‘लैंगिक हिंसाका घटना अझै बाहिर आएनन्’

 

सल्यान, २५ मंसिर ।

समाजमा लैंगिक हिंसाका थुप्रै घटना हुने गरेपनि सार्वजनिक भने कम मात्रामा हुने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । उनीहरुले अशिक्षा, गरिवि, सामाजिक विभेद, असमानता लगाएतका बिभिन्न कारणले समाजमा हुने गरेका सबै लैंगिक हिंसाका घटनाहरु बाहिर सार्वजनिक नहुने गरेको बताएका हुन् ।

सभ्य समाजको पहिचान : लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको शनिवार सल्यान खलंगामा आयोजित समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले महिलामाथि पुरुषहरुले गर्ने शोषण, सामाजिक सोच, कानुनी बिज्ञता नहुनु, ढिला गरेर न्यायनिरुपण हुनु जस्ता कारणले समाजमा हुने लैंगिक हिंसाका सबै घटना बाहिर नआउने गरेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले समाजमा हुने सबैखाले हिंसा न्युनिकरणको लागि सबै क्षेत्रले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । यस्ता खालका अभियान संचालन गर्नको लागि नगरले बजेट विनियोजन गरेकाले सोहि अनुसार काम गरिने उहाँको भनाइ छ । उहाँले समाजमा हुने बिभिन्न खाले हिंसा न्युनिकरण अभियानलाई अभियानकै रुपमा संचालन गरिने बताउनुभयो ।

यस्तै नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारले अझैपनि हिंसामा परेकाहरु खुलेर बाहिर आउन सक्ने अवस्था नभएको बताउनुभएको छ । उहाँले हिंसा रोक्नको लागि वडा देखि विद्यालय तह सम्म सचेतिकरण अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी सहायक निरीक्षक भगवती कवरले लैंगिक हिंसाका घटना न्यूनीकरण गर्नको लागी प्रहरी सदैब तयार रहेको बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउनेले हिंसा न्युनिकरणका लागि अभियान संचालन गर्दै आएपनि महिलामाथी हुने हिंसाका घटनामा कमि आउन नसक्नु दुखद पक्ष भएको बताउनुभएको छ । महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको यसले समाजलाई उधो गति तर्फ लैजाने गरेको उहाँको भनाइ छ ।

शारदा नगरपालिकाको आयोजना, सामाजिक बिकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, सिएमसि नेपाल, बालबिबाह बिरुद्धको साझा अभियान सल्यानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजीकरण सिएमसि नेपालका मनोसामाजिककर्ता मिना बुढाथोकीले गर्नुभएको थियो । सो अवशरमा खलंगा बजारमा र्याली समेत निकालिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस