सल्यान, १९ भदौँ ।
सल्यानको शारदा नगरपालिकामा सञ्चालित खलंगा सितलपाटी लिफ्ट खानेपानी आयोजना मार्फत नगरभित्रका दुई हजार बढी घरधुरीमा शुद्ध खानेपानी पुगेको छ । शारदा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ भित्रका निजि तथा सरकारी कार्यालय र बिद्यालयमा गरेर दुई हजार एक सय चार घरधुरीमा शुद्ध खानेपानी पुगेको हो ।
शनिवार जिल्लाको सदरमुकाम खलंगामा आयोजित खलंगा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैठौँ साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष केशव बहादुर बुढाथोकीले २०७१ सालमा निर्माण सम्पन्न यस आयोजनाबाट पानीको पहुँच बाहिर रहेका नागरिकहरु लाभान्वित भएको बताउनुभयो । करिब साढेँ १५ करोड रुपैँयाको लागतमा यस आयोजना सम्पन्न भएको थियो ।
उहाँले २४ सै घण्टा उपभोक्ताको घर घरमा खानेपानी पुर्याउनको लागि थप डिजाइन र पुर्वाधार निर्माणको काम बाँकी रहेको बताउनुभयो । ‘विगतमा जिल्लाको सदरमुकाम खलंगामा खानेपानीको निकैँ समस्या थियो, खानेपानीको अभावमा काकाकुल भएका खलंगावासी र आसपासको क्षेत्रका नागरिकका लागि यो गौरवको आयोजना थियो’ उहाँले भन्नुभयो ‘अहिले साँझ र विहानको समयमा पानी सञ्चालन गरिरहेका छौँ, अवका दिनमा २४ सैँ घण्टा सञ्चालन गर्ने हाम्रो योजना छ ।’
यस्तै यसक्षेत्र भित्र रहेका पुरानो पानीका योजनालाई व्यवस्थित गरी त्यसक्षेत्रका उपभोक्ताको घर घरमा मिटर जडानद्धारा पानी वितरण गरिएको उहाँको भनाइ छ । उहाँले अहिले दैनिक ८ लाख ५० हजार लिटर पानी वितरण भैरहेको बताउनुभयो । यस्तै यस संस्थाले चालु आर्थिक बर्ष २०७९/०८० मा पानी महसुल, बिलम्ब शुल्क, महसुल कार्ड, नयाँ धारा जडान लगाएतका शिर्षकबाट करिब २ करोड, ५ लाख ९९ हजार रुपैँया आम्दानी गर्ने अनुमान गरेको छ ।
साधारणसभामा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले अव नगरभित्रका कुनै पनि नागरिकले खानेपानीको समस्या भोग्नु नपर्ने बताउनुभएको छ । नगरका बिभिन्न वडाहरुमा खानेपानी योजना सञ्चालन भैरहेको र बाँकी स्थानमा पनि योजना सञ्चालनको तयारीमा रहेकाले अवका केही बर्षमा नै नगरका सबै नागरिकको घर घरमा खानेपानी पुग्ने उहाँले बताउनुभएको हो ।
साधारण सभामा नेपाली काँग्रेसका नगरसभापति दिपक हमाल, नेकपा एमालेका नगर कमिटी अध्यक्ष मधुसुदन शर्मा, नेकपा माओवादी केन्द्रका नविन भडेँल, शारदा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष किशोर कुमार हमाल, वडा नम्बर १२ का वडाअध्यक्ष सुरेन्द्र बुढा, खानेपानी सरसफाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा, संस्थाका सल्लाहकार समिती सदस्य विर बहादुर सेजवाल, सहभागि सन्तोष कुमार राई लगाएतकाले बोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष मौषमदास श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुधन श्रेष्ठले गर्नुभएको थियो ।