सल्यान, ६ असोज ।
गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुने गर्दथ्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ । हुलाक मार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने भएकाले हुलाक सेवा ओझेलमा पर्दै गएको हो ।
सल्यानको छत्रेश्वरी निवासी दिपा खत्रीले हुलाक सेवा प्रयोग नगरेको डेढ दशक भइसक्यो । वि.सं. २०६३ साल तिर मलेसियामा रहेका छोराको चिठ्ठी पाएको उहाँ सम्झनुहुन्छ । ‘छोरा रोजगारीका लागि मलेसिया गयो, यसको करिब दुई बर्षपछि चिठ्ठी आयो, भनेअनुसारको काम नपाएर कम्पनी नै छोडेर अर्को कम्पनीमा लागेको रहिछ’ उहाँले विगत सम्झिँदै भन्नुभयो ‘त्यो बेलाको कुरा गर्दा त अहिले कहानीजस्तो लाग्छ ।’
उहाँका अनुसार त्यो बेला हुलाकी गाउँमा देखिँदा कसको के खबर आयो भनेर सोध्ने गरिन्थ्यो । ‘छोरा मलेसिया पुगेको खबर दुई बर्षपछि आयो’ उहाँले भन्नुभयो ‘अहिले त मिनेट–मिनेटमा कुरा हुन्छ, जमाना कहाँ पुगिसक्यो ।’ तत्कालीन समयमा चिठ्ठी आएपछि गाउँले सबै भेला भएर जान्ने एक जनाले बाचन गर्ने र अरुले सुन्ने गर्थे ।
‘अहिले त सबै पढेलेखेका छन्, त्यो बेला चिठ्ठी पढ्ने मान्छे पनि खोज्नुपथ्र्यो’ उहाँले भन्नुभयो ‘देश–विदेशमा गएका छोरा र आफन्तको खबर आउने माध्यम भनेकै चिठ्ठीपत्र थियो ।’ पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले आफन्त वा साथीलाई सन्देश पठाउन सर्वसाधारणले मोबाइल, टेलिफोन, इन्टरनेट, सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनलाई नै परिवर्तन गरिदिएको छ ।
अन्य मुलुकको तुलनामा नेपालमा सुस्त गतिले भए पनि सूचना प्रविधिले फड्को मारेको बन्गाड कुपिण्डे निवासी गोविन्द डाँगीले बताउनुभयो । ‘अहिले इन्टरनेट, इमेलको युग छ, यसले चिठ्ठीपत्रको सञ्चारलाई ओझेलमा पारेको छ’ उहाँले भन्नुभयो ‘अव हुलाकलाई ई–सञ्चार केन्द्रका रूपमा विकास गरिनुपर्छ ।’ उहाँले प्रविधिमा नागरिकको पहुँच बढ्दै गएकाले हुलाक सेवालाई पनि जीवन्त राख्न ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्न सकिने बताउनुभयो । ‘हुलाकलाई विदेशको खबर होइन् विदेशको पैसा बोक्ने विश्वासिलो माध्यम बनाउनुपर्छ’ उहाँले भन्नुभयो ।
जिल्ला हुलाक कार्यालय सल्यानका सुचना अधिकारी घमण्ड बहादुर भण्डारीले पछिल्लो एक दशकयता व्यक्तिगत चिठ्ठी आउन छाडेको बताउनुभयो । ‘अहिले सरकारी कार्यालयका चिठ्ठी मात्रै आउँछन्, तत्कालै पठाउने पर्ने सुचना इमेल मार्फत पठाउने चलन छ’ उहाँले भन्नुभयो ‘महत्वपूर्ण कागजात पठाउन त अझै हुलाककै प्रयोग गर्छन् ।’ प्रविधिको विकासले चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएकाले हुलाक सेवा प्रयोग गर्नेहरूको संख्यामा कमी आएको उहाँको भनाइ छ ।
‘पहिले त व्यक्तिगत चिठ्ठी, खाद्यान्न, कपडा समेत हुलाक मार्फत आउथेँ, तर अहिले आउनै छोडे, सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री लगायत काम हुने गरेको छ’ उहाँले थप्नुभयो ‘सरकारी चिठ्ठी र केही व्यक्तिको महत्वपूर्ण कागजात लगायतका २०/२५ वटा चिठ्ठीपत्र दैनिक आउने गरेका छन् ।’ नागरिकमा वचत गर्ने वानीको विकास गर्नको लागि हुलाक वचत बैँक सञ्चालन भैरहेको उहाँको भनाइ छ । जसमा दुई हजार एक सय ७५ खाता सञ्चालनमा रहेका छन् ।
यस बर्ष चार वटा रेडियोको इजाजतपत्र नविकरण गरिएको कार्यालयले जनाएको छ । गत वर्षदेखि सूचना तथा सञ्चार मन्त्रालयले पत्रपत्रिका, रेडियो, टेलिभिजनको इजाजतपत्र नवीकरण गर्न हुलाक कार्यालयलाई अनुमति दिएको थियो । जिल्लामा जिल्ला हुलाक कार्यालय, इलाका हुलाक कार्यालय ९ वटा र ३७ अतिरिक्त हुलाक कार्यालय छन् ।