बन्ला त राप्ती राजमार्ग ?

‘बाइकमा यात्रा गर्न नै सकिदैन्, बस, ट्रक, टिप्परले सडक क्रस गर्दा त अगाडी कुहिरो लागेजस्तै छपक्क धुलो हुन्छ, यसले एकातीर दुर्घटनाको जोखिम बढाएको छ भने अर्को तर्फ धुलोले स्वास्थ्यमा पनि असर गरिरहेको छ’ उहाँले भन्नुभयो ।


सल्यान, ५ पुस ।
जीर्ण सडक । साँघुरा घुम्ती । ठुला–ठुला खाल्डाखुल्डी । हिउँदमा धुलो । बर्खामा हिलो । यो हो साविकको राप्ती अञ्चलका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने राप्ती राजमार्ग । करिब पाँच दशक अघि निर्माण शुरु गरिएको राजमार्गको स्तरोन्नती नहुदाँ अहिले यही राजमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

राप्ती राजमार्ग अन्र्तगतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । राजमार्गको मर्मतसम्भार र स्तरोन्नतिमा सम्बन्धित पक्षले बेवास्ता गर्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुणासो छ । बर्खामा हिलो र पहिरोका कारण आजित बनेका यात्रुहरु अहिले धुलोका कारण समस्यामा परेका छन् ।

दाङ–सल्यान सडकमा धुलोले यात्रा कष्टकर हुनुका साथै स्वास्थ्य समेत जोखिममा पर्ने गरेको एक यात्रुले बताउनुभयो । ‘बाइकमा यात्रा गर्न नै सकिदैन्, बस, ट्रक, टिप्परले सडक क्रस गर्दा त अगाडी कुहिरो लागेजस्तै छपक्क धुलो हुन्छ, यसले एकातीर दुर्घटनाको जोखिम बढाएको छ भने अर्को तर्फ धुलोले स्वास्थ्यमा पनि असर गरिरहेको छ’ उहाँले भन्नुभयो ।

उहाँले यो बर्षौदेखीको समस्या भएकाले जाखिम मोलेरै भएपनि यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘यात्रा शुरु गरेपछि गन्तव्यमा पुगिन्छ कि पुगिदैँन् भन्ने मनमा डर हुन्छ’ उहाँले भन्नुभयो ‘जव गन्तव्यमा पुगिन्छ, साहसिक खेल जिते जस्तै हुन्छ, तर मान्छे चिनिने अवस्था हुदैँन्, धुलोले मान्छेको स्वरुप नै फरक देखिन्छ ।’ घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा सास्ती भोग्नुपरेको उहाँको भनाइ छ ।

राप्ती राजमार्गको मर्मतसम्भार सहित स्तरोन्नती नहुदाँ नागरिकले सास्ती भोग्दै आएको गुणासो बढ्दै गएको बेला सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । अहिले राजमार्गको मर्मत र स्तरोन्नती कसरी गर्न सकिन्छ ? कसरी नागरिकलाई छिटोभन्दा छिटो सहजता प्रदान गर्न सकिन्छ भन्ने बिषयमा बहस र छलफल भैरहेको छ ।

बिशेषगरी सल्यान–दाङ सिमाना चोरखोला देखी सल्यान–रुकुम सिमाना खौला सम्मको सडकको तत्कालै मर्मतसम्भार र स्तरोन्नती गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा छलफल समेत गरिएको छ । संघिय सांसद प्रकाश ज्वाला, प्रदेश सांसदद्धय भिम प्रकाश शर्मा र सुरेश अधिकारी, सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाल लगाएतको सहभागितामा छलफल गरिएको थियो ।

संघिय सांसद ज्वालाले जीर्ण सडकका कारण नागरिकले सास्ती भोग्दै आएको अवस्थामा यस सडकको तत्काल मर्मतसम्भार सँगै स्तरोन्नतीका लागि कामगर्ने बताउनुभएको छ । ‘यो राजमार्ग लुम्बिनी र कर्णाली प्रदेशलाई जोड्ने महत्वपुर्ण सडक हो, अव राजमार्गको स्तरोन्नतीको काम छोडेर भाग्न कोही पनि पाउँदैन्’ उहाँले भन्नुभयो ‘वजेटको लागि पहल म गर्छु, सडक डिभिजनले समयमा नै टेण्डर आह्वान्न गर्ने र ठेकेदारले सम्झौता अनुसार नै निर्माण कार्य सम्पन्न गरेमा केहीबर्षमा नै सडकको मुहार फेरिने छ ।’

अहिले राप्ति राजमार्गमा रणनितिक सडक स्तरोन्नति शिर्षकअन्तर्गत बिनियोजित २० करोड र सडक बोर्डबाट प्राप्त २० करोड गरी जम्मा ४० करोडको ठेक्का सम्झौता भई बिभिन्न खण्डमा काम अघि बढिसकेको छ । जसअनुसार केही ठाउँमा सडक कालोपत्रे र केही ठाउँमा ढलानको काम भइरहेको छ । चालु आर्थिक वर्षमा राप्ती राजमार्गलाई छुट्टै ‘राप्ती लोकमार्ग’ शिर्षक कायम भएको छ ।

यस शिर्षकमा पनि करोडौँ वजेट विनियोजन भएको र यसैबर्ष कामको थालनी गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभयो । उहाँले तत्काल दाङ–सल्यान सडकको आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज बनाउन काम भैरहेको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित