सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ‘प्रकाश ज्वाला’ को हुन् ?

उहाँले पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताउनु भएको थियो ।

सल्यान, ९ मंसिर ।
सल्यानबाट प्रतिनिधिसभा सदस्यमा प्रकाश ज्वाला विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहलाई १५ हजार ९ सय ११ मतले पराजित गर्नुभएको हो । जसमा ज्वालाको पक्षमा ३५ हजार ७ सय मत आएको छ । स्वतन्त्र उम्मेदवार शाहको पक्षमा १९ हजार ७८९ मत छ । विशेष गरी ज्वालाको प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गर्नुभएको छ ।

२०२३ मंसिर १२ गते सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा जन्मिएका प्रकाश ज्वाला राजनीतिक यात्रा निकै सङ्घर्षशील हुनुहुन्छ । पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताउनुभएका उहाँ २०७४ मा सल्यान प्रदेशसभा (ख) बाट प्रदेशसभा चुनाव जितेर प्रदेश सरकारको अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुनुहुन्छ । २०५१ को आम निर्वाचनमा नेकपा एमाले सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ज्वाला ०५६ को आम निर्वाचनाट नेकपा एमालेका तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यस्तै ज्वालाले २०७० सालमा समेत चुनाव जित्नुभयो । २०६२/०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएर लाग्नुभयो । राजनीतिक यात्राकै क्रममा प्रकाशबहादुर बुढाथोकीबाट ‘प्रकाश ज्वाला’ का रूपमा उहाँको परिचय बनेको थियो । १० वर्ष नेकपा एमाले जिल्ला कमिटी सल्यानको सचिव बनेका उहाँले सल्यानमा प्रभावशाली नेताको छवि बनाउनुभएको छ ।

शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भई प्रभावकारी भूमिका निभाएका उहाँले प्रतिनिधिसभा राज्य व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिको सभापति भएर तत्कालीन राजा र दरबारको जग्गा जमिनलगायत सम्पत्ति छानबिनमा काम गरेर निकै लोकप्रियता कमाउनुभएको थियो । जसले उहाँलाई राष्ट्रिय राजनीतिमा प्रभाव राख्नका लागि मद्दत पु¥याएको थियो । ज्वालाले एमाले पोलिटव्यूरो सदस्य, केन्द्रीय संगठन विभागका सदस्यसँगै राप्ती अञ्चल समन्वय कमिटी संयोजक भएर तत्कालीन पार्टी नेतृत्वमा योगदान दिनुभयो ।

ज्वालाको परिचय लेखकका रूपमा पनि परिचित छ । उहाँका प्रतिनिधि सभामा प्रकाश ज्वाला, एक्काइसौँ शताब्दी समाजवादको शताब्दी, वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन लगायतका कृषिहरू प्रकाशित छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका उहाँ तत्कालीन प्रधानमन्त्री झालनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार (२०६७–२०६८) भएर समेत काम गर्नुभएको थियो ।

२०७४ मा एमालेबाट प्रदेशसभा (ख) मा चुनाव लडेका ज्वालाले १९ हजार ८३६ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उहाँले कर्णाली प्रदेशको पहिलो अर्थमन्त्री भएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेकपा भित्रको अन्तरसंघर्षका क्रममा उहाँले माधव कुमार नेपाल खेमाको लिड गर्दै ओली पक्षधर यामलाल कँडेल लगाएत नेताहरुको विरुद्धमा विद्रोह गर्नुभयो भने उहाँ सहित चारजना तत्कालीन एमाले सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगिएको थियो ।

ज्वालाको उक्त विद्रोहको बिउ भनेको अहिलेको सत्ता गठबन्धन हो । उहाँको विद्रोहले कर्णालीमा गठबन्धनको आधार तयार भएको थियो । विद्रोहको नेतृत्व गरेका ज्वालासहित चार जनालाई एमालेले निष्कासन ग¥यो । त्यसपछि नेकपा हुँदै एमाले विभाजन भयो । माधव नेपालले गठन गरेको एकीकृत समाजवादीको उपमहासचिव एवं प्रदेश इन्चार्जको जिम्मेवारी पाएका उहाँले माधव नेपाललाई कठिन परिस्थितिमा साथ दिँदै आउनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस