सल्यान, २७ असोज ।
मानसिक समस्या न्यूनीकरण गर्न सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले पछिल्लो समय अशिक्षा, स्वास्थ्यमा पहुँच नहुनु, गरीबी, वैदेशिक रोजगारी लगाएतका विभिन्न कारणले समाजमा मानसिक समस्या बिकराल रुपमा बढ्दै गएकाले सबै पक्षको साझा प्रयासबाट मात्रै न्यूनीकरण गर्न सकिने बताएका हुन् ।
फेल्म नेपालको आर्थिक सहयोग, शारदा नगरपालिकाको आयोजना र सिएमसि नेपाल, स्वास्थ्य सेवा कार्यालय, बालबिबाह बिरद्धको साझा अभियान, मानसिक स्वास्थ्य स्वावलम्वन समुहको संयुक्त सहकार्यमा बुधबार जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ मार्केमा आयोजित बिश्व मानसिक स्वास्थ्य दिवसको अवशरमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले यस्तो बताएका हुन् ।हरेक नागरिकले सकेसम्म
मनमा कुरा नखेलाउने, एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउन कोसिस गर्ने, विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने जस्ता विकल्प खोज्नुपर्ने उनीहरुले बताएका हुन् ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले मानसिक समस्या सबैको साझा समस्या भएकाले स्वास्थ्य क्षेत्रलाई नगरले प्राथमिकता दिएको बताउनुभयो । उहाँले अझै पनि लाज मान्ने, डर तथा त्रास संगै विभिन्न कारणले समस्या लुकाएर बस्ने चलन समाजमा अझै पनि रहेकोले मानसिक समस्यालाई पनि अरु रोग जसरी नै लिनुपर्ने वताउनुभयो ।
‘कयौँ नागरिक कुनै न कुनै विषयलाई लिएर कुनै न कुनै रूपमा मानसिक तनावबाट गुज्रिरहेका हुन्छन्, अधिकांशलाई मानसिक स्वास्थ्यको विषय त परको कुरा, यस्तो अवस्थालाई कसरी सहज रूपमा लिने भन्ने आधारभूत ज्ञान समेत छैन्’ उहाँले भन्नुभयो ‘नागरिकको स्वास्थ्यलाई हामीले प्राथमिकता दिएका छौ, अब जेष्ठ नागरिकको घरमै उपचार गर्ने व्यवस्था मिलाउछौ ।’
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमाल, सिएमसि नेपालमा कार्यरत मिना बुढाथोकी, मानसिक स्वास्थ्य स्वावलम्वन समुहका अध्यक्ष उत्तरा बिष्ट लगाएकाले बोल्नुभएको थियो । शारदा नगरपालिका ८ का वडाअध्यक्ष लक्ष्मण बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रविन बिष्टले गर्नुभएको थियो ।कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।