संसदिय निर्वाचनको झल्को दिने गरी सल्यानमा नमुना मतदान (फोटो फिचर)

सल्यान, १९ कार्तिक ।
संसदीय निर्वाचनको झल्को दिने गरी सल्यानमा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यक्रम अन्तर्गत शनिवार जिल्लाको सदरमुकाम खलंगामा नमुना मतदान सम्पन्न भएको हो । बदर मत कम गर्ने उद्देश्यका साथ सदरमुकाम खलंगाको पुरानो बसपार्कमा नमुना मतदान कार्य सम्पन्न भएको हो ।

धेरै मतदाताले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । निर्वाचनमा बदर मत कम गर्ने र मतदातालाई सहजताका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया सहित नमुना मतदान कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

नुमना मतदान कार्यमा पुरानो बसमा उपस्थित ६७ जनाले सहभागिता जनाएका थिए । जसमा खसेको मतको ३४ प्रतिशत अर्थात २३ मत बदर भएको छ । यस्तै ४४ मत मात्रै सदर भएको छ । मतपत्रमा चुनाव चिन्हहरु भने सांकेतिक रुपमा राखिएको थियो । जिल्लामा कुल १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् ।

जिल्लाका राजनीतिक दल तथा उम्मेदवारहरू यतिबेला मत माग्न घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने कुरा मतदाताले थाहा पाएका छैनन् । दलहरूले मतदातालाई कसरी मत हाल्ने सिकाउन सकिरहेका छैनन् । निर्वाचन आयोगले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस