‘जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न सबैको प्रयास आवश्यक’

सल्यान, ३ असोज ।
जातिय विभेद तथा छुवाछुत अन्त्य गर्नका लागि सबैको प्रयास आवश्यक रहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिताहरुले जोड दिएका छन् । पछिल्लोपुस्ताले जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्दै अघि बढेको भएपनि अघिल्लोपुस्ताले विभेद अन्त्यमा आनाकानी गर्दा समस्या भएको उनीहरुले बताएका हुन् ।

यसका लागि सबै क्षेत्र, बर्ग, समुदाय, नागरिक समाज, प्रहरी प्रशासन सहित सबैनिकाय साझा अभियानका रुपमा अघि बढ्नुपर्ने उनीहरुले बताएका हुन् । समता फाउण्डेशनद्धारा आइतवार खलंगामा आयोजित जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि कानुन कार्यान्वयन गर्ने निकायको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

दलित अधिकारकर्मी यज्ञ कुमार बिकले दलित समुदाय भित्रको शिक्षित व्यक्ति समस्यामा नभएपनि आर्थिक, सामाजिक, शैक्षिक रुपमा पछि परेका दलित समुदायका नागरिकहरु अझै छिचोमिचोमा परेको बताउनुभयो । ‘हामी त बोल्न सक्छौँ, हामीलाई हाम्रो अधिकारका बारेमा जानकारी छ, दलित बाहेकका अरु जातिका मानिसहरुसँग सजिलै घुलमिल हुन्छौँ, तर हाम्रै परिवार छिचोमिचोमा छन’ उहाँले भन्नुभयो ।

उहाँले विगतमा जसरी खुलेरै विभेद तथा छुवाछुत नभएपनि त्यसका केही अंशहरु अझै समाजमा देखिने गरेको बताउनुभयो । ‘शिक्षित वर्गहरु हामीसँग हातेमालो गर्छन्, तर उनीहरु घरमा केही गर्न सक्दैनन्, पुरानो पुस्ताले मान्दैन् भन्छन’ उहाँले भन्नुभयो ‘जुनसुकै कारण होस्, दलित माथि हुने विभेद हट्न सकेको छैन्, जातकै कारण विहे रोकिन्छन्, खुलेरै आफ्नो अधिकार प्रयोग गर्न वञ्चित गरिएको छ ।’

अर्का अधिकारकर्मी कर्ण बहादुर विकले सबैक्षेत्रको पहल र एकता विना जातिय विभेद तथा छुवाछुत अन्त्य गर्न नसकिने बताउनुभयो । ‘ग्रामिणक्षेत्रमा यस्ता घटनाहरु भैरहेका छन्, तर सामाजिक समस्या, राजनितिक दवाव, आर्थिक प्रलोभन लगाएतका बिभिन्न कारणले ती घटना बाहिर आउन सक्दैनन्’ उहाँले भन्नुभयो ‘पहिलेको भन्दा त केही हदसम्म त्यस्ता घटनामा कमी आएको छ, तर अझैपनि ग्रामिण भेगमा सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक सन्तोष खनालले पछिल्लो समय जातिय विभेद तथा छुवाछुत सम्बन्धिका उजुरीहरु प्रहरीसम्म नआएको र यदी समाजमा त्यस्ता घटना घटेको पाईए कानुन वमोजिम कारवाही गरिने बताउनुभयो । यस्तै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले जातिय विभेद अन्त्य गर्नका लागि नगरपालिकाले जनचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले समाजमा जनचेतना बढ्दै जानु र कानुनका बारेमा पनि आमनागरिक जानकार बन्दै गएकाले जिल्लामा जातिय विभेद तथा छुवाछुतका घटनामा कमी आएको हुनसक्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण समता फाउण्डेशनका रोजी विशंखी र प्रकृति बुढामगरले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित