सल्यान, ७ कार्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकढिक्का भएर अघिबढ्ने सल्यानका गठबन्धनमा आवद्ध दलहरुले निर्णय गरेको छ । गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला प्रमुखहरुको सोमवार खलंगामा सम्पन्न बैठकले आउदोँ निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि एकढिक्का भएर अघिबढ्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस सल्यानका सभापति केश बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले गठबन्धन दलका साझा उम्मेदवारहरुलाई विजयी बनाउनको लागि निर्वाचन सम्बन्धि बिभिन्न संयन्त्रहरु गठन गरेको छ । जसमा जिल्ला निर्वाचन परिचालन समिती संयोजक नेकपा माओवादी केन्द्र, जिल्ला अनुगमण समिती संयोजक नेपाली काँग्रेस, जिल्ला प्रचारप्रसार समिती संयोजक नेकपा एकीकृत समाजवादी, निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिती संयोजक नेकपा माओवादी केन्द्र र निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिती संयोजक नेपाली काँग्रेस रहने निर्णय गरिएको छ ।
यस्तै उक्त समितीका संयोजक, सहसंयोजक, सचिव, प्रवक्ता तथा सदस्यहरु यही कार्तिक १३ गते बस्ने जिल्ला स्तरीय बैठकले पुर्णता दिने छ । यस्तै गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय संयुक्त भेला यही कार्तिक १३ गते खलंगामा बस्ने निर्णय भएको नेपाली काँग्रेसका सभापति बिष्टले जानकारी दिनुभयो ।
यस्तै कार्तिक १३ गते नै जिल्ला स्तरीय गठबन्धन दलहरुको संयुक्त निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गर्ने निर्णय भएको छ । गठबन्धन दलका साझा उम्मेदवार बिरुद्ध गतिविधि नगर्न गठबन्धन दलको पार्टी पंक्तिलाई निर्देशन दिदैँ त्यस्ता गतिविधिमा संलग्न व्यक्तिका सम्बन्धमा अनुगमण समितीले सिफारिस गरेअनुसार हुने निर्णय गरिएको छ ।