धेरै महिलामा आँखाको समस्या !

महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण

सल्यान, ७ पुस ।
सल्यानमा आँखा सम्बन्धि समस्या भएका महिलाहरुको संख्या धेरै रहेको पाइएको छ । जिल्लामा पुरुषको तुलनामा महिलालाई आँखा सम्बन्धि धेरै समस्या भएको पाइएको हो । गत साउन १ गते देखी मंसिर महिना मसान्तसम्म २ हजार ५ सय एक जनाको आँखा जाँच गरिएको छ ।

ती मध्ये करिब १५ सय बढी महिला रहेको आँखा उपचार केन्द्र सितलपाटी सल्यानले जनाएको छ । केहीदिनअघि सितलपाटीमा सञ्चालन गरिएको आँखा शिविरमा सेवा लिएका ७ सय ५९ जना मध्ये ३ सय ३६ जना पुरुष हुदाँ ४ सय २३ जना महिला रहेका थिए ।

घरदेखि बनजंगलसम्मको कामको जिम्मेवारी महिलाहरुमा बढी हुन्छ । खाना पकाउदा धुलो धुँवाले बढी असर गर्छ र आँखामा समस्या देखिन्छ । जसले गर्दा जिल्लाका धेरै महिलाहरु अझै चुलोचौकामा नै सिमित रहेको पुष्टि पनि गर्छ ।

आँखा तुलनात्मक रूपमा हाम्रो शरीरको सबैभन्दा संवदेनशील अंगमा पर्छ । आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ । कतिपय व्यक्ति थाहा पाएर पनि हेलचेक्र्याइँ गरी बसेका हुन्छन् । जिल्लामा पुरुषको तुलनामा महिलालाई आँखा सम्बन्धि धेरै समस्या भएको पाइएको छ । आँखा उपचार केन्द्र सितलपाटीका प्रमुख नविना चौधरीले जिल्लामा पुरुषमा भन्दा महिलाहरुमा आँखा सम्बन्धि समस्या झन् जटिल बन्दै गएको बताउनुभयो ।

महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको उहाँको भनाइ छ । ‘ग्रामिण भेगमा सिलिन्डर ग्याँसको पहुँच पुगेको छैन्, खाना पकाउँदा धुवाँ रुमल्लिेर महिलामा आँखाको समस्या धेरै हुने गरेको छ, भान्सा कोठाको परिवेशसँगै बढी धुवाँ आउने दाउरा पनि आँखाको समस्या बढाउने कारक मानिन्छ’ उहाँले भन्नुभयो ‘यस्तो अवस्थामा चस्मा लगाएर आँखोको रक्षागर्न सकिन्छ ।’

उहाँले आँखामा कुनै समस्या देखिएमा वा चोटपटक लागिहाल्यो भने हेलचेक्र्याइँ गर्न नहुने बताउनुभयो । ‘यस्तो अवस्थामा घरायसी उपचार वा मेडिकल गएर आफूखुसी औषधि राख्ने बानीले आँखाको ज्योति सदाका लागि गुमेका घटना धेरै छन्’ उहाँले भन्नुभयो ‘त्यसकारण संवेदनशील अंग आँखाको हेरचाहका लागि विशेष ख्याल गर्न आवश्यक छ ।’

‘मोबाइल धेरै समयसम्म चलाउने, कम्प्युटरमा लगातार काम गर्ने व्यक्तिलाई समेत आँखाको समस्या हुन्छ, यसले आँखा सुक्खा बनाउँछ, कम्प्युटरबाट आउने नदेखिने विकिरणबाट बच्न समेत चस्मा लगाउनु पर्छ’ उहाँले भन्नुभयो । आँखाको सुरक्षाको लागि हरियो सागपात, पहेँला फलफूल र भिटामिन ए पाइने खाना पर्याप्त मात्रामा खानु आवश्यक रहेको उहाँको भनाइ छ ।

अनावश्यक रुपमा आँखा नमिच्ने, हात र औंलाको माध्यमवाट चस्मा, कन्ट्याक्ट लेन्स लगायतमा व्याक्टेरिया पस्न सक्ने सम्भावना हुदाँ बेलाबेलामा हातलाई सफा गरि धुने, धुलोमा हिडदा चस्मा लगाउने, अनावश्यक अरुको चस्मा नलगाउने, आँखामा सौन्दर्यका कुराहरु लगाँउदा गुणस्तरमा ध्यान दिने र पर्याप्त पानी पिउने, आँखालाई सफा पानीले बेलाबेलामा सफा गर्ने बानी बसाल्नुपर्ने उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस