दलित सेवा संघ सल्यानको ७ औं जिल्ला अधिबेशन तथा १३ औं साधारणसभा सम्पन्न

जातीय छुवाछूत र विभेद अन्त्यका लागि सबै लाग्नुपर्छ : सरोकारवाला

सल्यान, १६ मंसिर ।

जातीय छुवाछूत र विभेद अन्त्यका लागि सबै सक्रिय भएर लाग्नुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिताहरुले बताएका छन् । उनीहरुले एकाशौँ शताब्दीमा पनि अझै समाजमा जातीय छुवाछूत र विभेदको अवस्था रहदैँ आएकाले सबैले छुवाछूत र विभेद अन्त्यका लागि सक्रियता देखाउनुपर्ने बताएका हुन् ।

शुक्रवार खलंगामा दलित सेवा संघ जिल्ला शाखा सल्यानको ७ औं जिल्ला अधिबेशन तथा १३ औं साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख असविर बुढाथोकीले बिभिन्न आन्दोलन, त्याग र तपस्याबाट प्राप्त व्यवस्थाले नै मुलुकलाई जातीय छुवाछूत र विभेद अन्त्य भएको घोषणा गरेको बताउनुभयो ।

तर संविधान कार्यान्वयनकै क्रममा रहेकाले समाजमा अझैपनि छुवाछूत र विभेद यदाकदा रहेको सुन्नमा आउने गरेकाले विभेद अन्त्यको लागि सबै लाग्नुपर्ने उहाँको भनाइ छ । ‘खुलेर छुवाछूत र विभेद गर्ने गरेका घटना समाजमा छैनन्, तर पनि दलित समुदायका नागरिकले अझै विभेदको महसुस गरेको पाइन्छ’ उहाँले भन्नुभयो ‘नागरिकमा चेतनाको स्तर बढेसँगै त्यस्ता खालका सामाजिक विकृति अन्त्य हुने क्रममा रहेका छन् ।’

यस्तै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले शिक्षा, स्वास्थ्यसँगै आर्थिक रुपमा कमजोर मानिएका समुदायमा मात्रै त्यस्ता खालका बिकृति रहेकाले ती बिकृति हटाउनका लागि नगरपालिकाले आर्थिक उपार्जन र रोजगारी प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

दलित सेवा संघका केन्द्रिय महासचिव सन्जुसिंह बिश्वकर्माले एउटा जात भित्र रहेर जातिय भेदभाव र छुवाछूतलाइ प्रसय दिने अधिकार कसैलाई नभएको बताउनुभयो । अहिले पनि दलितका नाममा गलत ब्याख्या गर्ने र दलित समुदायलाई माग्ने बर्गमा राख्ने प्रवृत्ति अझै रहेकाले त्यो प्रवृत्ति अन्त्यका लागि सबै लाग्नुपर्ने उहाँको भनाइ छ । ‘राज्यका हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व हुन आवश्यक छ’ उहाँले भन्नुभयो ‘यसका लागी दलित समुदाय लाग्न आवश्यक छ र सरकारले पनि यस बारेमा सोच्न आवश्यक छ ।’

कार्यक्रममा दलित सेवा संघ दाङका सचिब सन्तोष बिक, दलित अधिकारकर्मी गोपाल सुनार, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव बुद्धि पुन लगाएतले बोल्नु भएको थियो । दलित सेवा संघ सल्यानका अध्यक्ष दिल बहादुर परियारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सदस्य धन बहादुर बिकले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब धन बहादुर परियारले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस