सल्यान, २३ भदौँ ।
सल्यानको सितलपाटीमा रहेको शिवजन माद्यामिक बिद्यालयमा पढ्दै कमाउदैँ कार्यक्रम सञ्चालन भएपछि बिद्यार्थीहरु व्यवसायिक बन्न थालेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यक्रम यस विद्यालयमा सञ्चालन भएपछि बिद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ । जस अन्र्तगत यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
यस बिद्यालयको कक्षा १२ सम्ममा अध्ययनरत प्राविधिक र साधारण धार तर्फका बिद्यार्थीहरुले बिद्यालयबाटै ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्न थालेका हुन् । अहिले यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले चार वटा समुह मार्फत ऋण लिएर ब्यवसायिक कृषि गर्न थालेका छन् । उनीहरुले बिद्यालयबाट विना ब्याँज २५ हजार रुपैँया ऋण लिएर कृषिकर्म गर्न थालेको बिद्यालयले जनाएको छ ।
बिद्यालयका कृषि प्रशिक्षक किरण गौतमले बिद्यार्थीलाई आर्थिक रुपमा सक्षम बनाउन र व्यवसायिक बनाउनको लागि पढ्दै कमाउदैँ कार्यक्रम मार्फत बिद्यार्थीहरुले तरकारी खेती शुरु गरेको बताउनुभयो । ‘बिद्यार्थीहरुले प्रयोगात्मक कक्षाका क्रममा खेती गरिएको तरकारीले उत्पादन दिइरहेको छ, पढ्दै कमाउदैँ कार्यक्रम मार्फत पनि उनीहरुले तरकारी खेती शुरु गरेका छन्’ उहाँले भन्नुभयो ‘बिक्री गर्न मिल्ने खालको तरकारी हुन लागिसकेको छ ।’
बिद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बिद्यार्थीहरु यस कार्यक्रम तर्फ आकृर्षित भएको बताउनुभयो । ‘बिद्यालयले नै बिना ब्याँजमा ऋण दिन्छ, बिद्यालय कै जग्गा उपयोग गर्ने हो, वीउविजन बिद्यालयले नै दिन्छ, बिद्यार्थीहरुले कर्म गर्ने हो’ उहाँले भन्नुभयो ‘बिद्यार्थीहरुको प्रत्येक समुहलाई २५ हजारका दरले ऋण दिएका छौँ, यसमा उनीहरुले बिद्यालयलाई साँवा फिर्ता गर्ने हो, ब्याज दिनुपर्दैन ।’ उहाँले व्यवसायबाट कमाएको नाफा सबै बिद्यार्थीहरुले नै पाउने बताउनुभयो ।
विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन् । त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् । सोही आधारमा बिद्यार्थीहरुलाई विना ब्याँजमा ऋण लगानी गर्दै आएको उहाँको भनाइ छ । ‘कुनैपनि बिद्यार्थी आर्थिक अभावमा पढ्नबाट बञ्चित हुनुहुदैन्, उनीहरुले कापीकलम, बिद्यालय पोशाक आफैले कमाएको पैसाले किन्न सक्नेहुन्छन्’ उहाँले भन्नुभयो ‘यसले बिद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्छ ।’
यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीले उत्पादन गरेको तरकारी बिक्रीका लागि बिद्यालय आफैले वजारीकरण गर्ने व्यवस्था गरेको छ । यसका लागि बिद्यालयकै हाताभित्र कृषि व्यवसाय प्रर्वद्धन सेवा केन्द्र सञ्चालन गरिएको छ । बिद्यार्थीहरुले उत्पादन गरेको तरकारी वजारभाउ भन्दा केही सस्तोमुल्यमा बिक्री गर्ने गरिएको छ । अहिले प्रयोगात्मक कक्षाका क्रममा खेतिगरिएको तरकारी बिक्री भैरहेको छ भने अवको केहीदिनमा पढ्दै कमाउदैँ कार्यक्रम मार्फत बिद्यार्थीहरुले उत्पादन गरेको तरकारी बिक्री हुने छ ।
यस केन्द्रबाट अहिले लौका, फर्सी, चिचिन्ना, सिमी, प्याज, टमाटर, आलु, भान्टा, खुर्सानी लगाएतका तरकारी विक्री भैरहेको सेवा केन्द्र सञ्चालक सिता मल्लले बताउनुभयो । यहाँको तरकारी क्यान्टिन, बिद्यार्थी र स्थानियले लिने गरेको उहाँले बताउनुभयो । यस्तै यस बिद्यालयमा अध्ययनरत वनबिज्ञान तर्फका बिद्यार्थीहरुले तरकारी, फलफूल र वनजन्य बिरुवाहरु उत्पादन गरिरहेका छन् । अंग्रेजी माध्यमबाट समेत पढाइ हुने यस बिद्यालयमा २ हजार २ सय ९५ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।