श्रीनगरमा आधुनिक बसपार्क निर्माण हुदैँ

सुकुम्बासी र पुराना व्यवसायीहरुको उचित व्यवस्थापन गरिनुपर्ने स्थानियको माग

सल्यान, २८ मंसिर ।
सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा आधुनिक बसपार्क निर्माण गरिने भएको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका–१ श्रीनगरमा रहेको पुरानो बसपार्कलाई व्यवस्थित र आधुनिक बसपार्क निर्माण गरिने भएको हो । जसका लागि बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन शारदा नगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो ।

शारदा नगरपालिकाले २०७६ सालमा नै पुरानो बसपार्कलाई हटाएर व्यवस्थित र आधुनिक बसपार्क बनाउने महत्वकांक्षी योजना अघि सारेको थियो । ऐलानी जग्गामा भएका घरटहरा हटाउन १५ दिने सुचना जारी गरेपनि कोरोना भाइरसका कारण लकडाउन हुदाँ काम अघि बढ्न सकेको थिएन् । अहिले फेरी त्यसक्षेत्रमा आधुनिक बसपार्क निर्माण गर्नको लागि सरकारी पर्ती ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ ।

मंंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो । शारदा नगरपालिका १ अन्तर्गतको अस्थायी बसपार्क क्षेत्र वरपर ऐलानी जग्गामा व्यापारिक प्रयोजनका लागि साना र ठुला गरेर करिब ५० बढी घरटहरा बनाइएका छन् । नगरपालिकाले केही दिनअघि अमिन नै लगेर सरकारी ऐलानी जग्गा छुट्याएको थियो । नगरपालिकाले तोकिएको मितिभित्र घरटहरा नहटाए नियमानुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सानाठुला सबै घरटहरा भत्काइनुपर्छ : स्थानिय

अस्थायी बसपार्क क्षेत्रको ऐलानी जग्गामा बस्दै आएका स्थानियले नगरपालिकाले सानाठुला सबै घरटहरा भत्काउनुपर्ने बताएका छन् । आफुहरुले पनि दशक अघिदेखी ऐलानी जग्गाको भोगचलन गर्दै आएकाले साना टहरा मात्रै नभएर ऐलानीमा बनाएका ठुला घरहरु पनि भत्काइनुपर्ने बताएका हुन् । केही स्थानियले नगरपालिकाले सबैलाई एउटै नजरमा हेरे बसपार्क निर्माणको लागि आफै घरटहरा हटाइदिने बताएका छन् ।

श्रीनगर वजार व्यवस्थापन समितीका अध्यक्ष हपिश भण्डारीले श्रीनगरमा आधुनिक बसपार्क निर्माण गर्दा अहिले बस्दै आएका स्थानियको उचित व्यवस्थापन गरिनुपर्ने बताउनुभएको छ । ‘आधुनिक बसपार्क अहिलेको आवश्यकता हो, तर बास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गरिनुपर्छ, दुई दशक पहिलेदेखी व्यवसाय गर्दै आएकालाई आधुनिक बसपार्क निर्माणपश्चात पहिलो प्राथामिकता दिनुपर्छ’ उहाँले भन्नुभयो ।

व्यवस्थित बसपार्क नहुदाँ श्रीनगर बजार व्यवस्थित हुन नसकेको उहाँको भनाइ छ । व्यवस्थित वसपार्क निर्माण नहुदाँ वजारक्षेत्रमा समेत अव्यवस्थित पार्किङ भैरहेको छ । यसले गर्दा बजारको सौन्दर्यता हराउदैँ गएको र दुर्घटनाको जाखिम समेत बढेको उहाँले बताउनुभयो ।

ऐलानीमा भएका सबै संरचना हटाउँछौँ : वडाअध्यक्ष पाण्डे

शारदा नगरपालिका–१ का वडाअध्यक्ष प्रदिप पाण्डेले श्रीनगरको पुरानो वसपार्क आसपासमा ऐलानी जग्गामा निर्माण गरिएका सबै संरचना हटाइने बताउनुभएको छ । अहिले त्यसक्षेत्रमा केही सुकुम्वासी भएको जानकारी आएकाले बास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्ने र त्यसक्षेत्रमा भएका सबै घरटहरा हटाइने उहाँले बताउनुभएको छ ।

श्रीनगर वजारमा आधुनिक बसपार्क अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस