मंसिर ४ गते हुने निर्वाचनका लागि सल्यानमा एक लाख ५७ हजार बढी मतदाता

तीन मतदान स्थल र एक मतदान केन्द्र थप

सल्यान २६, असोज ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सल्यानमा एक लाख ५७ हजार बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता रहेका हुन् । जसमा महिला भन्दा पुरुष मतदाता धेरै रहेका छन् ।

जसअन्र्तगत जिल्लामा पुरुष मतदाता ८० हजार २ सय १२ रहेका छन् भने महिला मतदाता ७७ हजार ४ सय ८९ रहेका छन् । संघिय निर्वाचन क्षेत्र एक मात्रै रहेको सल्यानमा प्रदेश सभा क भन्दा प्रदेश सभा ख मा धेरै मतदाता रहेका छन् । जसमा प्रदेश सभा क मा पुरुष ४० हजार १ सय ७४ र महिला ३८ हजार ४ सय ९४ गरेर कुल ७८ हजार ६ सय ६८ मतदाता रहेका छन् ।

यस्तै प्रदेश सभा ख मा ४० हजार ३८ पुरुष र ३८ हजार ९ सय ९५ महिला गरेर ७९ हजार ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्लामा तीन मतदान स्थल र एक मतदान केन्द्र थप भएका छन् । यससँगै जिल्लामा एक सय १७ मतदान स्थल र दुई सय दुई मतदान केन्द्र कायम भएका छन् ।

यस्तै प्रदेश सभा क मा ५५ मतदान स्थल र ९९ मतदान केन्द्र रहेका छन् भने प्रदेश सभा ख मा ६२ मतदान स्थल र एक सय तीन मतदान केन्द्र रहेका छन् । यस्तै शारदा नगरपालिका र कपुरकोट गाउँपालिका भित्रका एक/एक वटा मतदान स्थलको ठाउँसारी गरिएको छ ।

अहिले अस्थायी मतदाता नामावलीका लागि तथ्यांक संकलनको काम भैरहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी अस्थायी मतदाता भित्र पर्छन् । तर जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली न्युुन मात्रामा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस