‘हिंसा पीडितलाई न्यायको पहुँचमा पु¥याउन सबैको पहल आवश्यक’

सल्यान, १७ कार्तिक ।
हिंसा पीडित महिला तथा बालबालिकालाई न्यायको पहुँचमा पु¥याउनको लागि सबैले पहल गर्नुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले कानुनी सेवाको बारेमा जानकारी नहुनु, आर्थिक अभाव हुनु जस्ता कारणले विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाको न्यायमा पहुँच नपुग्ने भएकाले ति पीडितलाई न्यायको पहुँचमा पु¥याउन सवैले पहल गर्नुपर्ने बताएका हुन् ।

इन्सेकद्वारा संचालित अधिकार–२ परियोजना अन्तर्गत बिहिवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न सिफारिस संयन्त्रको बैठकका सहभागीहरुले यस्तो बताएका हुन् । बैठकमा बोल्दै शारदा नगरपालिकाका कार्यबाहक नगरप्रमुख सुस्मिता सापकोटा सुनारले यदाकदा समाजमा घट्ने गरेका महिला तथा बालबालिका सम्बन्धिका हिंसाका घटनाहरु पनि बाहिर नआउने गरेको बताउनुभयो ।

नगरको न्यायिक समिति सम्म आएका मुद्दाहरुको दुबै पक्षको मेलमिलापको माध्यमबाट किनारा लगाउने गरिएको भएपनि न्यायीक समितीसम्म उल्लेख्य मात्रामा मुद्दाहरु नआउने गरेको उहाँको भनाइ छ । ‘हामी कहाँ आएका मुद्दाहरु मध्ये हाम्रो क्षेत्रअधिकार भित्र रहेका मुद्दाको मेलमिलापको माध्यमवाट टुंग्याएका छौँ तरपनि खासै मुद्दा नै आउदैनन्’ उहाँले भन्नुभयो ‘कतिपय हिंसापीडितहरु न्यायको पहुँच सम्म आउन नै सक्दैनन, उनीहरुलाई पनि न्यायको पहुँचमा ल्याउनको लागी न्यायीक समिति र सिफारिस संयन्त्रका बिचमा पनि थप सहकार्य गरेर अघि बढ्ने छौँ ।’

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले हिंसामा परेका सबैलाई न्याय दिलाउनु सबैको दायित्व भएकाले यसमा सबैले सहजीकरण गर्नुपर्ने बताउनुभयो । जिल्ला स्तरीय सिफारिस संयन्त्रका संयोजक गुमानसिंह नेपालीको अध्यक्षतामा भएको बैठकमा शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोका, नगर कार्यपालिका सदस्य पुस्पा नेपाली लगाएतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण बुद्धि पुनले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस