ग्रामिण बचत तथा ऋण सहकारीको कुल पुँजी २५ करोड बढी

सल्यान, ७ असोज ।
सल्यानको खलंगामा सञ्चालित ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी २५ करोड बढी पुगेको छ । आर्थिक बर्ष २०७८/०७९ सम्म यस सहकारीको कुल पुँजी २५ करोड ७ लाख ६ हजार ५ सय ७७ रुपैँया पुगेको हो । विहीबार संस्थाको २८ औँ बार्षिक साधारणसभामा संस्थाको कुल नाफा ७९ लाख ५६ हजार ७ सय ७४ रुपैँया रहेको जानकारी दिइएको छ ।

यस सहकारीमा हाल एक हजार एक सय ६० जना महिला र एक हजार २२ जना पुरुष गरेर दुई हजार एक सय ८४ जना शेयर सदस्य रहेका छन् । यस्तै ३ सय २८ जनालाई बित्तिय शिक्षा प्रदान गरिएको, सुत्केरी सम्मान कार्यक्रममा २४ जना सुत्केरी महिला शेयर सदस्यलाई सम्मान गरिएको, मृत्यु राहत तथा क्यान्सर रोग पिडित राहत वितरण लगाएतका कार्य सञ्चालन गरिएको सहकारीले जनाएको छ ।

साधारणसभामा बोल्दै जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशवसिंह श्रेष्ठले सहकारीको प्रतिस्पर्धा बैँक सँग नभएको बताउनुभएको छ । बैँक र सरकारीको आफ्नै लक्ष्य र उद्धेश्य भएकाले सहकारीले बैँकसँग प्रतिस्पर्धा गर्ने नभई आफ्ना शेयर सदस्यको पुँजीको सुरक्षा गर्ने र सस्तो व्याजदरमा ऋण लगानी गर्नु रहेको उहाँको भनाइ छ ।

‘पछिल्लो समयमा सहकारीप्रतिको हेराई राज्य र आमनागरिक सबैको फेरिएको छ, कयौँ सहकारीले शेयर सदस्यहरुको पुँजीलाई दुरुपयोग गरेको समाचारहरु बाहिरिएका छन्’ उहाँले भन्नुभयो ‘सहकारी स्वचालित हुन आवश्यक छ, त्यसका लागि सञ्चालक समितीले शेयर सदस्यको पुँजीको संरक्षण गर्ने दायित्व लिनुपर्दछ ।’ उहाँले सहकारीमा सुशासन कायम हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस्तै लेखा सुपरिवेक्षण समितीका संयोजक कमल अधिकारीले आजको वचत भोलीको सहारा हुने भएकाले वचत गर्ने वानी बसाल्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुगन्ध कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सनत कुमार शर्माले गर्नुभएको छ । यस सहकारीले छ वटा टोलमा पुगेर साधारण सभा सम्पन्न गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित