‘राती १ वजे उठेर लाइन लाग्नु पर्दैन्’

बागचौरका घर–घरमा खानेपानी धारा

सल्यान, २० भदौ ।
‘गर्मीयाममा कि रातिको एक वजे उठ्नुपर्ने पानी ल्याउन, कि साँझको खाना खाएर जानुपर्ने र पानी बोक्न लागेको राति एक वजेसम्म बोक्नुपथ्र्यो, त्यो बेलामा मोवाईल थिएनन्, टर्च बाली–बाली पानी भर्नुपथ्र्यो, रातिमा पनि केही डर हुन्थेन्, मात्रै पानी को चिन्ता हुन्थ्यो’ यो भनाई हो सल्यानको बागचौर नगरपालिका २ बागचौरकी स्थानिय दिपा खत्रीको । विगतमा यहाँ खानेपानी नहुदाँ निकै समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।

‘घरबाट एक डेढ घण्टा लगाएर धारामा गयो, बर्खामा पानी प्रशस्त हुन्थ्यो फेरी, तर बाटो साँघुरो र चिप्लो हुन्थ्यो, लड्दै हिड्यो, कयौ पटक त लडेर गाग्री कुच्चिन्थे, गाग्री पानी चुहिने हुन्थे’ उहाँले विगत सम्झदैँ भन्नुभयो ‘यो डाँडामा पानी आउदा भन्ने त हामीले कल्पना नै गरेका थिएनौँ, अहिले त घर–घरमा धारा आएका छन्, घरैमा पानी आएको छ, असाध्यै खुसी लागेको छ ।’ उहाँले लिफ्ट प्रविधिबाट घर–घरमा नै पानी आएपछि पानीका दुख सदाका लागि सकिएको बताउनुभयो ।

बागचौरकै रोजी बुढाथोकीको पिडा पनि त्यो भन्दा कम थिएन् । ‘घरबाट हिडेर एक घण्टा टाढा जानुपथ्र्यो, तर गाउँभरीका सबैले एउटै धाराको पानी खानुपर्दाखेरी लाइन लाग्नुपथ्र्यो, घरमा एक्लै भएमा वा साना बालबालिकाहरु भएकालाई झन् समस्या हुन्थ्यो’ विगत सम्झदैँ उहाँले भन्नुभयो ‘अहिले त हामी जति खुसी को नै होला र ? घरैमा पानी आएको छ, पानी ल्याउन जादाको समय अन्य काममा प्रयोग हुन्छ ।’ घरमा प्रयोग भएर खेर गएको पानीको करेसवारीमा सदुपयोग गर्दै आएको उहाँको भनाइ छ ।

बिगतमा खानेपानीको अभावमा निकै सास्ती पाउदैँ आएका यहाँका स्थानियहरु बागचौर लिफ्ट खानेपानी मार्फत झण्डै एक किलोमिटर टाढा जंगारखोलाको पानी घरैमा आएपछि खुसी भएकाछन् । अहिले लिफ्ट प्रविधिबाट घर–घरमा खानेपानी पुगेपछि नागरिकका दुख त हटेका छन् नै, यसले दैनिकी प िफेरिएको छ । मानव वस्ती विस्तार हुदैँ जाने तर सबैले चुचाउने खोलाको पानी प्रयोग गर्ने भएकाले विगतमा निकै समस्या रहेको थियो ।

खानेपानीको समस्या समाधान गर्न २०४२ सालमा एउटा खानेपानीको योजना पर्यो । यसबाट बागचौ र थारमारेका नागरिकले उपभोग गर्दै आएका थिए । तर पानीको मुहान सक्दै जाने र थारमारेमा नै पानीको माग बढ्न थालेपछि वागचौर जाने पाइनलाइन काटियो । २०५९ सालमा फेरी अर्को योजना पर्यो र कोटमौला नजिकबाट पानी आयो तर त्यो पनि दिगो हुन सकेन् ।

मानवबस्ती थपिदै जाने तर पानीको सिमित स्रोत हुदा खानेपानीको समस्या भएको अर्का स्थानिय चुडामणी खत्रीले बताउनुभयो । ‘अहिले त यहाँ मानवबस्ती बढ्दै गएको छ, जनघनत्व बढ्न थालेकाले पानीको समस्या भएको हो’ उहाँले भन्नुभयो ‘कर्णाली प्रदेश सरकारको वजेट मार्फत लिफ्ट योजना सम्पन्न भएकाले घरैमा खानेपानी आएको छ, यसले नागरिकमा खुसीयाली छाएको छ ।’

यो आयोजनाबाट अहिलेसम्म झण्डै एक सय बढी घरधुरीमा खानेपानी पुगिसकेको छ । क्रमागत आयोजना भएकाले बाँकी घरमा धारा जडान कार्यजारी छ । जसमा बागचौर बजार, थारमारे बजार, जिउँला, मिलन डाँडाका करिब ४ सय घरधुरी लाभान्वित हुने छन् । कर्णाली प्रदेश सरकारको बहुबर्षिय आयोजना मार्फत ३ करोड १६ लाखको डिपिआर भएकोमा हालसम्म १ करोड ९० लाख रुपैयाँ खर्च भएको बागचौर खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर केसीले बताउनुभयो ।

जसबाट एक सय घनमिटर, ७० घनमिटर र ३० घनमिटरका ती वटा ट्यांकी निर्माण गरिएको छ । आगामी दिनमा यस आयोजना विस्तारका क्रममा एक हजार घरधुरी लाभान्वित हुने अध्यक्ष केसीको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस