‘पैसा र शक्तिको आडमा मतदातालाई भ्रमित पार्नुहुदैँन्’

सल्यान, २८ कार्तिक ।
निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत सिर्जना गर्नको लागि पैसा र शक्तिको आँडमा मतदाताहरुलाई भ्रमित पार्न नहुने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले निर्वाचनमा आफुले रोजेको उम्मेदवालाई मतदान गर्न पाउने हरेक मतदाताको अधिकार भएकाले पैसा र शक्तिको आडमा कसैले पनि मतदाताहरुलाई भ्रममा पार्न नहुने बताएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश, सुर्खेतले आइतवार सल्यानको सदरमुकाम खलंगामा आयोजना गरेको निर्वाचनपुर्वको अवस्था सम्बन्धनमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । छलफलमा सहभागि हुदैँ नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सबैको भएकाले सबैक्षेत्र सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले विगतका निर्वाचन भन्दा अहिलेको निर्वाचनमा केही हदसम्म मितव्ययिता अपनाइएको भएपनि यदाकता मतदाताहरुलाई भ्रम सिर्जना हुने खालका गतिविधि भैरहेको सुन्नमा आएकाले सबै सजक हुनुपर्ने बताउनुभएको छ । यस्तै महासंघकै उपाध्यक्ष सरिता चलाउनेले गाउँघरमा निर्वाचनको त्यतिधेरै उत्साह नभएपनि केही उम्मेदवारहरुले मतदाताहरुलाई भ्रमित पार्ने खालले प्रचारप्रसार गरिरहेको बताउनुभएको छ ।

यस्तै पत्रकारहरु रमेश कुमार वली, बिप्लव महर्जन, बुद्धिप्रकाश हमाल, हिमाल शर्मा, खकेन्द्र केसीले निर्वाचनमा त्यतिधेरै तडकभडक नदेखिए पनि निर्वाचन आंचारसंहिता उलंघनका बिषयमा भने सरोकारवाला निकाय गम्भिर रुपमा लाग्नुपर्ने बताउनुभएको छ । निर्वाचनलाई शान्त एवम् भयरहित वातावरणमा सम्पन्न गर्नु गराउनु सबैको दायित्व भएकाले बिशेषतः मतदाताहरुलाई भ्रममा पार्ने, मताअधिकारबाट बञ्चित गर्ने खालका गतिविधि हुन नदिन सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनीहरुको भनाइ छ ।

छलफल कार्यक्रममा इन्सेकका पूर्वमहासचिव कुन्दन अर्यालले निर्वाचनको समयमा दल र उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिताका बारेमा सचेत पार्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरण निर्वाचन सम्पन्न गराउन पत्रकार र पर्यवेक्षकले जोड दिनुपर्ने बताउनुभयो । यस्तै इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचनका कमी कमजोर पत्ता लगाई आगामी दिनमा निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि इन्सेकले पर्यवेक्षणगर्दै आएको र यस बर्षपनि पर्यवेक्षण गर्ने अनुमति पाएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस