सल्यान, २८ मंसिर ।
वैदेशिक रोजगारीले मानसिक समस्याको जोखिम बढाएको पाइएको छ । श्रीमान वैदेशिक रोजगारीको लागि बिदेशमा जाने तर घरमा परिवारका सदस्यहरुलाई लान्छना लगाउने, होच्याउने, कुरा काट्ने जस्ता प्रबृत्ति समाजमा अझै रहेकाले यसले परिवारका सदस्यहरुमा मानसिक समस्याको जोखिम बढाएको पाइएको हो ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) द्वारा संचालित आप्रवासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धन परियोजना अन्तर्गत शारदा नगरपालिकाको मार्के स्वास्थ्य चौकिमा ६ महिनाको अवधिमा ४० जना मानसिक रोगीहरुको उपचार गरिएको छ । ति मध्ये अधिकांश मानसिक रोगी वैदेशिक रोजगारीमा गएकाका परिवार रहेको पाइएको हो ।
परिवारका सदस्य वैदेशिक रोजगारीमा जादा समाजले हेर्ने दृष्टिकोण र धारणामा फरकपन आउदा मानसिक समस्याले विकराल रुप लिन लागेको सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता मिना बुढाथोकीले बताउनुभयो । ‘नागरिकको बुझाइ सकारात्मक भएन, रोजगारी गाउँमा मिलेन, आर्थिक रुपमा सक्षम नहुदा बिदेश जानुपर्ने बाध्यता भयो, तर वैदेशिक रोजगारीमा गएकाहरुप्रति आमनागरिकको बुझाइ सकारात्मक भएन’ उहाँले भन्नुभयो ‘यसले मानसिक समस्या बढ्दै गएको छ ।’ यसलाई रोक्नको लागी सकारात्मक सोचको बिकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले वैदेशिक रोजगारीमा गएकाका परिवारमा बढि मात्रामा मानसिक समस्या भएको बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारप्रति केहि नागरिकको गलत बुझाइ रहेका कारण समस्या देखिएकाले सबै नागरिकलाई रोजगारी प्रदान गर्दै आर्थिक रुपमा सक्षम बनाइने बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख दशरथ श्रेष्ठले जिल्लाका सबै क्षेत्रमा मानसिक समस्या भएका बिरामी भएको हुनसक्ने बताउनुभएको छ । यसको न्यूनीकरण गर्नको लागि मानसिक रोगीको पहिचान र उपचारको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सिएमसि नेपाल)द्धारा सञ्चालित आप्रवासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना अन्र्तगत शारदा नगरपालिकाको मार्केमा गरिएका कामहरुको मंगलवार सामाजिक परिक्षण समेत गरिएको छ ।
सो अवशरमा सीएमसी नेपालका प्रदेश संयोजक हिमाल गैरेले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मन भण्डारीले गर्नुभएको थियो ।