सल्यान जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र

डेढ करोड पेश्की लिएर ठेकेदार सम्पर्कविहीन

 

 

सल्यान, १२ असोज ।

सल्यान जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र परेको छ । अस्पताल परिसरमा दुई वटा भवन निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीको बेवास्ताका कारण भवन निर्माण कार्य अलपत्र परेको हो । झण्डै ११ महिना देखी नयाँ भवनको निर्माण कार्य रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

१५ शैयामा सञ्चालन भैरहेको जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्न २ वटा भवन निर्माणको काम थालिएको थियो । तर भवन निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवाको लापरबाहीले भवन निर्माणको काम विचनमा नै रोकिएको छ । निर्माण कम्पनीले १ करोड ५० लाख रुपैयाँ पेश्की रकम लिइसकेको छ । स्वास्थ्य सेवा कार्यालयले २०७८ वैशाखमा उक्त कम्पनीसँग भवन निर्माणको सम्झौता गरेको थियो ।

त्यसयता निर्माण कम्पनीले जग्गा सम्याउने काम मात्र गरेको छ । अस्पताल निर्माणका लागि ल्याइएका निर्माण सामग्री र उपकरण अहिले लथालिंग छन् । अस्पतालको स्तरोन्नति गर्न भन्दै सरकारले ३३ करोड रुपैयाँ विनियोजन गरेपछि दुई वटा भवन निर्माणको काम अघि बढेको थियो । ३ वर्षभित्र भवन निर्माणको काम सक्ने गरी निर्माण कम्पनीले भ्याट सहित झण्डै १९ करोड रुपैयाँमा सम्झौता गरेको छ ।

तर जग्गा सम्याउने मात्रै काम गरेको निर्माण कम्पनी अहिले सम्पर्कमा नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । निर्माण कम्पनीले बीचैमा काम अलपत्र पारेपछि समयमै भवन पूरा हुनेमा शंका उत्पन्न भएको उहाँको भनाइ छ । ठेकेदार कम्पनीले काम छाडेपछि स्वास्थ्य सेवा कार्यालयले निर्माण कम्पनीको नाममा पत्र काटेको छ ।

तर त्यो पत्रको पनि जवाफ नआएको उहाँले बताउनुभयो । ‘पत्रको जवाफ आएन, फोन पनि उठ्दैन्, निर्माण व्यवसायि पनि सम्पर्कमा छैनन्, तोकिएको समयमा नै भवन निर्माण सम्पन्न हुनेमा शंका छ, अहिलेसम्म जग खन्ने काम समेत भएको छैन्, अव करिब डेढ बर्ष जती मात्रै बाँकी छ’ उहाँले भन्नुभयो ‘भवन निर्माणको काम समयमै सकिए बिरामीले जिल्लामै विशेषज्ञ सेवा पाउँथेँ ।’

निर्माण कम्पनीले भवन निर्माणको काममा ढिलाइ गर्दा अस्पताल स्तरोन्नतिका अन्य काममा पनि असर परिरहेको छ । पेश्की रकम बुझेर भवन निर्माणको काम किन अलपत्र छोडेको ? भन्ने बिषयमा बुझ्न खोज्दा भवन निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवाका ठेकेदार समिर केसी सम्पर्कमा आएनन् । उनलाई पटक पटक फोन गर्दा पनि फोन उठेन् ।

१५ शैयाको जिल्ला अस्पतालमा अहिले ३७ बेड राखेर बिरामीको उपचार भइरहेको छ । भौतिक पूर्वाधार अभावमा पनि जटिल शल्यक्रिया लगायतका सेवा दिइरहेको र भवन निर्माणमा ढिलाइ हुदाँ उपकरण खरिद, विशेषज्ञ पदपूर्तिलगायत काममा पनि ढिलाइ भएको छ । अस्पतालमा सल्यान सहित रुकुम र रोल्पाका समेत गरेर दैनिक रुपमा झन्डै १ सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित