सल्यान, १ पुस ।
सल्यानमा विमानस्थल निर्माणको लागि उपयुक्त जग्गाको खोजी गर्न थालिएको छ । अहिलेसम्म एउटा पनि विमानस्थल नभएको सल्यानमा तत्कालै विमानस्थल निर्माणको लागि सदरमुकाम आसपासको क्षेत्रसँगै अन्य क्षेत्रहरुमा पनि उपयुक्त स्थानको खोजी गर्न थालिएको हो । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली सल्यान आइपुगेको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा विमानस्थलका लागि बिहीबार बसेको बैठकपछि स्थान पहिचान गरेर प्राविधिकको टोलीले अध्ययन सुरु गरेको हो । जिल्लाको शारदा नगरपालिका–५ ढार, शारदा नगरपालिका–२ लुहापिङ्ग र चन्द्रपाला, छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराको लेखानाचौर, बागचौर नगरपालिका–८ कोटमौलाको रानीपोखरी र कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरमा सम्भाव्यता अध्ययन गर्न थालिएको छ ।
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका विमानस्थल निर्माण विज्ञ गुरुदत्त अधिकारी, युवराज रिजाल र तिलक बहादुर बस्नेत सहितको टोली जिल्लामा आएको हो । विमानस्थल निर्माण विज्ञ अधिकारीले जिल्लामा सम्भावित सबै स्थानको स्थलगत अध्ययन गरिसकेपछि कुन स्थान विमानस्थल बनाउनका लागि उपयुक्त छ भन्नेबारे सार्वजनिक गरिने र त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
‘अध्ययनपश्चात वातावरण, भौगोलिक बनावट, ट्राफिक, पहिरो जाने/नजाने क्षेत्र, पानीको मुहान भए/नभएको, हावा चल्ने/नचल्ने र कुहिरो लाग्ने/नलाग्ने क्षेत्र पहिचान गर्नेछौँ’ उहाँले भन्नुभयो ‘अहिले निर्माण भएको विमानस्थलमा पछिसम्म पनि निरन्तर विमान सञ्चालन गर्न सकिन्छ कि सकिदैन्, मुख्य कुरा त्यसमा रहन्छ, हामीले सबै स्थानको अध्ययन गरेपछि मात्रै केही भन्न सकिन्छ ।’ उहाँले विमानस्थल निर्माण गर्नुमात्रै नभएर विमान निरन्तर सञ्चालन गर्नु नै मुख्य कुरा भएको बताउनुभयो ।
जिल्लाको भौगोलिक बनावटका आधारमा ८ सय मिटर धावनमार्ग सम्मको १८ देखि २० सिट क्षमता भएको विमान आउजाउ गर्न सक्ने विमानस्थल बनाउन सकिने अर्का विज्ञ रिजालले बताउनुभयो । यस्तै ७० देखी ७५ सिट क्षमता भएको विमान आउजाउको लागि करिब १८ सय मिटरको धावनमार्ग हुनुपर्ने उहाँको भनाइ छ । ‘विमानस्थलको लागि स्थान छनोट गर्दा सरकारलाई आर्थिक भार कम पर्ने, नियमित उडान गर्न सक्ने तथा नसक्ने त्यसलाई मध्यनजर गरिने छ’ उहाँले भन्नुभयो । बिहीबार मात्रै शारदा नगरपालिकाको ढार लगाएतका स्थानको स्थलगत अध्ययन गरिएको छ ।
सल्यानमा एउटा विमानस्थल अत्यावश्यक भएकाले विमानस्थल अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरणबाट प्राविधिकको टोली बोलाएर स्थलगत अध्ययन थालिएको प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले बताउनुभयो । आकस्मिक रुपमा कसैलाई बाहिर जानुप¥यो तथा कुनै घटनामा परेका बिरामीलाई तत्काल उद्धार गर्नुप¥यो भने अहिले पनि गाडीभन्दा अन्य विकल्प नभएकाले विमानस्थलको अवधारणा अघि सारिएको उहाँको भनाइ छ । ‘योभन्दा पहिला लक्ष्मीपुरको कोट र लेखपोखराको लेखानाचौरमा सम्भाव्यता अध्ययन गरे पनि अध्ययनमै सीमित भएकाले अब अध्ययन सकिनासाथ प्रक्रिया अगाडि बढाइने छ’ जिल्ला प्रशासन कार्यालयमा विमानस्थलको स्थान छनौटका लागि आयोजित बैठकमा उहाँले भन्नुभयो ।
पछिल्लो समयमा मानिसहरू छिटो सजिलो र सहज रुपमा यात्रा गर्न चाहने भएकाले जिल्लामा विमानस्थल आवश्यक देखिएको कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले बताउनुभयो । विमानस्थल निर्माणका लागि सबैभन्दा पहिलो प्राथमिकता सदरमुकाम आसपासका क्षेत्रलाई दिइएको र विकल्प नभए सदरमुकाम बाहिरका स्थानका बारेमा अध्ययन गरिने उहाँको भनाइ छ । सबैको सहजता र निरन्तर विमान सञ्चालनको लागि सदरमुकाम आसपासको क्षेत्र नै उपयुक्त भएको उहाँले बताउनुभयो ।
विमानस्थल निर्माणका लागि सबैलाई पायक पर्ने स्थान छनोट गर्न र पछि गएर सञ्चालनमै नआई बन्द हुने अवस्था सिर्जना हुन नदिन त्यहिअनुसार अध्ययन गर्न प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले प्राधिकरणको प्राविधिक टोलीलाई सल्लाह दिनुभएको छ । विमानस्थल निर्माण भए सबैलाई सहज हुने उहाँको भनाइ छ ।
विमानस्थलको चर्चा धेरै काम शुन्य
जिल्लामा विमानस्थल निर्माणको लागि दशकौँ पहिलेदेखी नै चर्चा हुदै आएको छ । तर जति चर्चा हुन्छ, काम भने शुन्य जस्तै रहेको छ । २०१८, २०३५ र २०४८ मा तीनपटक नापजाँच गरिएको जिल्लाको लक्ष्मीपुरको कोटमा अझै विमानस्थल बन्न सकेन् । यस्तै छत्रेश्वरी गाउँपालिकाको लेखपोखरा लेखानाचौरमा पनि सम्भाव्यता अध्ययन गरिएको थियो ।
ती स्थानमा अझै पनि विमानस्थल बन्न सकेका छैनन् । सम्बन्धित निकायको बेवास्ता र जिल्लाका नेतृत्वकर्ताहरुले चासो नदिँदा अहिलेसम्म विमानस्थल बन्न नसकेको स्थानीयको गुनासोे छ । जिल्लाबासीले विमानस्थल निर्माणको विषय अध्ययनमै सीमित हुन नदिन सम्बन्धित निकाय र जिल्लाबाट निर्वाचित सांसदहरूसँग आग्रह गरेका छन् । जिल्लामा विमानस्थल नहुदाँ जिल्लावासीहरु दाङ, नेपालगन्ज र सुर्खेत गएर विमान चढ्ने गरेका छन् ।