बालुवामा धान खोज्दै किसान !

‘पासिसकेको धान काट्ने बेलामा बाढी ल्याउने पानी पर्ला, ठूलो नोक्सान गर्ला भन्ने सोचेकै थिएनौँ, गत बर्ष काटेको धानमा क्षति भएको हो, यो पटक नकाटेकै धानमा क्षति भयो’ उहाँले भन्नुभयो ‘अब सरकारको आस छ, क्षतिपूर्ति नपाए भोकसँग कसरी जुध्नू ?’


सल्यान, २८ असोज ।

खेतमा धान पाकेर पहेँलो भैसकेको थियो । सल्यानको शारदा नगरपालिका १२ डाँग्रीका रेशम बुढाको दशैँ मनाएर धान काट्ने योजना थियो । तर एक साता लामो बर्षाले शारदा नदि खेतमा पस्यो । जसका कारण पाकेर पहेँलो भएको धान नदिले वगाएको बालुवाले पुरिदियो ।

उहाँको घर र खेत बिचको दूरी करिब तीन किलोमिटर छ । ‘दशैँ मनाएर धान काटौँला भन्ने सोच थियो, निरन्तर बर्षा हुनथाल्यो, गत बर्षजस्तै यसपालिको बर्षाले पनि धानमा क्षति गर्छ कि भन्ने कुरा मनमा खेलिरहेको थियो, पानी एकछिन पनि रोकिएन्, पानी पर्न रोकिला र एक/दुई दिनमा धान काटौँला भन्ने सोच्दासोच्दै नदि खेतमा पस्यो, धान डुब्यो, तर केही गर्न सकिएन्’ उहाँले भन्नुभयो ।

त्यही धानले उहाँको परिवारको गुजारा चल्थ्यो । कम्तीमा आठ महिना दोस्रो छाकका लागि चामल खटाउन पर्दैनथ्यो । ‘पोकेर लहलह भएका धानका बाला दशैँपछि काटौँला भन्ने सोचेको थिए, ४ रोपनीमा लगाएको धान मध्ये करिब ३ रोपनी खेतमा लगाएको धान डुब्यो’ उहाँले भन्नुभयो ‘हामी त बाजेको पालादेखि कृषि मै निर्भर छौँ, पोहोर पनि करिब २० मुरि धान नोक्सान भयो, यो बर्ष करिब ३० मुरी धान नोक्सान भयो ।’

आफूसँगै छरछिमेकको पनि उस्तै हाल रहेको उहाँको भनाइ छ । ‘खेतमा नयाँ मान्छे आउँदा क्षतिपूर्ति वा राहतको लागि हो कि भन्ने आश लाग्छ’ उहाँले थप्नुभयो ‘पोहोर साल पनि क्षतिपूर्तीको विवरण संकलन गरिएको हो, केही आएन्, यो पटक त केही पाइन्छ कि भन्ने आस छ ।’

अर्का स्थानिय पिम बहादुर गिरीको धान पनि नोक्सान भयो । धान पाकिसकेको थियो, दशैँ लगत्तै काट्ने तयारी थियो, तर खेतमै नदि पसेर धान डुबायो । अहिले चामल बन्ने धान बालुवा र हिलोमा पुरिएको छ । ‘खेतमा खोला पसेर धान डुब्यो, खोला नपसेको धान पनि ढलेको छ, बालुवा र हिलोले पुरेको धानको त आस छैन, तर अव ढकेको धान पनि कति कुहिन्छन्, कतिबाट चामल झर्दैन्’ उहाँले भन्नुभयो ।

यो वर्ष वर्षा राम्रो भएकाले बाली सप्रिएको थियो । ‘पासिसकेको धान काट्ने बेलामा बाढी ल्याउने पानी पर्ला, ठूलो नोक्सान गर्ला भन्ने सोचेकै थिएनौँ, गत बर्ष काटेको धानमा क्षति भएको हो, यो पटक नकाटेकै धानमा क्षति भयो’ उहाँले भन्नुभयो ‘अब सरकारको आस छ, क्षतिपूर्ति नपाए भोकसँग कसरी जुध्नू ?’

क्षतिपूर्ति र राहतको आशा
मुख्यगरी शारदा नदिले धेरै फाँट डुवान र कटान गरेको छ । वर्षभरि खाने र घरव्यवहार धान्ने अन्न धानमा क्षति भएपछि किसान चिन्तामा छन् । प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानसहित बाढीले मकैँ, तरकारीमा पनि क्षति गरेको छ । यसले गर्दा खाद्य सुरक्षामा असर पार्ने चिन्ता बढेको छ । प्रभावित क्षेत्रका किसानहरु पानी रोकिएसँगै बालुवा र हिलोले पुरेको धान खोज्न थालेका छन् ।

कोही खेतको हिलो कहिले जम्ला, पानी सुक्ला र ढलेको धान उठाउँला भनेर बसेका छन् । ‘बालुवा भित्र धेरै धान छ, देखिएको जति निकाल्ने हो भने ५/७ मुरी हुन्छ कि भन्ने आस छ, धान नै पुरिएपछि परालको आश नै भएन’ बुढाले भन्नुभयो ‘अहिले कृषकहरू रोइरहेका छन्, सरकारले क्षतिपूर्ति नदिए वर्षभरि नै रुनु पर्ने स्थिति छ किनकि अधिकांशको पेट भर्ने बाटो नै धान बाली हो ।’


क्षतिको विवरण संकलन गरिदैँ
जिल्लामा गरिएको धान खेतीमा बर्षातले कति क्षति गरेको छ भन्ने बारेमा तथ्यांक संकलन हुदैँ छ । सम्बन्धित स्थानीय तह र आफ्नो कार्यालय मार्फत क्षतिको विवरण संकलन भैरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले अवको केही दिनमा नै क्षतिको पुर्ण विवरण प्राप्त हुने जानकारी दिनुभयो ।

शारदा, बन्गाड, कुमाख, छत्रेश्वरी, कालिमाटी, त्रिबेणीमा बढी क्षति भएको छ । खोलाको छेउछाउमा रहेका खेत डुवान र कटान भएकाले शारदा नदि आसपासको क्षेत्रमा बढी क्षति भएको छ । तर पोहोरसाल बर्षातका कारण क्षति बेहोरेका किसानहरुले अझै राहत पाएका छैनन् । जिल्लाभर करिब ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस