टहरामा बसेर पढाइ

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीमा रहेको कालिका माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले जस्तापाताले बनाएको टहरामा बसेर पढ्दै आएका हुन् ।

सल्यान, २३ मंसिर ।

सल्यानको एक बिद्यालयका विद्यार्थीहरुले टहरामा बसेर पढ्दै आएका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीमा रहेको कालिका माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले जस्तापाताले बनाएको टहरामा बसेर पढ्दै आएका हुन् । जीर्ण अवस्थामा रहेका बिद्यालय भवन भत्काइएपछि बिद्यार्थीहरुले करिब २ महिनायता टहरामा बसेर पढ्दै आएका हुन् ।

पुराना र जीर्ण भवन भत्काइएपछि कक्षाकोठाको अभावमा कक्षा ३, ५ र ७ कक्षाका बिद्यार्थीहरुले टहरामा बसेर पढ्दै आएका हुन् । टहरामा बसेर अध्ययनगर्दा निकै असहज हुने गरेको बिद्यार्थीहरु बताउँछन् । ‘टहराभित्र बसेर पढ्न निकै चिसो छ, बस्न पनि असहज छ’ कक्षा ७ मा अध्ययनरत एक बिद्यार्थीले भने ‘साँघुरो कोठा भएकाले टहराभित्र भन्दा खुल्लाचौरमा बसेर पढ्न सहज हुन्छ ।’

कक्षा ५ मा अध्ययनरत अर्का एक बिद्यार्थीले चारैतीरबाट जस्तापाता लगाएर बनाएको टहरामा बसेर पढ्दा अर्कोकोठामा बोलेका सबैकुरा प्रष्टसँग सुनिने भएकाले पढ्न समस्या भएको बताए । ‘यता सरले पढाउन लाग्नुभएको हुन्छ, जस्तापाताले बनाएको कोठा भएकाले अर्कोकोठामा बोलेको सबै कुरा यता सुनिन्छन्’ उनले भने ‘यसले गर्दा पढ्न, लेख्नमा समस्या भएको छ, ध्यानभरी अर्को कोठामा मोडिन्छ ।’

बिद्यालय प्रशासनले भने जीर्ण अवस्थामा रहेका बिद्यालयका भवन भत्काइदा कक्षाकोठाको अभाव भएको र वैकल्पिक बसाँईको लागि टहरा बनाइएको जनाएको छ । बिद्यालयका प्रधानाध्यापक भिम खड्काले पुराना, जीर्ण र जोखिमयुक्त भवन भएकाले भत्काइएको बताउनुभयो । ‘भवन भत्काएर नयाँ बनाउनुको विकल्प भएन्’ उहाँले भन्नुभयो ‘भवन भत्काएपछि मात्रै फिल्ड निर्माण भएको हो, अव यही फिल्डमा नयाँ भवन निर्माण हुन्छ ।’

उहाँले दुईकोठे भवन निर्माणको लागि वजेट पनि बिद्यालयमा प्राप्त भैसकेको बताउनुभयो । ‘बिद्यालयका तीन वटा भवन पुराना भए, नयाँ निर्माणका लागि ती भवन भत्काउनै पर्ने भयो, सोही अनुसार पुराना भवन भत्काएर फिल्ड निर्माण गरेका छौँ, दुईकोठे नयाँ भवन निर्माणको लागि पनि वजेट प्राप्त भएको छ’ उहाँले भन्नुभयो ‘नयाँभवन निर्माण सम्पन्न नहुँदा सम्मको लागि वैकल्पिक रुपमा बस्ने व्यवस्था मिलाएका छौँ ।’

दुईकोठे नयाँ भवन निर्माणको लागि कर्णाली प्रदेश सरकारले यसैबर्ष २५ लाख रुपैँया छुट्याएको छ । बिद्यालयमा टहरा निर्माणको लागि नगरपालिकाले सहयोग गरेको जनाइएको छ । २०२१ सालमा स्थापना भएको यस बिद्यालयमा अहिले २ सय ५८ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

यसैविच बिद्यालयमा नयाँ भवन निर्माणको लागि पहल गर्ने सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश ज्वाला र प्रदेशसभा सदस्य भिमप्रकाश शर्माले प्रतिवद्धता जनाउनुभएको छ । जीर्ण भवनका कारण बिद्यार्थीले सास्ती पाएकाले नयाँ भवन निर्माणका लागि संघिय सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने ज्वालाको भनाइ छ ।

शिक्षा नै विकास र समृद्धिको मेरुदण्ड भएकाले बिद्यालयमा भएको भवन अभावको समस्यालाई दिगो हुनेगरी समाधान गर्ने शर्माको भनाइ छ । सोमबार बिद्यालय परिसरमा बधाई ग्रहण गर्दै उहाँले बिद्यालयको भवन निर्माणसँगै फिल्ड निर्माणका लागि प्रदेश सरकारसँग माग गर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भौतिक संरचनासँगै प्रविधिमैत्री बनाउन आफुले पहल गर्ने उहाँको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस