सल्यान, २९ असोज ।
ढकमक्क फूलेका सयपत्री फूल देख्दा कसको पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । सल्यानमै पहिलो पटक गरिएको सयपत्री फूलको खेतिले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल अर्डर, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ ।
जिल्लाको श्रीनगर क्षेत्रमा गरिएको फूल खेतीले सबैको मन लोभ्याउनुका साथै आर्थिक उर्पाजनको गतिलो माध्यम समेत वनेको छ । शारदा नगरपालिका २ जोगिदेउखोलामा पुष्पखेती गर्दै आउनुभएका मोहन वलीले आफुले गरेको सयपत्री र मखमली फूलको खेतीले यतिखेर सबैको मन लोभ्याएको बताउनुभयो ।
‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग आइरहेको छ’ उहाँले भन्नुभयो । यतिबेला ढकमक्क फूलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेहरु देख्दा आनन्दानुभूति लागेको उहाँले बताउनुभयो । ओ.जि. एग्रो एण्ड टुरिजम प्रालि खोलेर उहाँले ८ रोपनी जमिनमा करिब ७ हजार सयपत्री र २ हजार मखमलीका बोट राप्नुभएको थियो ।
‘तिहारलाई लक्षित गरेर फूल खेती गरिएको हो, दशैँमा मात्रै करिब एक लाख रुपैँयाका माला बिक्री भएका हुन्’ उहाँले भन्नुभयो ‘एक विघा जमिनमा तरकारी खेती पनि शुरु हुदैँ छ, अहिलेसम्म करिब १० लाख रुपैँया लगानी भएको छ, जिल्लामा फूलखेतीको सम्भावना धेरै भएकाले व्यावसायिक रुपमा लाग्ने योजना छ ।’
शारदा नगरपालिका १ पटनेरीमा सयपत्री फूलको खेती गर्दै आउनुभएका खग्रेन्द्र हमालले तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाउनुभएको छ । एक किलो फूलको मूल्य रु ५०० कायम गरिएको छ । जिल्लाबाट भन्दा जिल्ला बाहिरबाट फूलको माग धेरै आएको उहाँले बताउनुभयो । हालैमात्र बागेश्वरी मन्दिर नेपालगन्जमा ५० किलो फूल पठाईएको उहाँको भनाइ छ ।
‘पहिले तरकारी र मकैँ, गहुँ खेती गर्ने बारीमा यस बर्ष फूल खेती गरेका छौँ, यो हाम्रो पहिलो पटक हो, जिल्लामा फूलको सम्भावना देखेर नै खेती गरेका छौँ’ उहाँले भन्नुभयो ‘यो पटकको तिहार सम्म कति विक्री हुन्छ, त्यही आधारमा अर्को बर्षपनि खेती शुरु गर्छौ ।’ साथी पुष्प तथा तरकारी फार्म नै सञ्चालन गर्नुभएका उहाँले ग्राहकको आकर्षण र माग बढेमा अर्को बर्ष थप धेरै जमिनमा फूल खेती गरिने बताउनुभयो ।
घर वरिपरि जताततै फुलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको उहाँको भनाइ छ । उहाँले करिब ३ लाख रुपैँयाको लागतमा फूल खेती गरिएको बताउनुभयो । ‘यो सयपत्री फूलको आधुनिक जात हो, यसलाई कर्णा–५५५ ओरेन्ज भनिन्छ, यसको विउ विदेशबाट आयात गरेर रोपिएको हो, अहिले हामीसँग करिब ५ हजार सयपत्रीका बोट छन्, एउटा बोटबाट दुई केजी सम्म फूल उत्पादन हुन्छ’ उहाँले भन्नुभयो ‘सामान्यतय यो फूल टिपेको एक हप्ता सम्म सुक्दैन् ।’
जिल्ला गरिएका पुष्प व्यवसायले सबैको आकर्षण बढाउन थालेपछि यतिखेर पुष्प व्यवसायले चर्चा पाएको छ । उद्योग बाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले पछिल्लो समय जिल्लामा कृतिम माला आयात घटेको बताउनुभएको छ । विगतका बर्षहरुमा तिहारमा मात्रै २५÷३० लाख बढीका कृत्रिम माला आयात हुने गरेको भएपनि पछिल्लो समय जिल्लामा नै पुष्पखेती गर्न थालिएकाले नागरिकले स्थानिय रुपमा उत्पादित सयपत्री, गोदावरी, मखमली मालाको प्रयोग गर्ने गरेको बताउनुभयो ।
‘अहिले पनि जिल्ला बाहिरबाट सयपत्री मालाको आयात गर्ने क्रम रोकिएको छैन्, तर कृत्रिम माला प्रयोग गर्नेको संख्या भने घट्दै गएको छ’ उहाँले भन्नुभयो ‘यसपालिकाको तिहारमा गत बर्षको भन्दा कम कृत्रिम माला भित्रिने आँकलन गरेका छौँ ।’ उहाँले स्थानियस्तरमा उत्पादित माला अर्गानिक हुनेभएकाले आर्कषक देखिने बताउनुभयो ।