सल्यान, २२ कार्तिक ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु गाउँ केन्द्रित भएका छन् । अहिले जिल्लाका बिभिन्न पालिकाहरुमा पुगेर गठबन्धनका साझा उम्मेदवारहरुले मतदाताहरुसँग मत माग्न थालेका हुन् ।
प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार चुनावचिन्ह कलमवाहक प्रकाश ज्वाला, प्रदेशसभा क मा चुनावचिन्ह गोलाकार भित्रको हसिया हतौडावाहक भिम प्रकाश शर्मा र प्रदेशसभा ख मा रुख चुनाव चिन्हवाहक सुरेश अधिकारी भोट माग्दै घरदैलोमा केन्द्रित हुनुभएको छ ।
संयुक्त चुनाव परिचालन समितीका संयोजक टेक बहादुर बस्नेत, प्रतिनिधिसभाका उम्मेदवार ज्वाला, प्रदेशसभा क का उम्मेदवार शर्मा र प्रदेशसभा ख का उम्मेदवार अधिकारी गाउँकेन्द्रित हुनुभएको हो । आज मात्रै बस्नेत त्रिबेणी गाउँपालिका वडा नम्बर ५ र ६, ज्वाला कुमाख गाउँपालिका ६ र ७, शर्मा दार्मा गाउँपालिका ३ र ४ मा चुनावी अभियान लिएर जानुभएको छ । यस्तै अधिकारी पनि आन्तरिक भेटघाटमा व्यस्त बन्नुभएको छ ।