अझै पुगेन् पाठ्यपुस्तक

प्रधानाध्यापक को हुने भन्ने विवादले डेढ बर्षदेखी प्रधानाध्यापक बिना नै बिद्यालय सञ्चालन भैरहेको छ ।

सल्यान, १५ मंसिर ।

शैक्षिक सत्र शुुरु भएको झण्डै ८ महिना पुगिसकेको छ । पर्याप्त मत पत्र र निर्वाचन प्रचार सामाग्री छपाउन सक्ने सरकारले विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याउन भने अझै सकेको छैन् । जसका कारण सल्यानको शारदा नगरपालिकामा रहेको एक बिद्यालयका बिद्यार्थीहरुले पाठ्यपुस्तक विना नै बार्षिक परिक्षा दिने तयारी गरेका छन् । भर्ना भएपछि बिद्यार्थीले अध्ययनका लागि पाउनुपर्ने पाठ्यपुस्तक अझै पाउन सकेका छैनन् ।

नेपाल सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तकहरु निःशुल्क वितरण गर्ने भनेपनि सल्यानमा पुस्तक नआएपछि शिक्षकले पुराना, पाना च्यातिएका पुस्तक खोजेर पढाउदैँ आएका छन् । तर धेरै विद्यार्थीका हातमा पुराना पाठ्यपुस्तक पनि पुग्न सकेको छैन । जिल्लाको शारदा नगरपालिका ९ सुन्चौरमा रहेको श्री निम्न माद्यामिक बिद्यालयमा अझै पाठ्यपुस्तक अभाव रहेको छ ।

कक्षा ८ मा अध्ययनरत चक्र बहादुर विकसँग अंग्रेजी, नेपाली र स्वास्थ्य तथा शारिरीक शिक्षा किताव पुरानै छ । पुरानो किताव भएकाले अघिल्ला पाठ र पछिल्ला केही पाठ छैनन् । तर उनी त्यही किताव पढ्दै आएका छन् । ‘अघिल्ला केही पाना छैनन्’ उनले भने ‘कक्षा ८ पास गर्न बित्तिकै अर्को बिद्यालयमा पढ्न जानुपर्छ तर मुख्य विषय नै नहुदाँ कसरी पढ्नु ?’

चक्रसँगै पढ्ने कौशिला बोहरासँग तीन वटा किताव छैनन् । ‘अंग्रेजी, नेपाली र स्वास्थ्य तथा शारिरीक शिक्षा किताव नै छैन्, केहीले दाइदिदीका, साथीहरुसँग पुराना किताव मागेका छन्, तर मसँग त्यही पुराना किताव पनि छैनन्’ उनले भनिन् ‘सरले पढाउनुहुन्छ, हामी पुरानै किताव भएको साथीसँगै बसेर हेर्छौ ।’ उनले किताव नहुदाँ घरमा पढ्ने अवस्था नभएको बताईन् । ‘किताव भए पढ्न हुन्थ्यो’ उनले भनिन् ‘पहिलेका परिक्षा किताव विना नै दियौँ, बार्षिक परिक्षा पनि किताव विना नै दिने त होला ।’

समयमै विद्यार्थीले पुस्तक नपाउँदा पढाइ प्रभावित भएको अभिभावकको गुनासो छ । यस बिद्यालयमा केही महिना अघि मात्रै बाँकी कक्षाका पाठ्यपुस्तक आएका हुन् तर कक्षा ८ को अंग्रेजी, नेपाली, स्वास्थ्य तथा शारिरीक शिक्षा भने अझै आएको छैन् । जसका कारण बिद्यार्थीलाई पढाउन समस्या भएको शिक्षक टिकाराम कार्कीले बताउनुभयो ।

‘अहिले पढाउन निकै समस्या भएको छ, मुख्य बिषयको किताव नै नहुदा बिद्यार्थीलाई कसरी पढाउनु ? हामी कहाँ केही बिद्यार्थीहरुले मात्रै पुरानो किताव मागेर ल्याएका छन्, तर धेरै बिद्यार्थीमा त्यही पुरानो किताव पनि छैन्’ उहाँले भन्नुभयो ‘बार्षिक परिक्षा आउन केही महिनामात्रै बाँकी छ, यस्तो अवस्थामा उनीहरुको पढाईमा निकै समस्या भएको छ ।’

