सल्यान, ६ कार्तिक ।
देशमा जबसम्म प्रतिगमण रहन्छ, तबसम्म गठबन्धन कायम रहने नेताहरुले बताएका छन् । देशमा संविधानको हत्या गर्ने र अस्थिरता ल्याउने तत्व अझै कायम रहेकाले प्रतिगमणकारी तत्वको अन्त्य नहुदाँ सम्मको लागि अहिलेको गठबन्धन कायम रहने उनीहरुले बताएका हुन् । शुभ दिपावली तथा छठ पर्वको अवशरमा सत्तागठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सल्यानको संयुक्त आयोजनामा शनिवार खलंगामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
नेताहरुले पार्टीको निर्णय नै आधिकारिक हुने भन्दै पार्टीको निर्णय विपरित बोल्ने, लाग्ने र सामाजिक सञ्जालमा भ्रम फैलिने गरि नलेख्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । नेताहरुले बिशेष परिस्थितीमा अहिलेको गठबन्धन निर्माण भएकाले यो लामो समय सम्म कायम रहने बताएका हुन् ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार प्रकाश ज्वालाले सत्तागठबन्धन केटाकेटीको खेल जस्तै नभएको बताउनुभयो । ‘यो भनेको संविधान बचाउने र मास्ने विचको लडाइ हो’ ज्वालाले भन्नुभयो ‘गठबन्धनको मर्मअनुसार सबै लाग्नुहुन्छ भन्ने बिश्वास छ ।’ संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य रहेको उहाँको भनाइ छ । उहाँले विगतका ठुला–ठुला राजनितिक परिवर्तन सम्भव गर्न बिभिन्न दलहरुका विचमा सहकार्य भएको इतिहास जिवितै रहेकाले अहिलेको गठबन्धन पनि लामो समय रहने बताउनुभयो ।
यस्तै गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार भिम प्रकाश शर्माले आवश्यकताका आधारमा अहिलेको गठबन्धन निर्माण भएकाले प्रतिगमणलाई परास्त गर्ने गरि लाग्न सबैमा आग्रह गर्नुभयो । अबको चुनाव प्रतिगमन र अग्रगमन विचको टकराव भएको भन्दै जनताको मौलिक अधिकार सहित सिंगो प्रणालीको रक्षाका खातिर पनि गठबन्धनको जरुरी रहेको उहाँले बताउनुभयो ।
यस्तै गठबन्धनको समर्थनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा क्षेत्र नं. २ का उम्मेदवार सुरेश अधिकारीले प्रतिगमण कायम रहदा देश खतरामा पर्ने भएकाले निर्वाचनबाटै प्रतिगमणको अन्त्य गरिनुपर्ने बताउनुभयो । अहिले आफ्नो पार्टीमा केही समस्या देखिएपनि त्यो विस्तारै साम्य हुने र गठबन्धनमा आवद्ध सबै दलका उम्मेदवारहरुले जित हासिल गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य उदय बहादुर बोहरा, नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, नेकपा माओवादी केन्द्रका सल्यान जिल्ला इन्चार्ज उमाकान्त शर्मा, नेकपा माओवादीका केन्द्रिय सदस्य टिका बुढाथोकी, नेकपा एकीकृत समाजवादीका भद्रसिंह बुढा, हरि केसी, दुर्गा पुन, नेपाली काँग्रेसका प्रेम डाँगी लगाएतकाले बोल्नुभएको थियो ।
नेपाली काँग्रेसका जिल्ला सभापति केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादीका सचिव रमेश गौतमले गर्नुभएको थियो ।