सल्यान, २० कार्तिक ।
मतदाता र आमनागरिक समक्ष निर्वाचनको गतिविधि पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिताहरुले जोड दिएका छन् । सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासन सत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपुर्ण हुनेमा उनीहरुले जोड दिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानको आयोजनामा शनिवार सदरमुकाम खलंगामा सम्पन्न निर्वाचनमा सञ्चारमाध्यमको भूमिका बिषयक अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदातालाई आफ्नो अधिकारप्रति सचेत गराउन पनि सञ्चारमाध्यम र पत्रकारको भूमिका अहम् रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले निर्वाचनलाई सम्पन्न गर्न सबैको आआफ्नै भूमिका रहेपनि निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका अझ बढी भएको बताउनुभएको छ । पत्रकार र सञ्चारमाध्यमप्रति आमनागरिकको बिश्वास रहेकाले सकारात्मक सन्देश प्रवाह हुने खालका समाचार तथा सुचना प्रकाशन प्रशारण गर्नुपर्ने उहाँको भनाई छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले निर्वाचनमा हुनसक्ने बदर मतलाई कम गर्न र मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका अझै धेरै हुने बताउनुभयो । निर्वाचनलाई स्वच्छ, भयरहित, पारदर्शी एवं स्वतन्त्र रुपमा सम्पन्न गराउन निर्वाचन आयोग लागिरहेको बताउँदैँ उहाँले निर्वाचन आचारसंहितको पालना र अनुगमणमा सञ्चार क्षेत्रको भूमिका महत्वपुर्ण हुने उल्लेख गर्नुभयो ।
यस्तै जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पुरा गर्न आयोग कटिबद्ध रहेको बताउनुभयो । ‘निर्वाचन आचारसंहितको कार्यान्वयनमा निर्वाचन आयोग कडाइका साथ प्रस्तुत भएको छ, निर्वाचन आउन झण्डै २ साता बाँकी रहदाँ निर्वाचन प्रचारप्रसार पेचिलो बन्दै गएको छ’ उहाँले भन्नुभयो ‘निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्न सञ्चार र सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलेले सिद्धान्त, निष्ठा र विचारले निर्वाचन स्वच्छ एवं पारदर्शी हुने भन्दै सञ्चारमाध्यमले निर्वाचनको गरिमा बढाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो । निर्वाचनमा सञ्चारमाध्यमले स्वनियमन गर्ने परम्परा पनि बसाल्न आग्रह गर्दै सञ्चारमाध्यमले निर्वाचनको विधि र प्रक्रियालाई आत्मसात् गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सल्यानका सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।