समयमा नै बिद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध नहुनु ठूलो समस्या हो । बिद्यालयमा पाठ्यपुस्तकको अभाव भएपनि पुस्तक व्यवसायिलाई पहिले ल्याएका पाठ्यपुस्तकको रकम भुक्तानी गर्न नसक्दा बाँकी किताव नआएको बिद्यालय स्रोत बताउँछ । बिद्यालयकै अर्का शिक्षक कर्ण बहादुर बुढाले भने अबको केही समयमा नै बिद्यालयमा पुस्तक आउने दावी गर्नुभयो । अहिले बिद्यालयको बैँक खाता रोक्का भएका कारण पाठ्यपुस्तकको रकम निकासा नहुदाँ सबै पाठ्यपुस्तक नआएको भएपनि अबको केही दिनमा अपुग सबै पुस्तक आउने उहाँको भनाइ छ ।

डेढ बर्षदेखी प्रधानाध्यापक विहिन

यस बिद्यालय करिब डेढ बर्षदेखी प्रधानाध्यापक विहिन छ । जसका कारण अहिले शिक्षकहरुले मनोमानी रुपमा बिद्यालय सञ्चालन गरेका छन् । केही शिक्षक बिद्यालयमा नै आउँदैनन् भने केही शिक्षक बिद्यालय आएर पनि नपढाएर जान्छन् । जसका कारण विद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको छ ।

विद्यालयमा प्रधानाध्यापक हुदाहुदैँ शारदा नगरपालिकाले अर्का शिक्षकलाई प्रधानाध्यापक भनेर तोकेर पठाएपछि विद्यालयमा विवाद सिर्जना भएको अभिभावक धन बहादुर राणाले बताउनुभयो । बिद्यालय व्यवस्थापन समिती र अभिभावकले आफुहरुले सिफारिस गरेको शिक्षक प्रधानाध्यापक हुनुपर्ने माग गरेपनि नगरले विधि, पद्धतिअनुसार भन्दै अर्कै शिक्षकलाई प्रधानाध्यापकमा सिफारिस गरेपछि समस्या भएको उहाँको भनाइ छ ।

नगरपालिकाले स्थायी शिक्षक नै प्रधानाध्यापकको पहिलो प्राथामिकतामा हुनुपर्ने बताएपनि बिद्यालय व्यवस्थापन समिती र अभिभावकले आफुहरुले सिफारिस गरेको शिक्षक प्रधाध्यापक हुनुपर्ने र यदी स्थायी शिक्षक मात्रै प्रधानाध्यापक हुनुपर्नेभए नगरका सबै बिद्यालयमा स्थायी शिक्षक बाहेक अरु सबै प्रधानाध्यापकहरुलाई हटाउनुपर्ने माग गरेका छन् । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष शरद कुमार राणाले प्रधानाध्यापककै बिषयका कारण बिद्यालय र बिद्यार्थीको भविष्य अन्यौलमा परेको बताउनुभयो ।

दश महिनादेखी पाएनन् शिक्षकले तलव

यस बिद्यालयका शिक्षक कर्मचारीहरुले झण्डै दश महिनादेखी तलव पाएका छैनन् । प्रधानाध्यापकको विवादले बैँक खाता रोक्का हुदाँ गएको फागुनदेखी तलव नपाएको शिक्षककर्मचारीहरुको गुणासो छ । यस्तै बिद्यार्थीको दिवा खाजा, छात्रबृत्ति, पुस्तक खरिद, आइसिटी, बिद्यालय भवन मर्मत लगाएतका कामहरुको निकासा रोखिएको छ ।

यस बिद्यालयमा २ सय १६ जना बिद्यार्थी रहेका छन् । बिद्यालयमा दरबन्दी शिक्षक १, प्रावि राहत १, साधारण दरबन्दी १, निमावि राहत १, बालविकास १, निजिस्रोत २ र कार्यालय सहयोगी १ जना रहेका छन् ।

समस्या समाधानको लागि त्रिपक्षिय छलफलको तयारी

शारदा नगरपालिका शिक्षा शाखाले भने यस बिद्यालयमा देखिएको समस्या समाधानको लागि त्रिपक्षिय छलफल गर्ने तयारी रहेको जनाएको छ । शिक्षा शाखा प्रमुख संगिता बुढाले प्रधानाध्यापकको बिषयलाई लिएर यस बिद्यालयमा पहिलेदेखी नै समस्या भएको र यसको समाधानको लागि पहल भैरहेको बताउनुभयो ।

उहाँले बिद्यालयमा पाठ्यपुस्तक अभाव बारे जानकारी नआएको बताउनुभयो । ‘यस बिद्यालयको बैँक खाता रोक्का हुदाँ आर्थिक गतिविधि सञ्चालन हुन सकेको छैन्, बिद्यालयले पाठ्यपुस्तक आइसकेको तर भुक्तानी हुन बाँकी रहेको जनाएको थियो’ उहाँले भन्नुभयो ‘यस बिद्यालयमा देखिएका समस्या समाधानको लागि पहल गर्छौ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस