बिद्यार्थी भन्दा शिक्षक धेरै !

२०७२ सालमा दुइ वटा प्राथामिक बिद्यालय मर्ज गरिएको यस बिद्यालयमा हाल तीन जना बिद्यार्थीको लागि पाँच जना शिक्षक छन् ।

सल्यान, ८ असोज ।

चारैतिर मानववस्ती । विचमा बिद्यालय । आधा दर्जन बिद्यालयका कोठा । प्रशस्त फर्निचर । खेलमैदान । छेउमा शौचालय । तर बिद्यालय सुनसान छ ।
सल्यानको सदरमुकाम खलंगा नजिकै रहेको एउटा विद्यालयको कारुणिक अवस्था देख्ने जो कोहीलाई लाग्न सक्छ– यो बिद्यालय बन्द छ कि चलिरहेको छ ? बर्षेनी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको संख्या घट्दै गएपछि सुनसान बनेको बिद्यालय हो यो ।

यो बिद्यालय जिल्लाको शारदा नगरपालिका ३ पौवाबारीमा रहेको खड्गदेवी प्राथामिक बिद्यालय हो । जिल्लामा भवन अभाव र शिक्षकको अनुपातमा बिद्यार्थीको संख्या धेरै हुदाँ पठनपाठनमा समस्या झेलिरहेका थुप्रै बिद्यालय छन् । तर यस बिद्यालयमा बिद्यार्थी भन्दा शिक्षक धेरै छन् । जवकि सरकारले पहाडी क्षेत्रमा ४५ विद्यार्थी बराबर एक शिक्षक तोकेको छ ।

सुन्दा पनि आचार्य लाग्न सक्छ । कक्षा ५ सम्म सञ्चालित बिद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १७ जना बिद्यार्थी भर्ना भएका थिए । जसमा बालविकासमा ३ जना, कक्षा १ मा ३ जना, कक्षा २ मा ३ जना, कक्षा ३ मा २ जना, कक्षा ४ मा ५ जना र कक्षा ५ मा १ जना बिद्यार्थी भर्ना भएका थिए ।

तर अहिले यस बिद्यालयमा ३ जना बिद्यार्थी मात्रै बिद्यालय आउने गरेका छन् । बालबिकासमा एक जना र कक्षा १ मा दुई जना गरेर ३ जना बिद्यार्थी बिद्यालयमा आउँछन् । तिनीहरू पनि नियमित उपस्थित हुन छाडेका छन् । ती बिद्यार्थीलाई पढाउनको लागि ५ जना शिक्षिका र एक जना कार्यालय सहयोगी छन् ।

दरबन्दीमा तीन जना र बालविकासमा दुई जना शिक्षिका छन् । शुक्रवार यस बिद्यालयमा रिपोर्टिङमा जादा एक जना बिद्यार्थीले मात्रै अध्ययन गरिरहेकी थिईन् । घरायसी कामले गर्दा कक्षा १ मा अध्ययन गर्ने दुई बिद्यार्थी अनुपस्थित भएपछि बालबिकासमा अध्ययनरत एक बिद्यार्थी मात्रै स्कुल आएकी हुन् ।

बिद्यालयका प्रधानाध्यापक मिर्जु कुमारी महर्जनले बिद्यालयमा धेरै बिद्यार्थी भर्नाभएपनि अध्ययन गर्न तीन जना मात्रै आउने गरेको बताउनुभयो । ‘हामीले बिद्यार्थी भर्नाको बेलामा टोलहरुमा पुगेर बिद्यार्थी भर्ना गर्न आग्रह ग¥यौँ, सोही अनुसार १७ जना बिद्यार्थी भर्ना भएका थिए, शुरु–शरुमा बिद्यार्थी नियमित जस्तै आउथेँ, तर अहिले सबैले छोडे, तीन जना बिद्यार्थी मात्रै बिद्यालयमा आउँछन्’ उहाँले भन्नुभयो ।

उहाँले यस बिद्यालयमा भर्ना भएका बिद्यार्थी निजी बिद्यालय तथा अरु सरकारी बिद्यालयमा जादाँ बिद्यार्थी संख्या कम भएको बताउनुभयो । पाँच जना शिक्षकले तीन जना बिद्यार्थीलाई बर्षैभरी पढाउनुहुन्छ त ? भन्ने प्रश्नमा प्रधानाध्यापक महर्जनले भन्नुभयो ‘यो बर्ष त तीन जना मात्रै पढाउने त होला, अव अर्को बर्ष बिद्यार्थी थप गर्न सकिन्छ कि ।’

विगत्मा धेरै विज्ञहरू उत्पादन गरेको यस विद्यालय अहिले सम्बन्धित निकायको बेवास्ताका कारण बिद्यार्थी विहिन बनेको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयमा कुनै बेला २ सयभन्दा बढी विद्यार्थी हुने गर्थे । ‘निजि बिद्यालय धेरै भए, सरकारी बिद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थाले, तर हामी कहाँ त्यो हुन सकेन्’ मर्हजनले भन्नुभयो ‘हामी पाँचै जना महिला शिक्षिका छौँ, हाम्रो बिश्वास नगरेर पो हो कि, यहाँ बिद्यार्थी पठाउन कसैले मान्दैनन् ।’

बि.सं. २०७२ सालमा विपि स्मृति प्रावि सिरुवार र द्धारिका प्रावि बडाखोला यस बिद्यालयमा मर्ज भएका थिए । तर पनि यस बिद्यालयमा बिद्यार्थी नहुदाँ बन्द हुने अवस्थामा पुगेको छ । प्रावि तह बालबालिकाको शिक्षाको जग भन्दै सरकारले शैक्षिक गुणस्तर तथा विद्यार्थी संख्या बढाउन दिवा खाजा कार्यक्रम, छात्रवृत्तिको व्यवस्था, निःशुल्क पाठ्यपुस्तक, भौतिक संरचना निर्माण, बसाइ व्यवस्थापन लगायत विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएपनि यस विद्यालयमा भने विद्यार्थीको संख्या बढ्नुको साटो दिनानुदिन घट्दै गएको छ ।

शिक्षकहरूले पठनपाठनमा गरेको बेवास्ताका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजीतिर र अन्य सरकारी बिद्यालयमा लैजाने गरेका कारण यस बिद्यालयमा विद्यार्थी संख्या घट्दै गएको स्थानीय बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित