शारदा नगरपालिकामा बृहत खानेपानी आयोजना सञ्चालन हुने

सल्यान १७, भदौँ ।
सल्यानको शारदा नगरपालिकामा बृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ । नगरपालिका भित्रका १५ वटै वडाहरुलाई समाबेश गरेर खानेपानीको पहुँचमा नभएका बस्तीहरुमा खानेपानी पुर्याउने लक्ष्यका साथ बृहत खानेपानी आयोजना सञ्चालन हुने भएको हो । पालिकाको आर्थिक, प्राविधिक, संस्थागत र व्यवस्थापकीय क्षमतालाई सुदृढ गर्दै खानेपानी र सरसफाई सेवालाई पर्याप्त र प्रभावकारी बनाउनको लागि नेपाल सरकारले सहयोग गर्ने भएको छ ।

यसका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय र शारदा नगरपालिकाका बिच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन सम्बन्धमा आयोजना सञ्चालन सहभागिता सम्झौता भएको हो । जसमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडी र शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीका विच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस आयोजनाले पालिकास्तरमा सुधारिएको खानेपानी र सरसफाई सेवाहरुको समानुपातिक पहुँच बढाउन सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ । देशकै वृहत् खानेपानी आयोजना अन्तरगत रहेको यस आयोजनाले शारदा नगरपालिकाका सबै वडा भित्रको खानेपानीको समस्याको समाधान गर्ने नगरप्रमुख भण्डारीले बताउनुभयो ।

छ बर्षे सम्झौता भएपनि जतिसक्दो छिटो काम सम्पन्न गर्नेगरी नगरले काम गर्ने उहाँले बताउनुभयो । यसमा नगरपालिकाको पनि केही लागत साझेदारी रहने छ । विश्व बैंक र खानेपानी तथा ढल ब्यबस्थापन विभागको करिब ९१ करोड बढी वजेटबाट यस आयोजना सञ्चालन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस