सामुदायिक रेडियो राप्ती एफएम आज देखी १६ बर्षमा प्रवेश

‘सामुदायिक रेडियो आमनागरिकको आवाज बन्नुपर्छ’


सल्यान, २६ मंसिर ।
सल्यान जिल्लाकै पहिलो सामुदायिक रेडियो राप्ती एफएम आज देखी १५ बर्ष पुरा गरेर १६ बर्षमा प्रवेश गरेको छ । शारदा मिडिया संगमद्धारा सञ्चालित राप्ती एफएमले १५ बर्ष पुरा गरेको अवशरमा आज खलंगास्थि रेडियोको हलमा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको हो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक रेडियो आमनागरिकको आवाज बन्नुपर्ने बताएका छन् । उनीहरुले जिल्लामा सञ्चारका अन्य साधनहरुको पहुँचमा सबै नागरिक नभएकाले सामुदायिक रेडियो नै आमनागरिकको आवाज बन्नुपर्ने बताएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मणसिंह राठौरले आमनागरिकलाई सूसुचित गर्ने काम एफएम रेडियोबाट नै भैरहेको बताउनुभएको छ । जसका लागि रेडियोले दिने सुचना र समाचारलाई समायानुकुल बनाउदैँ खोजमुलक, सचेतनात्मक र रचनात्मक बनाउनुपर्ने उहाँको भनाइ छ । अहिले पनि रेडियोको लोकप्रियता कायमै रहेकाले आमनागरिकलाई नै केन्द्रमा राखेर सामुदायिक रेडियोले विकास र समृद्धिको साझेदारीको रुपमा काम गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृपजंग शाहीले परिवर्तित समयको माग सँगै रेडियोबाट प्रशारण हुने सामाग्रीमा पनि नयाँपन हुनुपर्ने बताउनुभएको छ । ‘रेडियोले समाजमा सकारात्मक प्रभावपार्ने खालका सामाग्री प्रशारण गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘सबै निकायले गरेका राम्रा कामको प्रोत्साहन र नराम्रा कामको खवरदारी गर्नुपर्छ ।’

यस्तै नेत्रलाल अभागि प्रतिष्ठानका अध्यक्ष इन्द्र कुमार शर्माले सामुदायिक रेडियोलाई कसरी टिकाउने भन्ने नै मुख्य चुनौती भएकाले राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका पुर्व कार्यवाहक अध्यक्ष सनत कुमार शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ता बढिरहेको अवस्थामा रेडियो सुनौँ सुनौँ खालका सामाग्री प्रशारण गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउनेले ग्रामिण भेगहरुमा सामुदायिक रेडियोप्रतिको आकृर्षण धेरै रहेको बताउनुभएको छ । आवाज विहिनको आवाज बोल्ने काम सामुदायिक रेडियोले गर्दै आएको भएपनि राज्यका तर्फबाट गरिएको लगानी पर्याप्त नभएको बताउनुभयो ।

यस्तै रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावतले आफ्नै स्रोत र साधनको उपयोग गरेर अघि बढेका सामुदायिक रेडियोहरुको संरक्षण र सुरक्षामा राज्य गम्भिर नभएको बताउनुभयो । रेडियोमा अवसर मात्रै नभएर थुप्रै चुनौती पनि भएकाले रेडियो र रेडियोकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

शारदा मिडिया संगमका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष रमेश कुमार वलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव मनविर बस्नेतले गर्नुभएको थियो । सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको यस रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस