उम्मेदवार गाउँमा : युवा राहदानीको लाइनमा

‘देश विकासका लागि त युवा नै राजनीतिमा आउनुपर्छ तर हाम्रो विडम्बना, देश चलाउने नेता छान्नसमेत युवा गाउँघरमा छैनन्’ उहाँले भन्नभयो ‘निर्वाचनको मुखमा राहदानी बनाउन आउनु यो हाम्रो रहर होइन, बाध्यता हो ।’

सल्यान, २५ कार्तिक ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अव डेढ हप्ता मात्रै बाँकी छ । जताततै निर्वाचनकै चर्चा छ । निर्वाचनमा आफ्नो अमूल्य मत खसाल्न जिल्ला बाहिर र विदेशबाट समेत धमाधम मतदाता आउनथालेका छन् । तर यहाँ अर्को जमात पनि छ, उनीहरूलाई निर्वाचनभन्दा आफ्नै पारिवारिक समस्या ठूलो छ । निर्वाचनमा जित सुनिश्चित गर्न उम्मेदवार र नेताहरु गाउँ पसेका छन् । यहाँका युवायुवतिहरु भने विदेश जानको लागि राहदानी बनाउने लाइनमा छन् ।

जिल्लाको विकास र समृद्धिका लागि युवाको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको संघारमा जिल्लाको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी राष्ट्रमा पसिना बगाउन जानको लागि जिल्ला प्रशासन कार्यालयको परिसरमा राहदानी बनाउने लाइनमा छन् । ‘जिल्लाको लागि यो सबैभन्दा ठूलो दुर्भाग्य हो’ स्थानिय नरेन्द्र वली भन्नुहुन्छ । उहाँले युवा पलायन रोक्न तीनै तहको सरकारले प्रभावकारी योजना बनाउन नसकेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार गएको आर्थिक बर्ष २०७८÷०७९ मा जिल्लाबाट २ हजार १ सय ६७ जनाले राहदानी बनाएका छन् ।

यस्तै सोही आर्थिक बर्षको फागुनसम्म दु्रत सेवाका लागि १ हजार ९ सय ६५ जनाले सिफारिस लिएका छन् । यस्तै चालु आर्थिक बर्षको हाल सम्ममा विद्युतीय राहदानीका लागि फारम बुझाएका २ हजार ३ सय २० जना मध्ये हाल सम्म १ हजार ६ सय ९७ जनाले विद्युतीय राहदानी लिएका छन् ।
यस्तै पहिले लिन छुटेका ४५ जनाले राहदानी लिएका छन् । यो सरकारी तथ्यांक मात्र हो । यसबाहेक गाँस, बास र कपासको जोहो गर्न छिमेकी राष्ट्र भारतका विभिन्न सहरमा भौंतारिइरहेका युवाको संख्यासमेत जोड्दा तथ्यांक अझ गम्भीर बन्न सक्छ । विगतका तुलनामा पछिल्लो समय विदेश जानको लागि राहदानी बनाउन आउनेको संख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले दैनिक करिब ५० जना युवायुवति राहदानी बनाउनको लागि आउने गरेको बताउनुभयो । ‘जिल्लाको ग्रामीण क्षेत्रमा चरम गरिबी छ, रोजगारीको अवसर छैन, अधिकांश नागरिकलाई हातमुख जोड्नै समस्या छ, यस्तो स्थितिमा यहाँका युवायुवतिसँग जीवन धान्न मलेसिया र खाडी राष्ट्रतर्फ होमिनुको विकल्प छैन’ उहाँले भन्नुभयो । राहदानी बनाउन आउने अधिकांशले खाडीमुलुक जाने योजना सुनाउने गरेको उहाँको भनाइ छ ।

निर्वाचनको समयमा युवाहरुलाई रोजगारीको आश्वासन दिने गरेको भएपनि युवा पलायनलाई रोक्ने प्रभावकारी उपाय नेता र उम्मेदवारले अघि सार्न नसकेको युवाहरुको भनाइ छ । ‘राजनीतिक दल र उम्मेदवारका घोषणापत्रमा समेत युवा पलायनलाई रोक्ने स्पष्ट योजना छैन्, जबसम्म राज्य ठोस र प्रभावकारी योजनासहित अगाडि आउँदैन्, तबसम्म हाम्रा गाउँघर युवाविहीन रहने निश्चित छ’ राहदानी बनाउन आउनुभएका त्रिबेणीका देवराज थापाले भन्नुभयो ।

उहाँका अनुसार युवावर्ग समय र समाज सँगसँगै अगाडि बढेका हुन्छन् । उनीहरूमा विकास र परिवर्तनको चाहना पनि बढी हुन्छ । ‘देश विकासका लागि त युवा नै राजनीतिमा आउनुपर्छ तर हाम्रो विडम्बना, देश चलाउने नेता छान्नसमेत युवा गाउँघरमा छैनन्’ उहाँले भन्नभयो ‘निर्वाचनको मुखमा राहदानी बनाउन आउनु यो हाम्रो रहर होइन, बाध्यता हो ।’

‘देश बनाउनुपर्ने युवा खाडीमा छन्, जोस जाँगर सकिएका प्रौढहरू देश चलाउने नारा बोकेर मत माग्न घर–घर चहार्दै छन्, गाउँघरमै भएका केही युवा पनि विरक्तिएर बसेका छन्, यही हो, हाम्रो गाउँको यथार्थ’ कपुरकोटका रोषण घर्ती भन्नुभहुन्छ ‘यो निर्वाचनमा मत खसाल्न त बूढापाका र महिला मात्र गाउँघरमा छन् ।’ ‘तपाइँहरू पालैपालो देश हाँक्नुहुन्छ तर, यहाँका युवाले किन रोजगारी पाउन सकेनन् ? जिल्लामा किन एउटा पनि उद्योग स्थापना हुन सकेन ? गाउँघरमा बाँकी रहेका युवाले तपाइँहरूलाई भोट किन दिने ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

अर्का युवा झक्कु बस्नेतले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्वदेशमै रोजगारीदेखि युवाहरूलाई लक्षित गर्दै कार्यक्रम समावेश गरे पनि ती कार्यक्रम र प्रतिबद्धताले भने विदेश जाने युवाहरूलाई समेट्न नसकेको बताउनुभयो । ‘यहीँ केही गरौँ भनेको त हो नि, तर केही भएन, हातमा सर्टिफिकेट बोकेर धेरै ठाउँ धाएँ, नेताहरूको पछि पनि लाएँ, उपलब्धि केही भएन,’ उहाँले भन्नुभयो ‘आँखिर विदेश नै रहेछ हामी जानुपर्ने, यहाँ पसिना बगाउने वातावरण भएन, विदेश जानुको अर्को विकल्प जिल्लामा भेटिएन ।’

राजनीतिक व्यवस्था परिवर्तनपछि पनि स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले रोजगारमूलक कार्यक्रमहरू ल्याउन नसक्दा मतदातालाई झनै निराश बनाएको छ । अझ कामको खोजीमा मलेसिया र खाडीमुलकमा जानको लागि राहदानी बनाउने लाइनमा रहेका युवाहरु नेता र उम्मेदवारप्रति झनै रुष्ट बनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस