नै जंगली बदेलले नष्ट गर्नथालेको उहाँको भनाइ छ ।

‘बदेंल धपाउनको लागि रातमा पनि बारीमा बस्छौं तर पनि रातको समयमा समूहमा बदेंल आउछन् यता धपाउदा उता जान्छन् उता धपाउदा यता मकै सखापै पार्छन्’ उहाँले भन्नुभयो ‘बथानमा आउने बदेंलले निकै सास्ती दिए, बथानमा आउने बदेंललाई एक्लै धपाउनै सकिदैन्, मार्न पनि नपाइने भएकाले बदेंलको संख्यामा पनि वृद्धि भएकाले बाली जोगाउनै हम्मेहम्मे परेको छ ।’

जिल्लाको मुख्य खाद्यान्न बाली मकैँ हो । यस जिल्लाका अधिकांश क्षेत्रमा मकैँ रोप्ने गरिन्छ । जिल्लाभर बर्षेनी झण्डै १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकैँ खेती हुदैँ आएको कृषि बिकास कार्यालय सल्यानको भनाइ छ । यहाँका किसानले मनकामना–३, मनकामना–५, देउती, अरुण–२, अरुण–४, रामपुर कम्पोजिट लगाएत जातको मकैँ खेती गर्दै आएका छन् ।

जिल्लामा उत्पादित मकैँ मध्ये केही मकैँ जिल्लामा नै खपत हुन्छ भने बाँकी जिल्ला वाहिर निर्यात हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस