पुरानो मिति राखेर रातारात कर्मचारीको सरुवा

सुर्खेत २३, भदौ ।
निर्वाचन आचारसंहिता लागु हुने भन्दै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रातारात कर्मचारीको सरुवा गरेको छ । यही भदौँ १९ गते रातीसम्म पनि कर्मचारीको सरुवाको कुनैपनि निर्णय नभएपनि मन्त्रालयले सोही दिनको मिति राखेर ठूलो संख्यामा कर्मचारीको सरुवा गरिएको पाइएको हो । मन्त्रालयले मन्त्रीस्तरको निर्णय भन्दै पुरानो मिति राखेर एमाले, माओवादी र समाजवादी निकटका कर्मचारीहरुलाई सरुवा गरेको पाईएको हो । किनकि २० गते विहानसम्म पनि कर्मचारी सरुवाको कुनैपनि निर्णय भएको थिएन ।

सरुवाको सुचिमा नाम भएका एक कर्मचारीले भने प्रदेशसरकारको सामाजिक बिकास मन्त्रालयले कर्मचारीको सरुवा गरेर गलत नजिर बसायो, यो कर्मचारी सरुवा ऐन विपरित छ, पदपुर्ती भैसकेको अवस्थामा विना दरबन्दी सरुवा गरिएको छ, तल्लो लेवलको दरबन्दी भएको ठाउँमा माथिल्लो लेवलको कर्मचारी पठाएको छ, यसले कर्मचारीको काम गर्ने मनोवल गिराएको छ ।

सामाजिक विकास मन्त्रीमा हाल नेपाली काँग्रेसका यज्ञ बहादुर बुढा क्षेत्री हुनुहुन्छ । उहाँ १९ गते रातीसम्म पनि मन्त्रालयमा आउनुभएको थिएनन् । २० गतेबाट निर्वाचन आचारसंहिता लाग्ने भन्दै १९ गतेको निर्णय बमोजिम भन्दै २४ जना कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । कर्मचारी समायोजनका समयमा स्थानिय तहमा समायोजन भयका कर्मचारीलाई प्रदेशको दरवन्दिमा सरूवा गरिएको छ जब कि संघमा समायोजन भएका कर्मचारीहरूले एक पटकका लागि प्रदेश वा स्थानिय तहमा जान सक्ने तर स्थानिय तहको कर्मचारी प्रदेश र संघमा जान नसक्ने व्यवस्था कर्मचारी समायोजन ऐनले गरेको छ ।

अर्को तिर जनस्वास्थ्य कार्यालयहरूमा रहेको पाँचौ, छैठाँै र सातौँ तहको दरवन्दीमा काग्रेस निकटका चौथो, पाचौ र छैठौ तहका लाई सरूवा गरिएको छ । यो कार्य कर्णाली प्रदेश सरकार आफैले वनाएको संगठन संरचनाको विपरित भएको कर्मचारीको भनाई छ । यता, मन्त्रालयले भने १९ गते नै निर्णय भएको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस