मानसिक स्वास्थ्य समस्यालाई ख्यालठट्टा नसोचौँ !

सल्यान, १९ कार्तिक ।

मानसिक स्वास्थ्य समस्यालाई ख्यालठट्टा नसोच्न सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले शारीरिक अपांग जसरी मानसिक अपांग नदेखिने भएकाले मानसिक स्वास्थ्य समस्यालाई केही होइन् भनेर ख्यालठट्टाको रुपमा लिन नहुने बताएका हुन् ।

शारदा नगरपालिका र सिएमसि नेपालको साझेदारीमा सञ्चालित प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रर्वद्धन परियोजना अन्र्तगत सेवा प्रदायकहरुसँगको संयुक्त अन्र्तक्रियाका सहभागिताहरुले यस्तो बताएका हुन् । जिल्ला अस्पताल सल्यानका डा. दिपेन्द्र रायले पछिल्लो समय जिल्लामा मानसिक स्वास्थ्य समस्या भएका नागरिकको संख्या बढ्दै गएकाले यसको न्यूनिकरणको लागि सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।

‘अहिले जिल्ला अस्पतालमा मानसिक समस्या भएका सेवाग्राही दैनिक रुपमा आउँछन्, एउटैँ डाक्टरले ओपिडि पनि हेर्ने र मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुलाई हेर्ने भएकाले पर्याप्त समय दिन सकिएको छैन्’ उहाँले भन्नुभयो ‘मानसिक स्वास्थ्य समस्या गम्भिर समस्या हो, बिरामीलाई हेर्न बित्तिकै समस्या थाहा हुदैन्, उनीहरुसँग घुलमिल गरेर समस्या पहिचान गर्न समय लाग्छ ।’

उहाँले तालिम प्राप्त स्वास्थ्यकर्मीले त्यस्ता समस्या भएका बिरामीहरुको जाँच गर्ने गरी छुट्टै व्यवस्था गरेमा झन् सहज हुने बताउनुभयो । ‘मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुप्रतिको हेराइ सकारात्मक हुनुर्छ, समस्या पहिचान गर्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्छ’ उहाँले थप्नुभयो ‘मानसिक स्वास्थ्य समस्या भएका नागरिकलाई पनि सम्मानजनक जीवनयापनका लागि सबैले पहल लिनु आवश्यक छ ।’

यस्तै मानसिक स्वास्थ्य स्वावलम्वन समुह सल्यानका अध्यक्ष उत्तरा बिष्टले मानसिक अपांग बाहिर नदेखिए पनि आन्तरिक रुपमा समस्या हुने भएकाले उनीहरुलाई पनि शारिरीक अपांग जसरी स्थान दिनुपर्ने बताउनुभयो । आर्थिक अवस्था कमजोर हुनु, हातमा सिप नुहुनु, मनमा डर, तनाव, भय, चिन्ता उत्पन्न हुदाँ मानसिक स्वास्थ्य समस्या बढ्दै जाने भएकाले मानसिक स्वास्थ्य समस्या न्युनिकरणका लागि साझा अभियानका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै सिएमसि नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या झन् बढ्दै गएकाले यसलाई न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । मानसिक स्वास्थ्य समस्याकै कारण आत्महत्या तथा आत्महत्या प्रयास भएका घटना धेरै भएकाले मानसिक स्वास्थ्य समस्यालाई सबैले साझा समस्याका रुपमा लिनुपर्ने बताउनुभयो ।

‘मानसिक स्वास्थ्य समस्याले कति पिडा दिन्छ, त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ, हरेक मानिस कुनै न कुनै तरिकाले मानसिक स्वास्थ्य समस्यामा भएको पाइन्छ, तर आवश्यक चेतनाको अभावमा उनीहरु बाहिर आउन सकेका छैनन्, मनमा रोग पालेर बसेका छन्’ उहाँले भन्नुभयो ‘मानसिक स्वास्थ्य समस्याको पहिचान भयो भने मात्रै उनीहरुको उपचारको व्यवस्था मिलाउन सकिन्छ र आत्महत्या तथा आत्महत्याका प्रयासका घटना हुनबाट बच्न सकिन्छ ।’

यस्तै शारदा नगरपालिकाका कार्यबहाक नगरप्रमुख सुस्मिता सापकोट सुनारले मानसिक स्वास्थ्य समस्याको मुल जरो आर्थिकसँग जोडिएकाले नगरपालिकाले नागरिकको आयआर्जन बृद्धि गर्ने खालका कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउनुभयो । हरेक नागरिक कुनै न कुनै पेशा व्यवसायमा जोडिएमा मनमा कुरा खेलाएर बस्नु नपर्ने र आर्थिक रुपमा पनि सक्षम हुने भएकाले रोजगारी सिर्जना गर्नेखालका कार्यक्रम नगरपालिकाले सञ्चालन गर्ने उहाँको भनाइ छ ।

यस परियोजनाले जिल्लाका चार वटा पालिकामा काम गरिरहेको छ । सिएमसि नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले बैदेशिक रोजगारीले सिर्जना गर्ने मानसिक स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य समस्याबाट प्रभावितलाई जीविकोपार्जन तथा रोजगारीका अवशर सिर्जनाका लागि लक्षित व्यक्तिलाई महशुस गराई कार्यान्वयन प्रक्रियामा लैजाने ध्येय रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण सिएमसि नेपालमा कार्यरत मिना बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस