खाद्यान्नमा आत्मनिर्भर सल्यान

‘उपभोगयोग्य ५३ हजार नौ सय २६ मेक्ट्रिक टन खाद्यान्न हो, जिल्लाको कुल जनसंख्याको आधारमा ४८ हजार चार सय १८ मेक्ट्रिक टन मात्र खपत हुन्छ, उत्पादनको तुलनामा पाँच हजार पाँच सय सात मेक्ट्रिक टन खाद्यान्न बचत हुने गरेको छ’– उहाँले भन्नुभयो ।

 

सल्यान, ३१ असोज ।

सल्यान जिल्ला खाद्यान्नमा आत्मनिर्भर जिल्ला बनेको छ । यहाँ खपत हुने भन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । जिल्लामा उत्पादन भएको खाद्यान्न जिल्लावासीलाई पुगेर पनि बचतको अवस्थामा पुगेको छ । कृषि क्षेत्रको आधुनिकीकरण र विस्तारसँगै जिल्लामा हुने खपतभन्दा बढी खाद्यान्न उत्पादन भएपछि खाद्य सुरक्षाका दृष्टिले जिल्ला आत्मनिर्भर बनेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

धान, मकै, गहुँ, कोदो, जौ जस्ता खाद्यान्न वार्षिकरुपमा उत्पादन बृद्धि हुँदै जान थालेपछि जिल्ला खाद्यान्नमा आत्मनिर्भर बनेको कार्यालय प्रमुख भरतबहादुर बस्नेतले बताउनुभयो । ‘जिल्लाको जनसंख्याका लागि प्रतिवर्ष आवश्यक पर्नेभन्दा पाँच हजार पाँच सय सात मेक्ट्रिक टन खाद्यान्न पछिल्लो वर्ष हामीकहाँ बचत हुने गरेको छ’– उहाँले भन्नुभयो ।

कार्यालयले तयार पारेको तथ्यांकअनुसार जिल्लामा वार्षिकरुपमा एक लाख २९ हजार दुई सय ५५ मेक्ट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । ‘उपभोगयोग्य ५३ हजार नौ सय २६ मेक्ट्रिक टन खाद्यान्न हो, जिल्लाको कुल जनसंख्याको आधारमा ४८ हजार चार सय १८ मेक्ट्रिक टन मात्र खपत हुन्छ, उत्पादनको तुलनामा पाँच हजार पाँच सय सात मेक्ट्रिक टन खाद्यान्न बचत हुने गरेको छ’– उहाँले भन्नुभयो । बचत खाद्यान्न जिल्लाबाट निर्यात भइरहेको उहाँको भनाइ छ ।

तथ्यांकअनुसार जिल्लाका लागि प्रतिव्यक्ति दुई सय एक केजी खाद्यान्न वार्षिकरुपमा आवश्यक पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ४० हजार आठ सय ८८ रहेको छ । उक्त जनसंख्याका आधारमा वार्षिक ४८ हजार चार सय १८ मेक्ट्रिक टन भए जिल्लामा खाद्यान्न पुग्ने कार्यालय प्रमुख बस्नेतको भनाइ छ ।

जिल्लामा ३८ हजार नौ सय २६ हेक्टर क्षेत्रफलमा खेती हुन्छ । यसमध्ये पशुपन्छी आहार, उत्पादन क्षति, प्रशोधन, विउविजन, भण्डारणमा हुने क्षति समेत जिल्लाकै उत्पादनले परिपूर्ति भइरहेको छ । जिल्लामा सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । धान, गहुँ, कोदो पनि जिल्लामा मकैपछिको राम्रो उत्पादन हुने बाली हो ।

जिल्लामा उत्पादन भएको आलु÷पिँडालुमध्ये ३९ हजार आठ सय दुई मेक्ट्रिक टन बचत हुने गरेको छ । यस्तै तरकारी २० हजार मेक्ट्रिक टन, फलफूल तीन हजार आठ सय १० मेक्ट्रिक टन र तेलहन दुई सय ५५ मेक्ट्रिक टन बचत हुने गरेको कार्यालयको भनाइ छ । यस्तै जिल्लामा चार हजार आठ सय ३४ मेक्ट्रिक टन दलहन आवश्यक पर्ने गरेकोमा दुई सय २३ मेक्ट्रिक टन जिल्ला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।

कार्यालय प्रमुख बस्नेतले जिल्लामा भएका छवटा बालीमध्ये दलहन बालीको उपलब्धता नकारात्मक रहेको बताउनुभयो । जसमा खाद्यान्न, आलु÷पिँडालु, तरकारी, फलफूल र तेलहन बालीहरुको उपलब्धता सकारात्मक रहेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले पुग्ने भए पनि अन्य जिल्लाबाट चामल भने आयात हुने गरेको छ ।

सबैले चामल बाहेक मकै, गहँु, कोदो उपयोग कम गर्ने भएकाले पनि बाहिरबाट चामल आउने गरेको कार्यालयको भनाइ छ । ‘जिल्ला खाद्यान्नको लागि परनिर्भर हुनुपर्ने बाध्यता छैन, जिल्लामा नै उत्पादन भएको खाद्यान्नले वर्षभरि पुगेर पनि बचत हुन्छ’– कार्यालय प्रमुख बस्नेतले भन्नुभयो । जिल्लामा धेरै जमिन अझै बाँझो रहेको र बाँझो जमिनलाई उपयोगमा ल्याउन सक्ने हो भने उत्पादन बढ्ने कार्यालयले जनाएको छ ।

यसैबीच केही दिनअघि भएको अविरल वर्षाले जिल्लाका करिब एक हजार दुई सय रोपनी क्षेत्रफलमा लगाएको खाद्यान्न बालीमा क्षति गरेको छ । विशेष गरेर शारदा नदी र अरु स्थानीय खोलाहरुले गरेर दुई सयबढी किसानले लगाएको खाद्यान्न बालीमा क्षति गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस