‘पत्रकार आचारसंहिता पालनामा जोड’

सल्यानमा पत्रकार आचारसंहिता, पत्रिका वर्गीकरण र मिडिया कोषका बारेमा अन्तरक्रिया,

सल्यान, ८ पुस ।
पत्रकारले पेशागत मर्यादा बढाउन आचारसंहिता पालनामा जोड दिइएको छ । सल्यानको खलंगामा बिहीबार पत्रकार आचारसंहिता, पत्रपत्रिका वर्गीकरण एवं मिडिया विकास कोषको सुविधा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विश्वसनीयता बढाउन पत्रकार आचारसंहिताको पुर्ण पालनामा जोड दिएका हुन् ।

पछिल्लो समय पत्रकार र सञ्चारमाध्यमको संख्यामा उल्लेख्य वृद्धि भएकाले समाचारको गुणस्तरमा पनि सुधार हुनुपर्ने उनीहरुले बताएका हुन् । कार्यक्रममा पत्रकार आचारसंहिताको विषयमा प्रस्तुतीकरण राख्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेल्वासेले पत्रकारले आचारसंहिताको पुर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । ‘पत्रकार सबैक्षेत्रमा जानकार हुनुपर्छ तर बिज्ञ बन्न खोज्नुहुदैँन्’ उहाँले भन्नुभयो ‘आचारसंहिताको बेवास्ता गर्दै अघिबढ्दा कानुनअनुसार सजायको भागिदार बन्नुपर्छ ।’

यस्तै पत्रपत्रिका मूल्याङ्कन र वर्गीकरणका विषयमा प्रस्तुतिकरण राख्दै काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीले प्रेस स्वतन्त्रताको दुरुपयोग नगर्न आग्रह गर्दै प्रेस काउन्सिलले मिडिया अनुगमनलाई थप सशक्त बनाउने बताउनुभयो । अहिले पत्रिकाहरुको बर्गीकरण भैरहेकाले अवका दिनमा रेडियो र अन्लाईन सञ्चारमाध्यमहरुको पनि बर्गिकरणको तयारी भैरहेको उहाँको भनाइ छ ।

‘पत्रकारिता क्षेत्रको संस्थागत विकास गर्न सके मात्रै पत्रकारको भलो हुन्छ’ उहाँले भन्नुभयो ‘पत्रकार, सञ्चार संस्था, राज्यका निकाय सबै जिम्मेवार भए पत्रकारिता क्षेत्रका विकृति रोक्न सकिन्छ ।’ मोफसलमा रहेका मिडियाले स्थानियस्तरमा रहेका बिषयबस्तुहरुलाई प्राथामिता दिनुपर्ने बताउँदै उहाँले सत्यतथ्य कुरा बाहिर ल्याउन सकेमात्रै पत्रकार र सञ्चार माध्यमप्रतिको आमनागरिकको विस्वास कायम रहने बताउनुभयो ।

यस्तै मिडिया विकास कोषको सुविधाका विषयमा प्रस्तुतिकरण राख्दै काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले मिडिया विकास कोष पत्रकार र मिडियाको भलाइका लागि स्थापना गरिएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका तर पत्रकारिता क्षेत्रमा नै रहेर निरन्तर काम गर्नसक्ने सम्भावना बोकेका पत्रकार र सञ्चारमाध्यमलाई यसकोष मार्फत सहयोग गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आचारसंहिता पालनामा खेलबाड गर्न नहुने बताउँदै आचारसंहिता पत्रकारको महत्वपूर्ण औजार भएको बताउनुभयो । उहाँले पत्रकार आचारसंहिताको पत्रकारले मात्रै नभएर सबै सरोकारवाला निकायहरुले पनि जान्नु र बुझ्नुपर्ने बेला आएको बताउनुभयो । यस्तै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले पत्रकार, सञ्चारसंस्था, राज्यका निकाय सबै जिम्मेवार भए पत्रकारिता क्षेत्रका विकृति रोक्न सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शंकर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको संयोजनमा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस